काभ्रेली किसानको हितको लागि, धुलो दुध कारखाना स्थापनार्थ लागौं–प्रल्हाद दाहाल


 

नेपालमा सबैभन्दा बढि गरिने पेशा भनेको खेतीपाती हो र त्यसपछि भनेको पशु पालन नै हो । पशु पालन र खेतीपाती दुबै एक अर्काका परिपुरक पेशा हुन् । यसमा पनि ठाउँ अनुसार कतै राम्रो कतै नराम्रो र कतै घटी बढी हुन सक्छ । ठाउँ अनुसार हावापानी र अन्य वातावरण फरक फरक हुन्छ । पशुपालन र दुध उत्पादनमा चितवन, नवलपरासी, रुपन्देही
मकवानपुर लगायतका जिल्लाहरु राम्रामा गनिनछन् भने ती मध्येमा पनि काभ्रे जिल्ला अग्रपंक्तिमा रहेको छ । यो जिल्ला यसरी दुग्ध उत्पादनमा अग्रपंक्तिमा रहनुमा पनि केहि थप र राम्रा आधारहरु अवश्य छन् । यहाँ प्रशस्त वनजंगल छ, पानीको श्रोत राम्रो छ, हावापानी पशुपालन मैत्री छ, दूध विक्रिका लागि राजधानी नजिक सबैभन्दा ठूलो बजार काठमाडौं , ललितपुर र भक्तपुर नजिक छ, सबै ठाउँमा सडक संजाल छ, लगानीको लागि बैंक सहकारीको राम्रो पहुँच छ भने सरोकारवालाहरुको राम्रो सहयोग लगायतका मुख्य कारणहरु रहेका छन् ।
काभ्रे जिल्लाका अन्य थप केही जानकारीहरु ः
कुल जनसंख्या ३,८१,९३७ , भौगोलिक क्षेत्रफल १,३९६ वर्ग कि.मि., वन जंगलको कुल क्षेत्रफलको ५२.२ प्रतिशत, पानीको श्रोत २०० वटाभन्दा बढि, स्थानिय निकाय १३ वटा जसमा नगरपालिका ६ वटा र गाउँपालिका ७ वटा, कुल दुध उत्पादन दैनिक २,३४,३२० लिटर, दुग्ध सहकारीको संख्या २७० वटा, बैंकको संख्या १४० वटा, मठ मन्दिर र अन्य प्रसिद्ध स्थानहरुमा पलाञ्चोक भगवती मन्दिर, दोलालघाट, नमोबुद्ध, चण्डेश्वरी मन्दिर, पनौती महादेव, इण्द्रेश्वर महादेव, आशापुरी, नारायणस्थान मन्दिर, धनेश्वर महादेव, ब्रम्हायणी, रंगनाथ, नाला भगवती, करुणा माई ( सेतो मछिन्द्रनाथ ) र अन्य थुप्रै स्थानहरु रहेका छन् । यस जिल्लाका महत्वपूर्ण व्यापारिक स्थलहरूमा बनेपा, धुलिखेल (सदरमुकाम), पनौती, दोलालघाट, भकुण्डे वेंसी, तेमाल, पाँचखाल, ढांडखोला (सिपाघाट), लामीडाँडा, कुन्तावेसी, दाप्चा, मंगलटार, खोपासी, कात्तिके देउराली र नगरकोट आदि हुन् ।

