जब चौथोपटक पनि रिपोर्ट पजिटिभ आयो – गोकुल गौतम


यतिवेला पूरै विश्वभरिका मानिस कोरोनाविरुद्धको लडाइँमा छन् । त्यही लडाइँमा म पनि सहभागी भएँ । पेसाले चीनको व्यापारमा संलग्न म व्यापारको मुख्य सिजन दसैँको मुखमा अलि दौडधुप र व्यस्ततामा थिएँ । काठमाडौंको व्यस्त ठाउँ न्युरोड आवतजावत गर्नु मेरो बाध्यता थियो । मैले सके र बुझेसम्म स्वास्थ्य सतर्कता अपनाएर नै आफ्ना गतिविधि गर्दै थिएँ । अचानक स्वास्थ्यमा असहजता महसुस भयो । कोरोनाको लक्षणसँग मिल्दाजुल्दा लक्षणहरू देखिएपछि कोरोनाको जाँचका लागि म काठमाडौं मेडिकल कलेज सिनामंगल गएँ ।

त्यो दिनभरि नै मानसिक तनावमा भएँ । अफिसको काम सकेर घर फर्किएँ । सोही अस्पतालमा मेरो साथी काम गर्ने भएकाले मेरो रिपोर्ट पजिटिभ आएको जानकारी बेलुका नै साथीले फोनमा गरायो । मेरो रिपोर्ट पजिटिभ आएको जानकारी पाउनेबित्तिकै मेरो दिमागले एकछिन त केही सोच्न सकेन । एकदमै डराएँ, त्रसित भएँ । मनोवैज्ञानिक रूपमा कतिसम्म विक्षिप्त महसुस भयो भन्ने कुरा अहिले व्यक्त गर्नै सक्दिनँ ।

मेरो कोरोना रिपोर्टमा पजिटिभ देखिएपछि सबैभन्दा पहिला केही दिनदेखि मेरो सम्पर्कमा रहनुभएका मित्रहरूलाई म संक्रमित भएको र उच्च सावधानी अपनाउन र केही स्वास्थ्य समस्या आएमा जाँच गराउन सुझाब दिएँ । त्यसपछि मैले चिनेजानेका केही चिकित्सकसँग सम्पर्क गरेँ । उहाँहरूले जानेबुझेसम्मको सल्लाह दिनुभयो । उहाँहरूको सल्लाह र आफूले जानेबुझेसम्मको सावधानीसहित मैले होम आइसोलेसनमा बस्ने निर्णय गरेँ ।

आइसोलेसनमा बसेको दुई दिनपछि मेरो स्वास्थ्यमा थप समस्या पैदा भयो । टाउको अत्यधिक दुख्ने, ज्वरो नदेखिए पनि शरीर अत्यधिक तातेको जस्तो हुने, सास फेर्दा पनि सुक्खा खोकी लाग्ने अनि कुनै पनि वेला सास रोकिएला जस्तो महसुस हुने भयो । थप केही चिकित्सकसँग सल्लाह गरेँ । उहाँहरूले थप केही औषधि सेवन गर्ने सल्लाह दिनुभयो । त्यहीअनुसार औषधि सेवन गरेँ। अस्पताल भर्ना हुनुपर्छ कि भन्ने लागेर ४–५ वटा अस्पतालमा फोन पनि गरियो । तर, अफसोच कुनै पनि अस्पतालले बेड नभएको जानकारी गराए । मैले त्यतिवेला शरीरको पीडाभन्दा पनि बढी मनोवैज्ञानिक तनाव व्यहोरेँ, त्यो तनाव सायद जिन्दगीभरि बिर्सिन सक्दिनँ होला।

२१औँ दिनमा चौथोपटक पिसिआर जाँच गरेँ । तर, अफसोच चौथोपटक पनि रिपोर्ट पजिटिभ नै आयो । त्यसपछि मानसिक चिन्ता झनै थपियो । कतै मलाई लंग कोभिड नै त भएन ! भन्ने लाग्न थाल्यो । 

मनलाई जति नै दह्रो बनाऊँ भन्दा पनि बन्द कोठाभित्र एक्लै बस्नुपर्दा मानसिक तनाव झनै बढ्दो रहेछ । विभिन्न सामाजिक सञ्जालमा फैलिएको हल्ला र विभिन्न अप्रिय समाचारको त्रासले परिवारमा पनि एक किसिमको तनाव हुने रहेछ । कोरोनाकै कारणले आफन्त र चिनेजानेको मान्छे गुमाउनुपर्दाको घटनाले झन् पीडा र त्रास बढ्दो रहेछ । त्यो २–३ दिनको बीचमा मैले पनि लगभग बाँच्ने आशा मारिसकेको थिएँ ।

यी र यस्तै समस्या र तनावबीच दिनहरू बिताउँदै गएँ । स्वास्थ्यमा थप सुधार भएको महसुस हुँदै गएको थियो । दसैँको फूलपातीको अघिल्लो दिन म संक्रमित भएको सात दिन भएको थियो । स्वास्थ्यमा पनि थप सुधार भएकाले रिपोर्ट नेगेटिभ आउने आशाका साथ पुनः नेपाल मेडिकल कलेजमा पिसिआर जाँच गराइयो । उत्सुकता र तनावबीच बेलुका अस्पतालमा फोन गरेर रिपोर्ट बुझ्दा फेरि पनि पजिटिभ आएको जानकारी पाइयो । यो जानकारीसँगै परिवारमा बसेर दसैँ मनाउने सपना चकनाचुर भयो । सँगै भएर पनि परिवारसँग दसैँ मनाउन पाइएन । जिन्दगीको यो अर्काे अविस्मरणीय घटना बन्यो ।

