यस्तो छ बडादशैँको शुभ साइत


यो वर्षको बडादशैँको शुभ साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चांग निर्णायक समितिले २०७७ को विजयादशमीलगायत दशैंका विभिन्न साइत सार्वजनिक गरेको हो ।
जसमा घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।
देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेषरूपमा भक्तजनको भीड लाग्ने भए पनि यस वर्ष कोरोनाभाइरसको संक्रमण बढ्दै गएकाले भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ । कात्तिक २ गते बिहान १०ः५३ बजे पश्चिम फर्केर झन्डा फेर्ने साइत दिइएको छ । यस्तै कात्तिक ५ गते बुधबार पचली भैरवयात्राको साइत जुरेको छ । कात्तिक ७ गते शुक्रबार फूलपाती छ । फूलपाती भित्राउन साइत आवश्यक पर्दैन ।
यस्तै कात्तिक ७ गते शुक्रबार फूलपातीकै दिन बिहान ८ः५६ बजे तुलजा भवानीको यात्रा चलाउने साइत छ । यात्रा सकेर बिहान १०ः१४ बजे तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत निस्किएको समितिले जनाएको छ । कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइन्छ । कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ ।
दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यसदिन देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको छ भने साइत नै खोजेर टीका लगाउनेका लागि बिहान १०ः१९ बजेको साइत उत्तम छ । सामान्य मानिसले भने विजयादशमीका दिन दिनभर टीका ग्रहण गर्न कुनै बाधा नरहेको समितिको निर्णय छ ।
–नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्