काभ्रे जिल्ला दुग्ध क्षेत्रको इतिहास बोकेको जिल्ला हो । २००९ सालमा काभ्रेको नाला, टुसालमा पहिलो पटक डेरी स्थापना भएको थियो। यो अहिले जिर्ण अवस्थामा रहेको छ । त्यहाँ भत्केका पर्खाल बाहेक अहिले अन्य केहि कुरा छैनन् । यो जिल्ला नेपालका ठूला ठूला ३ वटा अरनिको, वि.पि. र मध्यपहाडी लोकमार्ग तथा राजमार्ग रहेको जिल्ला हो । यो जिल्ला बागमती प्रदेशको लागि सबैलाई पायक पर्ने जिल्ला पनि हो । प्रदेश राजधानीको लागि अति उपयुक्त स्थान रहँदा रहँदै पनि राजनितिक कारणले मात्र राजधानी हुन नसकेको हो । राजनितिक हिसावले केहि राष्ट्रिय परिचित नेता भए पनि खासै त्यस्तो हेर्न र देख्न लायकका विकासका काम भने हुन सकेका छैनन् । शैलेन्द्र कुमार उपाध्याय, केशव बडाल, सत्यमान लामा, राजेन्द्र खरेल, कञ्चनचन्द्र वादे श्रेष्ठ, रेशम लामा, सुर्यमान दोङ र पछिल्लो समय दुई तिहाई सरकारका शक्तिशाली मन्त्रीका रुपमा रहेका गोकुल बाँस्कोटा लगाएतका ब्यक्तिहरु पटक पटक मन्त्री भएका थिए । यति हुँदा पनि जिल्लामा खासै त्यस्तो चर्चा हुने र आशा लाग्दा कामहरु भएका थिएनन् । तर अहिले पछिल्लो समय गोकुल बाँस्कोटाको पालामा भने केहि राष्ट्रिय गौरवका विकासका चर्चा भएका छन् । चाहे त्यो एयरपोर्ट बन्ने कुरा होस् या हिले जलजले ताल, खानेपानीका लिफ्टिङ् आयोजना, पार्कहरु लगायत अनगिन्ती अन्य योजनाहरु छन् । आम जिल्लाका जनताका लागि यो खुशी कै कुरा हो । राम्रोसंग संचालनमा आउन नसकेको आईटी पार्क, सञ्चालनको तयारीमा प्रशासनिक भवन बन्दै गरेको पाँचखालको सेज जस्ता धेरै राम्रा र आशा लाग्दा योजनाहरु छन् ।

६३ प्रतिशत जनता कृषिमा आश्रित देशको किसानका हितमा अब पनि कार्यक्रम ल्याईएन र गरिएन भने यो देशको विकास कहिल्यै पनि हुन सक्दैन । तर हाम्रो देशमा जति नेताले बोल्छन्, चुनाबको बेला घोषणा पत्रमा योजना आउँछन् तर ती कहिल्यै पनि पूरा हुने गरेका छैनन् । त्यसैले होला ९३ प्रतिशत कृषिमा आवद्ध जनता घटेर अहिले ६३ प्रतिशतमा झरेको छ । यत्रा जनता कृषिमा आबद्ध रहेर पनि वार्षिक २ खर्वको खाद्यान्न अझ पनि बाहिरबाट आयात गर्नुपरेको छ । अब यी सब कुराको गहिरिएर मुल्यांकन गर्नुपर्ने बेला आएको छ । सम्भावना हुने र गर्न सक्ने काममा अब नेताको मात्र होइन आम जनता र आ(आफ्नो क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले योजना बनाई सम्बन्धित ब्यक्ति र क्षेत्रसंग छलफल गरि अगाडि बढाउनु पर्ने हुन्छ । सबै क्षेत्रको सबै कुरा नेताहरुलाई मात्र ज्ञान हँदैन । आ–आफ्नो क्षेत्रको विकासका लागि त्यहि क्षेत्रका ब्यक्तिहरुको अग्रसरता चाहिन्छ ।

