जिन्दगी–दिपा गुरुङ


मर्न बरु गाह्रो नहुने रहेछ,
बाँचेरै मर्न झन कठिन ।
रोएर हाँस्न सजिलै रहेछ,
हाँसेरै बाँच्न झन कठिन ।।

चिरेर शरिर चिराचिरा नुन चुक छर्दा सजिलै हुँदो रहेछ,
रोपेर सियो मुटुमा हिँड्न धेरै कठिन ।
काढेर छाला फाल्न सजिलो रहेछ,
बिझेको काँडा झिक्न झन कठिन ।।

जानि बुझी अज्ञानि बन्नु सजिलै रहेछ,
सिकारीको झन्टाले हाँगाबाट झर्न झन कठिन ।
बन्दुक भएर के गर्नु ? नभए पछि गोली,
उठाउनु कसरी ? झरीसकेपछि बोली ।।

रोपेर बिरुवा छोड्नेलाइ गाह्रो नहुने रहेछ,
मरुभूमिमा यात्रा गर्न झन कठिन ।
सुकाउनु रोपेर सजिलो नै रहेछ,
बोलीको बिस्कुन उठाउनु अति कठिन ।।

हात दिए झै गरि साथ छोड्नु सजिलै रहेछ,
हाँस्न त के मुस्कुराउनु झन कठिन ।
पैँचो नलाएकै भए हुने शब्दहरु,
फर्काउन त के पुरा गर्न साह्रै कठिन ।।

फूलहरु फूलबारीमै हेर्न राम्रो रहेछ,
टिपेर कहाँ सजाउनु ? झन कठिन ।
माला त गालामा नै सुहादो रहेछ,
चुँडिए भने जोडनु अति कठिन ।।

चुँड्नु थियो भने माला लागाइ सकेपछि गलामा,
भरि सकेपछि पानी घडामा ,
चढी सकेर हिमाल,झर्न अझ कठिन
किनारमा पुग्न त गाह्रो नहुने रहेछ ,
डुबि सकेर समुन्द्रमा, निस्कन अति कठिन ।।

थियौ र पो तिमि म थिएँ, हुन सजिलै रहेछ,
भएर के गर्नु ? भएर नहुनु झन कठिन ।
लागेर तिर्खा खोजेको भए पो ! गाह्रो नहुने रहेछ,
पिएर आँसु, पानी सम्झनु अझै कठिन ।।

थियो दुःख र पो, आउँदा खुशी गाह्रो नहुने रहेछ,
किन कताबाट आयो ? जादैछ थाहा पाउन अझ कठिन ।
फुटेको त्यो कप, छ संझनु सजिलै रहेछ,
सम्झेर के गर्नु ? झरेर फुटेको बटुल्न झन कठिन ।।

थरथर काप्दै चिसोमा, आगो ताप्न सजिलो रहेनछ,
सिरेटो नै चल्छ भन्ने थाहा पाउदै आगो ताप्न झनै कठिन ।
बसाउन हाडि खडेरीमा गाह्रो रहेनछ,
मकै नहालिकन भुट्न पो साह्रै कठिन ।।

रोपेको तुलसी, चिन्नै गाह्रो रहेछ,
तुलसी भएर के गर्नु ? बाबरी सम्झेपछि झन कठिन ।
नलेखेको पढ्न त गाह्रो नहुने रहेछ,
लेखेर कविता के गर्नु ? सम्झेर कथा, पढ्न धेरै धेरै कठिन ।।
बजाएर बासुरी के गर्नु ? डम्फूको तालमा नाच्नु झन कठिन ।।।
त्यसैले अझ कठिन, झनै कठिन, सारै कठिन, अशाध्यै कठिन ।।

प्रतिक्रिया दिनुहोस्