भौतिक दूरी कायम राख्दै शुरु भयो पढाइ


 

बनेपा, कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका काभ्रेपलाञ्चोक जिल्लामा विद्यालयहरु क्रमश सञ्चालनमा आउन थालेका छन । भौतिक दूरी कायम गर्नुका साथै स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी छुट्टाछुट्टै सिफ्टको समेत ब्यवस्थागरी विद्यालयहरु सञ्चालन गरिएको हो ।
जिल्लाका मण्डनदेउपुर र पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन् । मण्डनदेउपुरले असोज १ गतेबाट, पाँचखालले गत सोमबारबाट, तेमालले मङ्गलबार र रोशीले बुधबारबाट सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएका हुन् । मण्डनदेउपुर नपाको शिक्षा समितिले सिकाई अघि बढाउने निर्णय गरेसँगै भौतिक दूरी कायम गर्नुका साथै स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी छुट्टाछुट्टै सिफ्ट (बिहान, दिउसो र साँझ) समेत ब्यवस्था गरी विद्यालयहरु सञ्चालन गरिएको नगर प्रवक्ता डिल्ली आचार्यले जानकारी दिए ।
यसैगरी पाँचखालको नगरकार्यपालिकाले विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर सोमबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको विद्यालय सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी तेमाल गाउँपालिकामा विद्यालय अनुकूलता हेरेर सञ्चालनमा आएका छन् । तेमालका सबै विद्यालय आ–आफ्नो अनुकूलता मिलाएर सिकाइ सहजीकरण कार्यविधिअनुसार कक्षा सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष सलामसिं लामाले विद्यालय क्षेत्रमा पूर्णरूपमा निर्मलीकरण गरेर सबै विद्यालयमा मास्क, स्यानिटाइजर र साबुन लगायतका स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेपछि पठनपाठन शुरु गरेको बताए ।
त्यस्तै रोशी गाउँपालिकाले पनि बुधबार सूचना जारी गर्दै गाउँकार्यपालिकोका बैठकले गाउँ शिक्षा समितिले तयार गरेको सिकाइ सहजीकरण निर्देशिका, २०७७ लाई स्वीकृत गर्दै त्यसका आधारमा पठनपाठन शुरु गर्न विद्यालयलाई निर्देशन जारी गरेको छ । सोहि अनुरुप ३० जनाभन्दा कम विद्यार्थी भएको विद्यालयले सरोकारवालासँगको छलफलमा दैनिक एक सिफ्टमा सिकाइ सहजीकरण गर्ने, ५० र ७५ जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएको विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने, एक सयजनाभन्दा कम भएको विद्यायले तीन सिफ्टमा सञ्चालन गर्ने र एक सयभन्दामाथि विद्यार्थी सङ्ख्या भएको विद्यालयले बारअनुसार दैनिक तीन सिफ्टमा कक्षा सञ्चालन गर्न पाउने गरी निर्देशन जारी गरेको शिक्षाशाखाले जनाएको छ । यस्तै अन्य स्थानिय सरकारहरुले पनि स्वास्थ्य सुरक्षाका बिधिका साथ बिद्यालय शुचारु गर्ने तयारी गरिरहेका छन । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्