दिनहरू तनावमा बित्दै गए । कोजाग्रत पूर्णिमाभन्दा अगाडि संक्रमण भएको १५औँ दिनमा फेरि संक्रमणमुक्त हुने आशा र परिवारमा मान्यजनबाट टीका आशीर्वाद लिने अपेक्षाका साथ पिसिआर जाँच गराएँ । बेलुका उत्सुकताका साथ रिपोर्ट बुझ्दा फेरि पजिटिभ आयो । तेस्रोपटक पनि रिपोर्ट पजिटिभ आउँदा थप निराश भएँ । अन्तिममा भए पनि परिवारसँग दसैँ मनाउने सपना फेरि तोडियो । तेस्रोपटक पनि संक्रमणमुक्त हुन नसकेपछि थप चिकित्सकसँग परामर्श गर्नुपर्छ भन्ने लाग्यो । रिपोर्ट लिन अस्पताल आफैँ गएँ ।

कोरोना महामारीको कारणले संक्रमण भएको व्यक्ति अस्पतालभित्र जान सक्ने अवस्था थिएन । आकस्मिक कक्षका सुरक्षाकर्मीलाई चिकित्सकसँग भेट गराइदिन अनुरोध गरेँ । उनले आकस्मिक कक्षमा चिकित्सक नभएको जानकारी गराए । अनि सूचनापाटीमा डाक्टरको नामसहित नम्बर राखिएको छ, त्यहीँ फोन गरेर परामर्श गर्न सुझाए । मैले सूचनापाटीमा भएका ४–५ जना डाक्टरलाई सम्पर्क गर्ने कोसिस गरेँ, तर सबैको फोन अफ थियो । निराश हुँदै म घर फर्किएँ । अनि एक चिकित्सक साथीलाई सम्पर्क गरी उनकै परामर्शमा आइसोलेसनमा बसिरहेँ ।

स्वास्थ्यमा क्रमिक सुधार हुँदै गयो । खानपिनलाई विशेष ध्यान दिँदै र आफ्नो मनोबललाई उच्च राख्दै कोरोनामाथि विजय प्राप्त गर्ने अठोटका साथ दिनहरू बित्दै गए । संक्रमित भएको २१औँ दिन बित्यो । विभिन्न समाचार र चिकित्सकको जानकारी र सल्लाहबमोजिम २१ दिनमा संक्रमणमुक्त हुन्छ भन्ने भनाइअनुसार अब भने पूर्ण आशा र विश्वासका साथ २१औँ दिनमा चौथोपटक परीक्षण गरियो । तर, अफसोच चौथोपटक पनि रिपोर्ट पजिटिभ नै आयो । त्यसपछि मानसिक चिन्ता झनै थपियो । कतै मलाई लंग कोभिड नै त भएन ! भन्ने लाग्न थाल्यो । यसबीच धेरै साथीभाइ र आफन्तहरूको फोन आयो । मान्छे नै पिच्छे फरक–फरक सल्लाह र सुझाब पाइयो । यो खानू, यो नखानू भनेर धेरै सुझाब आउँथे । सबै सुझाब लिएर निर्णयचाहिँ आफैँले गरेँ ।

कोरोना महामारी सुरु भएपछि नेपाली जडीबुटी गुर्जाेको खुबै चर्चा भयो । तर, मेरा लागि चाहिँ गुर्जो झन्डै ज्यानमारा भएर आयो । गुर्जाेको धुलो अलि बढी खाएर होला सायद उठ्न–बस्न पनि नसक्ने बनायो मलाई । मैले गुर्जाे खान छोडेपछि डाक्टरसँग बुझ्दा गुर्जोले प्रेसर कम गराउने थाहा पाएँ । चिन्ताका बीच खानपान र स्वास्थ्यलाई विशेष ख्याल गर्दै दिनहरू बिताइरहेको थिएँ । मेरो पछिल्लो रिपोर्ट पजिटिभ हुँदाहुँदै पनि राम्रो भन्ने चिकित्सक साथीको सल्लाहबमोजिम मैले २५औँ दिनमा फेरि पाँचौँ पिसिआर परीक्षण गराएँ । सौभाग्यवश मेरो पाँचाैँ रिपोर्ट नेगेटिभ आयो । निगेटिभ रिपोर्ट आएको जानकारी पाउँदा आफूले आफैँलाई कोरोनामाथि विजय प्राप्त गरी दोस्रो जीवन प्राप्त गरेको महसुस गरेँ ।

अन्तमा मजस्तै हजारौँ नेपाली कोरोनासँग युद्ध लडिरहनुभएको छ । उहाँहरूलाई मेरो सुझाब, उच्च मनोबलका साथ खानपानमा विशेष ध्यान दिनुहोला, अनि जो संक्रमित हुनुभएको छैन, उहाँहरू पनि कोरोनालाई हल्का रूपमा नसोची उच्च सावधानीसाथ रहनुहुन विशेष आग्रह गर्न चाहन्छु । मेरो अनुभवले सिकाएको कुरा के हो भने कोरोनाले बलियो, निर्धो केही भन्दैन । जोकोहीलाई लाग्न सक्छ, त्यसैले सबैले सतर्कता अपनाऔँ र त्रसित पनि नबनौँ । – नयाँ पत्रीका

प्रतिक्रिया दिनुहोस्