काभ्रेपलान्चोक – काभ्रेका धेरै ठाउँमा पहिरो गएको छ भने दुई गाउँपालिकामा यातायात ठप्प भएको छ । निरन्तर परेको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि दुई गाउँपालिकामा यातायात ठप्प भएको हो ।
महाभारत र खानीखोला गाउँपालिका जोड्ने सडकखण्डको ठाउँठाउँमा पहिरो गएपछि जिल्ला सदरमुकाम आवतजावत गर्ने सवारी साधन ठप्प भएको हो ।जिल्ला सदरमुकामबाट महाभारत गाउँपालिका जोड्ने ‘बनेपा–कटुञ्जे–सिपाली–बुढाखानी–बनखु’ सडकखण्डको महाभारत–६ घ्याब्रिङमा पहिरो गएपछि सवारी साधन चल्न नसकेको हो ।
सडक अवरुद्ध भएपछि अहिले डाँडापारिबाट जिल्ला सदरमुकाम आवतजावत गर्नका लागि रोशी गाउँपालिकाको सिसाखानी रोशी खोलासम्म हिँड्नु पर्ने बाध्यता छ । उता डाँडापारि क्षेत्रकै विकट खानीखोला गाउँपालिका जोड्ने सडक खण्डको पनि ठाउँ–ठाउँमा पहिरो गएका कारण यातायातको साधन चल्न सकेको छैन ।








