कहाँ छ बालअधिकार ?–नवराज बजगाई


जब मान्छे युवा र प्रौढ बन्छ भने उसले बाल्यकालको अनुभव गरेकै हुन्छ । मानव जीवनको प्रारम्भिक चरण नै बाल्यकाल हो । त्यही बाल्यकालमा जे जस्ता र जे जती सिकियो, अनुभव गरियो त्यसैको प्रतिरुप मानव हो, हामी हौं भन्दा शायद अन्यथा नलाग्ला ।
तत्कालिन बडामहारानी रत्नराज्य लक्ष्मीको जन्मोत्सवको अवसर पारि प्रत्येक भाद्र ४ गते मनाइदै आएको राष्ट्रिय बालदिवस लोकतन्त्र स्थापनासँगै बालअधिकार सम्बन्धी महासन्धीमा प्रतिबद्धता जनाई नेपालले हस्ताक्षर गरेको २०४६ भदौ २९ लाई सम्झना गर्र्दै २९ गते देशभर बालदिवस मनाइदै छ । तर दिवससँगै उठ्ने गरेको बाल अधिकारले भने कहिल्यै सार्थकता र व्याबहारिकता पाउन सकेको छैन ।
जबकी मान्छेले राम्रो गन्तव्य लिन्छ भने उसको बाल्यकाल कहिँ न कहिँ मार्गदर्शक बन्ने गर्छ । सन्ध्या नै प्रभातको संकेत हो, भनेझै उसको अतितले नै वर्तमानलाई सहि मार्ग दिन्छ र स्वर्णिम भविष्यको रेखा कोर्छ ताकी बालबालिका भनेको सृष्टीका फूल, भविष्यका कर्णधार, आशाका तारा हुन्, काँचो माटो हुन् जसलाई मुछेर पिटेर जस्तो सुकै आकार दिन र जे बनाएर काममा ल्याउन सकिन्छ । त्यसरी नै खाली कागजका टुक्रा हुन जसमा जे सुकै लेख्न रंगिचंगी फूल बनाउन सकिन्छ, त्यसैले पनि बालबालिका भनेको खाली कागज हुन् । त्यसो त आधुनिक विश्वको परिकल्पना पनि एक टुक्रा खाली कागज र एक थोपा मसीको साथमा भएको मान्न सकिन्छ । जे भए पनि हामिले एक पटक दिवससँगै गम्भिर भएर सोच्नु भने अवश्य पर्छ ।
सबै बालबालिकाले स्वतन्त्र भएर स्वास्थ शिक्षा, उचित स्याहार, माया, ममता र समान सहभागीताका साथ मनोरञ्जनपूर्ण वातावरणमा बाँच्न पाउनु नै बाल अधिकार हो । तर यि सब ठूलाबडा र खान्दानी परिवारका बालबालिकामा मात्रै लागु छन् । तपाई आफ्नो वरिपरि सडक पेटी, ठूलासाना होटल लगायतमा नजर लगाउनुस्, देख्नुहुन्छ–सडकका पेटीमा बालबालिका, जुटका बोरा बोकेर फोहर प्लाष्टिक बटुल्नेमा बालबालिका, ठूलादेखी सानासम्मका होटलहरुमा भाडा मस्काउनेमा साना हात, अबोध बालबालिका रिक्साका पाउदानीमा बालखुट्टा अर्थात बालबालिका, कहाँ छैनन् बाँच्नका लागि दुःख गरिहेका बालबालिका । के उनीहरुले स्वास्थ्य, शिक्षा लगायतको अधिकार पाएका छन् त ? अवश्य छैनन्, यदि छैनन् भने यो दृश्य बालअधिकारकर्मी र सम्बन्धित पक्षले नदेखेको हो ? होइन भने तिनलाई अधिकार दिनतर्फ सम्बन्धित पक्षको ध्यान पुग्नु पर्दैन ?
