नमोबुद्धमा रेबिज सप्ताह सुरु


भकुण्डेबेसी– विश्व रेबिज दिवसको अवसरमा नमोबुद्ध नगरपालिका काभ्रेले सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ ।
रेबिज सप्ताहअन्तर्गत नगरपालिकाले ‘रेबिजको अन्त्य सहकार्य र भ्याक्सिनेसन’ नारासहित आज मंगलबारदेखि एक सातासम्म रेबिजविरुद्धको निःशुल्क खोप लगाउन सुरु गरेको छ । आज नगरपालिकामा आयोजित एक कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले सेवाग्राहीलाई खोप कार्ड वितरण गर्दै रेबिज सप्ताहको सुरुवात गर्नुभयो । आजैदेखि नगरपालिकाको पशुपन्छी शाखाका प्राविधिकहरुले नगरबासीले ल्याएका कुकुरलाई रेविद्धविरुद्धको खोप लगाउन थालेको नमोबुद्ध नगरपालिका पशुपन्छी शाखाका प्रमुख चिरञ्जिवी शर्माले बताउनुभयो ।
हरेक बर्ष सेप्टेम्बर २८ का दिन विश्वभर रेबिजविरुद्धको चेतनामुलक कार्यक्रमसहित विश्व रेबिज दिवस मनाउने गरिएको छ । शर्माका अनुसार नगरपालिकाले रेबिजविरुद्धको खोपसहित जुकाको औषधीसमेत वितरण गर्न थालेको छ । हाललाई २ सय डोज भ्याक्सिन तयारी अवस्थामा रहेको र आवश्यकताअनुसार थप व्यवस्थापन गरिने शर्माले बताउनुभयो । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण नगरबासीको घरघरमा पुगेर घरपालुवा कुकुरलाई खोप लगाउन नसकिएको भन्दै शर्माले नगरपालिकाको पशुपन्छी शाखामा आउन पनि नगरबासीलाई आग्रह गर्नुभयो । उहाँले छाडा कुकुरलाई पनि खोप लगाउने योजना रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्