नेपालको डेरी क्षेत्रको इतिहास बोकेको जिल्ला काभ्रे दुग्ध क्षेत्रको सांगठनिक रुपमा पनि पकड रहेको छ । राष्ट्रिय संगठनको रुपमा रहेको नेपाल डेरी एसोसिएसनका संस्थापक मध्ये राजन प्रसाद दाहाल र स्व. हरि प्रसाद सापकोटा यसै जिल्लाका हुन् । एसोसिएसनको केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटा, वर्तमान महासचिव प्रल्हाद दाहाल, केन्द्रिय सदस्य रामभक्त दाहाल, काभ्रे जिल्ला अध्यक्ष रबिन्द्र हुँमागाई समेत यसै जिल्लाका हुनुहुन्छ । पूर्व केन्द्रिय उपाध्यक्ष सन्तोष दाहाल पनि यसै जिल्लाका हुनुहुन्थ्यो । त्यस्तै दुग्ध सहकारी मार्फत निरन्तर लागिरहनु भएका काभ्रे जिल्ला दुग्ध सहकारी मार्फत वर्तमान अध्यक्ष नारायण बडाल, पुर्व अध्यक्ष एकराज शाही र दिपक पौडेल अनि डि.डि.सि का पुर्व कर्मचारी एवं केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सचिव टिका बल्लभ सापकोटा पनि यसै जिल्लाका हुनुहुन्छ । साथै नेपाल डेरी एसोसिएसन बाग्मती प्रदेशमा सचीव गोपाल तिमल्सिना , कोषाध्यक्ष नवराज तिमल्सिना, स(सचिव कृष्ण ढकाल, सदस्य राजकुमार वाइबा पनि यसै जिल्लाका हुनुहुन्छ । यहि क्षेत्रमा रहनु भएका यति धेरै राष्ट्रियस्तरका ब्यक्तिहरु हुँदा पनि यो क्षेत्रको विकासका लागि केहि गर्न नसक्दा पक्कै पनि हामी सबैलाई आत्मग्लानी हुन्छ । त्यस कारण सबै कुराले सबल रहेको यो हाम्रो काभ्रे जिल्लामा अब हामी सबैजना एकजुट भई आम काभ्रेली जनता र यहाँका किसानको हितको लागि एउटा धुलो दुध कारखाना स्थापनाको लागि लागौं । काभ्रे जिल्ला दुधमा आत्मनिर्भर , सबैभन्दा बढि दुध उत्पादन हुने , पहिलो डेरी स्थापना भएको , ३ वटा राजमार्गले छोएको , बागमती प्रदेशको पायक पर्ने र २ नं प्रदेशलाई समेत समेट्न सकिने, जताततैबाट यातायातको सुविधा भएको आदि कारणले यहाँका आम किसानको हितका लागि एउटा धुलो दुध कारखाना स्थापना गर्न अति नै आवश्यक रहेको देखिन्छ । बागमती प्रदेश कै चितवनमा धुलो दूध कारखाना भएता पनि काभ्रे र आसपासका जिल्लालाई धेरै नै अपाएक भएको छ । जान, आउन र एक दिन वा कहिलेकहिँ दुई दिनसम्म पनि कुरेर बस्नुपर्दा तीन चार दिनको गाडी भाडा र अन्य खर्च जोड्दा पाउडर बनाउन लानु र फ्याक्नुमा खासै भिन्नता नपर्ने भएर भएपछि अहिले उद्योगीहरुले दूध उठाएर पाउडर बनाउन नसकेको तितो सत्य यथार्थ कुरा हो । अरु भएका दुईटा सुजल पोखरा र डिडिसी बिराटनगरमा पनि भौगोलिक हिसाबले अति नै टाडा र खर्चिलो रहेको छ । त्यस कारण पनि यसमा सबै राजनितिक दल, नेता, स्थानिय तह, आम काभ्रेली किसानको साथ रहनुपर्दछ । यसो गर्न सक्दा काभ्रे जिल्ला सधैंभर दुधमा अग्रपंक्तिमा रहने छ र यहाँका आम किसानको सर्वोत्तम हित हुनेछ ।

यस जिल्लाको दुग्ध उत्पादन विभिन्न माध्यमबाट विभिन्न डेरी उद्योगहरुले लैजाने गरेका छन् । हाल यस जिल्लामा
निजी डेरी २४७८४ दैनिक उत्पादन लि. ९३१७.५९ वार्षिक उत्पादन (टन) १०.५९ प्रतिशत , सरकारी डेरी ४००४३ दैनिक उत्पादन लि. १५०५४.२ वार्षिक उत्पादन (टन)१७.११ प्रतिशत , ठेकेदाररव्यापारी ६९४८४ दैनिक उत्पादन लि. २६१२२.६८ वार्षिक उत्पादन (टन) २९.६९ प्रतिशत,
कृषक २४८३१ दैनिक उत्पादन लि. ९३३५.१८ वार्षिक उत्पादन (टन)१०.६१ प्रतिशत , जिल्लामा खपत ७४८९० दैनिक उत्पादन लि. २८१५५.१३ वार्षिक उत्पादन (टन) ३२ प्रतिशत गरि जम्मा २३४०३२ दैनिक उत्पादन लि. ८७९८४.७८ वार्षिक उत्पादन (टन) १०० प्रतिशत उत्पादन रहेको विभिन्न तथ्यांकले देखाउँछ ।