बालबालिका भनेको भु्रण अवस्था देखि १८ मुनिका सम्पूर्ण केटाकेटीहरु हुन् जो शारिरिक ,मानसिक रुपमा पूर्ण परिपक्व भैसकेका हुदैनन् र जटिल प्रकारका सहि निर्णय गर्न सक्दैनन् । भ्रुण अवस्थादेखि नै बिना भेदभाव सुरक्षित रहेर स्वस्थ्य रुपमा जन्मन पाउनु, पोषणयूक्त खानेकुरा खान पाउनु, उपयूक्त कपडा लुगा लगाएर हुर्कन पाउनु, आफ्नो ज्ञान सिप क्षमता तथा मेहनतका आधारमा भबिष्य निर्माण गर्न पाउनु, आत्मविश्वासका साथ समाजका आर्थिक, सामाजिक, साँस्कृतिक तथा धार्मिक क्रियाकलापमा भाग लिन पाउनु नै बाल अधिकार हो । त्यस्तै पौष्टिक आहार, खोप तथा औषधि उपचार, स्वच्छ खानेपानी र सरसफाई, सुरक्षित जन्म र जन्मदर्ता, आमाको दूध प्रत्येक दुई घण्टामा खान पाउनु पनि बालअधिकारका केहि उदाहरण हुन् । तर यी सब नारा र भाषणमा मात्र सिमित छन् । रक्षक नै भक्षक बनेर निकृष्टताको पराकाष्ठा प्रस्तुत गरेको हामी हाम्रै वरपर बग्रेल्ती देखिरहेका हुन्छौ ।
तर फेरि पनि यस्ता अधिकारको हननप्रति दबावमूलक क्रियाकलाप, समाजमा विद्यमान बालश्रम शोषण, दुव्र्यवहार, यातना रोकथामका लागि अभिभावक, शिक्षक, रोजगारदाता तथा सरोकारवालालाई दवाव एवं सुझाब दिने, बाल बिवाह, चेलिबेटी बेचबिखन, बाल यौन दुराचारबाट बालबालिकालाई जोगाउन समुदाय तथा विद्यालयस्तरमा सचेतना जगाउने र विशेष निगरानी राखी यस्ता कार्य हुन लागेमा रोकथाम र कानूनी कारवाहीका लागि संघ संस्था प्रहरीमा जानकारी गराउने, लागुपदार्थ दुव्र्यसन, धुम्रपान÷मद्यपानबाट बालबालिकालाई टाढा राख्ने विभिन्न सामाजिक संस्था, स्थानीय सरकार, विद्यालयलाई बालबालिकाको हकहितसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न लगाउने जस्ता गतिविधिलाई अक्षरस कार्यान्वयन गर्ने तर्फ अग्रसर हुनु पर्छ । दिवसका नाममा कोरा भाषण र प्रतिवेदन बनाउने र तिनको नामको रकम सक्ने संघ संस्था र संगठनले गम्भिर बन्न सक्नुपर्छ जबकी उनीहरुले आफ्नो अधिकार सहजैै प्राप्त गर्न सकुन् ।
जे होस् अहिले धेरै कारणले सबै बालबालिकाले आफ्नो अधिकार पाउन सकेका छैनन् । त्यसको कारणपत्ता लगाई निकास दिन सक्नु नै बर्तमानको आवश्यकता हो । कति बालबालिका अभिभावक नभएका कारण अधिकारबाट बञ्चित छन् । तिनलाई राज्यले अभिभावकको जिम्मेवारी बोक्नुपर्छ र कति अभिभावक भएर पनि विभिन्न समस्याको कारण अभिभावकको माया पाठनबाट बञ्चित छन् । कारक गरिबी र अशिक्षा हुन सक्छ त्यसलाई हटाउन अभिभावकलाई विशेष आर्थिक उपार्जनको कार्यहरु र सचेत गराउन सकेको खण्डमा पनि बालअधिकारले केहि समर्थन पाउन सक्छ । दिवसको अवसरमा त्यस तर्फपनि सरोकारवालाको ध्यान पुगोस् ।

प्रतिक्रिया दिनुहोस्