स्थानीय सरकारको बजेट, स्थानीय आवश्यकता अनुसार कै


बनेपा,जिल्लाका स्थानिय सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि निति कार्यक्रम र बनेट प्रस्तुत गरेका छन । बजेटमा स्थानीय आवश्यकता अनुसारको पूर्वाधार निर्माण, कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापन, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, सिपमुलक कार्यक्रमलगायतलाई प्राथमिकता दिईएको छ ।

मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइबाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्दै कोरोना नियन्त्रण अन्तर्गत स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताएका छन् । मण्डनदेउपुर नगरपालिकाकी उप–प्रमुख निर्मला शाहिले प्रस्तुत गरेको बजेटमा ९२ करोड २५ लाख ७९ हजार ८ सय ९१ रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त रकम मध्ये ५१.९ प्रतिशत चालु र ४८.१ प्रतिशत पूँजीगत तर्फ खर्च हुने छ ।

यसैगरी पनौती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३२ करोड रुपैयाँको बजेट प्रस्ताव गरेको छ । नगरसभामा प्रमुख भिमप्रसाद न्यौपानेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ७ औँ नगरसभामा उपप्रमुख गिता बञ्जाराले बजेटको प्रस्ताव गरेकी थिइन् ।

यसैगरी बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को बजेट १ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ । नगर प्रमुख लक्ष्मीनरसिं बादेले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने उपप्रमुख रेखा दाहाल सापकोटाले १ अर्ब, १५ करोड, ७१ हजारको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन् । बनेपाले पूँजीगत तर्फ ६० करोड ७२ लाख ३१ हजार रुपैयाँ विनियोजन गरेको छ भने संघीयको सरकारको ससर्त अनुदान तर्फ २९ करोड २८ लाख, प्रदेश सरकारकाको ससर्त अनुदान १ करोड ८२ लाख ४ हजारको बजेट प्रस्तुत गरिएको छ । त्यस्तै नगरपालिका तर्फ २३ करोड ८१ लख २६ हजार रुपैयाँ आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको छ ।
धुलिखेल नगरपालिकाको ७ औँ नगरसभामा नगरप्रमुख अशोक ब्याञ्जुले चालू खर्च तर्फ ५१ करोड ४ लाख ४० हजार र पूजीगत तर्फ ६० करोड ६ लाख ७१ हजार रुपैयाँ बिनियोजन गरेको जानकारी दिए । नगर प्रमुख अशोककुमार ब्याञ्जूले कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, पूर्वाधार र गरिवी निवारणलाई प्राथमिकता दिएको बताउनु भयो । नगरसभामा नगर उपप्रमुख बिमला शर्माले नगरपालिकाको प्रगति, आगामी कार्यक्रम र नीति प्रस्तुत गरेकी थिइन् ।
नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७÷०७८ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्षका लागि नगर सभामा मेयर टि.पी. शर्मा तिमल्सिनाले ६३ करोड ८९ लाख ३४ हजार ५ सय ४१ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । सातौं नगरसभामा नगरपालिकाले कोरोना संक्रमणले निम्त्याएको संकट व्यवस्थापनका लागि स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई विषेश प्राथमिकता दिदैं नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको थियो ।