यस जिल्लामा दुग्ध विकास संस्थानका ८ वटा (बनेपा, पनौति, पाँचखाल, रानीटार, सिपाघाट, नाल्दुम, ढुंखर्क र चण्डेनी) चिलिङ सेन्टरहरू रहेका छन् । त्यस्तै निजी क्षेत्रका (सिताराम, कालिका, खरिपाटी, काठमाण्डौ, हिमालय, कान्तिपुर, सुजल, हिमालयन, गोल्फुबिनायक, अनुप, शुभारम्भ) डेरीका थुप्रै चिलिङ सेन्टरहरु रहेका छन् । दुग्ध सहकारी अन्तर्गतमा रविओपीमा २, गैहीविसौना देउपुरमा २, भकुण्डेमा १, महादेवस्थान ३ गरी जम्मा ८ वटाचिलिङ सेन्टर रहेका छन् । यसैगरी व्यक्तिगत स्तरमा पनि चिस्यान केन्द्रहरू स्थापना भई सञ्चालनमा आएका छन् । साथै यस जिल्लामा पास्चराईज दुध उत्पादन गर्ने डेरी उद्योगहरूमा अनमोल पनौति, कान्तिपुर पनौती , गोल्फुविनायक नाला, अनुप बनेपा, शुभारम्भ बनेपा, हिमालयन कुशादेबी र जयश्रीकृष्ण डेरी पाँचखाल रहेका छन् । त्यस्तै करिब दुई दर्जन जती साना तथा घरेलु डेरीहरु पनि यहाँ संचालनमा रहेका छन् ।

काभ्रेमा अहिले दैनिक उत्पादन भैई बिक्री हुने दुधबाट दैनिक करीब २ करोड रकम शहरबाट गाउँसम्म प्रवाह हुने गरेको छ।तर बेलाबखत हुने बन्द हड्ताल, दुध बढि भएर विक्रि हुन नसक्दाको समय र अहिलेको यो कोभिड–१९ को कारण किसानले उत्पादित दुध विक्रि नहुँदा करोडौं मूख्य बराबरको दुध खेर जाने गरेको छ । दुग्ध व्यवसायमा लिन (दुध नपुग्ने समय) र फल्स (दुध बढि हुने समय) हुन्छन् । यस्तो समयमा पाउडर दुधको अत्यन्तै महत्व हुन्छ । दुध बढि भएको बेला पाउडर बनाएर राख्ने र किसानको दुध खेर जान नदिने अनि दुध नपुग भएको बेला वा माग बढि भएको बेला पाउडर दुध घोलेर बजारको माग पूरा गर्न धुलो दुधको अत्यन्त महत्वपूर्ण भुमिका हुन्छ । पाउडर दुध भनेको झोल दुधलाई सुकाएर बनाइएको हुन्छ । दूध नपुगेको समयमा प्रयोग हुँदा यसले कुनै असर गर्दैन र सबै ठाउँमा यसरी नै प्रयोग गरिएको पाइन्छ । दुध बढि भएको समयमा पाउडर दूध बनाएर एक वर्षसम्म भण्डार गरी राख्न सकिन्छ । किसानको हितको लागि उत्पादित दुध विक्रि नभएको बेला खेर जान नदिन काभ्रेमा एउटा धुलो दुध कारखाना राख्न सक्दा आम डेरी उद्योगी किसानको लागि ठूलो हित हुने छ । आशा छ यसमा सबैले साथ दिनु नै हुनेछ । यसको लागि सरोकारवाला सबै निकाय, स्थानिय तह, यसमा हिजोदेखि आजसम्म लाग्ने सबै ब्यक्ति विशेषलाई समेटेर एक गोलमेच सम्मेलन गरी उपयुक्त स्थान, क्षमता र लगानीका बारे छलफल गरी अगाडि बढ्न सक्दा यो कामको चौतर्फी प्रशंसा हुनेछ । लेखक–नेपाल डेरी एसोसिएसनका महासचिव हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्