काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिकाले क्रमशः विकास निर्माण, स्वास्थ्य संस्थामा जनताको पँहुच बृद्धिमा अग्रसर बन्न थालेको छ । सिमित श्रोत र साधनहरुबिच स्थानीय तहको निर्वाचनपछि शून्य अवस्थामा रहेको विकास निर्माणलाई वर्तमान नेतृत्वले निक्कै गति दिन थालेको छ ।
केही बर्षअघिसम्म स्वास्थ्य संस्थाहरुको भौतिक अवस्थामा निक्कै कमजोर मानिदै आएको कोशीपारि क्षेत्रको भुम्लु गाउँपालिकाले यतीबेला स्वास्थ्य कार्यालयहरु बाट दिने सेवा र सुुविधामा निक्कै परिवर्तन गरेको छ ।
स्थानीय तहको निर्वाचन पूर्व सामान्य औषधि उपचार गराउन समेत बनेपा र धुलिखेल पुग्नु पर्ने बाँध्यताको अन्त्य स्थानीय सरकार बनेसँगै क्रमशः पुरा हुन थालेको छ । जिल्लाको भुम्लु गाउँपालिकाको प्रत्येक बडाको पायक पर्ने स्थानमा स्वास्थ्यचौकीबाट स्वास्थ्य सेवा पु¥याउँदै आएकोमा आइतबारबाट थप स्वास्थ्य प्रयोगशाला(ल्याब)को समेत स्थापना भएसँगै जनताको प्रत्यक्ष स्वास्थ्यमा भुम्लु गाउँपालिका निक्कै जिम्मेवार बनेको पुष्टि भएको छ ।
जिल्लाको भुम्लु गाउँपालिकामा आफ्नै स्वास्थ्य प्रयोगशाला सुरु भएसँगै त्यहाँबाट दर्जनौ परीक्षण गर्न सकिने भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुंवरले बताए । आईतबार अध्यक्ष कुंवरले भुम्लु गाउँपालिका वडा नं ८ मा रहेको स्वास्थ्य चौकीमा ल्याबको उद्घाटन गर्दै ल्यावबाट धेरैभन्दा धेरै भुम्लुका जनताले सेवा पाउने विश्वास व्यक्त गरे ।
जनताले पाउने अत्यावश्यक स्वास्थ्य सेवा दिलाउन गाउँपालिकाले कुनै पनि कसर बाँकी नराख्ने बताउँदै उहाँले कोभिडको बिषय परिस्थितीमा समेत स्वास्थ्य सेवा प्रदान गर्ने महान कार्यमा खटिनु भएका स्वास्थ्यकर्मीप्रति अध्यक्ष कुंवरले सम्मान व्यक्त गरे । रगत, दिशा पिसाब लगायतका चेकजाँच गाउँमै हुने भएसँगै स्थानीयहरु समेत खुसी भएका छन् । गाउँमै ल्याब आएसँगै स्थानीय सरकारले निर्वाचनमा बोलेका प्रतिबद्धता पुरा गर्न थालेको स्थानीयले बताए ।
ल्याब उद्घाटन कार्यक्रममा बडाअध्यक्ष मोतिलाल लामा, रमेश खरेल, प्रमुख प्रशासकीय अधिकृत मदन बजगाई, अधिकृत रुपक अधिकारी, स्वास्थ्य शाखाका प्रमुख सुदर्शन भट्टराई लगायत सहभागी थिए । – बेथानचोक खबर बाट