यसैगरी पाँचखाल नगरपालिकाले नीति तथा कार्यक्रम मात्र सार्वजनिक गरेको छ । नगरसभामा छलफल गरेर बजेट तय गरिने नगरप्रमुख महेश खरेलले सभामा बताउनुभएको छ । कृषि नगरीको रुपमा अगाडी बडेको पाँचखाल नगरमा कृषि तथा पशुपंक्षिलाई उच्च प्राथमिकता दिदै नगरले नीति तथा कार्यक्रम तयार गरेको छ । पाँचखाल नगर कृषि तथा पशुपंक्षीको लागि अत्यन्त उपयुक्त स्थान भएकोले कृषकको हितको खातिर नयाँ ढंगको नीति तथा कार्यक्रम ल्याईएको नगरप्रमुख महेश खरेलले बताउनुभयो ।
यसैगरी भुम्लु गाउँपालिकामा ४५ करोड, ७५ लाख ८ हजारको बजेट प्रस्तुत भएको छ । गाउँ सभामा पालिका प्रमुख गुमानध्वज कुँवरले नीति, कार्यक्रम र उपाध्यक्ष कल्पना श्रेष्ठले बजेट पेश गरेका थिए ।
खानीखोला गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४२ करोड ९५ लाख ३५ हजार १ सय ७० रुपैयाँ बजेट प्रस्तुत गरेको छ । ७ सातौ गाउँसभामा पालिका उपाध्यक्ष रुक्मणी गुरुङले बजेट प्रस्तुत गरेकी थिइन् । यही बजेट अन्र्तगत आगामी आर्थिक बर्षमा कृषि, शिक्षा, स्वास्थ्य र स्वरोजगार कार्यक्रमहरु गरिने अध्यक्ष कृष्ण बहादुर खुलालले जानकारी दिएका छन ।
चौरीदेउराली गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौलागाईले गाउँसभामा ४७ करोडको बजेट प्रस्तुत गरेकी छिन । आगामी आर्थिक बर्षमा स्वास्थ्य, कृषि र पुराना योजनाहरुलाई निरन्तरता दिइने अध्यक्ष दिनानाथ गौतमले जनाउनु भएको छ ।
यस्तै रोशी गाउँपालिकाको ७ औँ गाउँसभामा उपाध्यक्ष लक्ष्मी बर्तौलाले आगामी आर्थिक वर्षका लागि ५८ करोड ९९ लाख ५६ हजार बजेट प्रस्तुत गरेकी छिन् । सभामा पालिका अध्यक्ष डिबी लामाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ‘रोशीको दृष्टि पर्यटन र कृषि’ भन्ने मूल नाराका साथ रोशी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको बताईएको छ ।
यसैगरी तेमाल गाउँपालिकाको सातौं गाउँसभा भने शुक्रबार सम्पन्न भएको छ । गाउँसभामा तेमाल गाउँपालिकाको आर्थिक वर्षको नीति तथा कार्यक्रम अध्यक्ष सलामसिं तामाङले प्रस्तुत गरेका थिए भने बजेट उपाध्यक्ष दुर्गामाया तामाङले प्रस्तुत गरेकी थिइन् ।
सभामा उपाध्यक्ष तामाङले ४८ करोड ८८ लाख ५३ हजार ७ सय ७२ रुपैयाँ बजेटको प्रस्ताव गरेकी थिइन् । उनका अनुसार संघीय सरकारबाट वित्तिय समानीकरण अनुदानमा जम्मा रु. ९ करोड २३ लाख, संघीय सरकारबाट शशर्त अनुदान अन्तर्गत शिक्षा, स्वास्थ्य, उर्जा, खेलकुद लगायतको शिर्षकमा एक मुष्ट रु. १८ करोड ६५ लाख, सामाजिक सुरक्षा भत्ता बापत रु. ७ करोड ७४ लाख, वागमती प्रदेशबाट वित्तिय समानिकरण अनुदानमा रु. ९९ लाख २१ हजार, शशर्त अनुदान तर्फ रु. १ करोड ४५ लाख ९८ हजार, तेमाल गाउँपालिकामा रहेका श्रोतको पहिचान गरी आगामी आर्थिक वर्षमा १ करोड ३२ लाख रुपैयाँ, चालु आर्थिक वर्षमा विनियोजन भएको तर काम सञ्चालन नभएका करिब ५ करोड १० लाख रहेको छ । बजेटका प्राथमिकताहरुमा गुणस्तरीय शिक्षा, कृषिमा व्यवसायिकरण तथा पशुजन्य वस्तुहरुमा आत्मनिर्भरता, आधारभूत स्वास्थ्यलाई सर्वसुलभ बनाई सर्वसाधारण जनताको पहुच योग्य बनाउने, पर्यटन पूर्वाधारको विकास र प्रवद्र्धन लगायत रहेका छन ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले भौगोलिक विकटता रहेको र यातायात, खानेपानी लगायतका समस्या रहेकाले पूर्वधारसँगै स्वास्थ्य, कृषि र शिक्षालाई प्राथमिकता दिएर निति, कार्यक्रम र बजेट तयार गरेको बताउनु भयो । असार १० गतेसम्ममा स्थानीय सरकारहरूले नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने भएतापनि बेथानचोक गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छैन् । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्