काभ्रेपलान्चोक – काभ्रे जिल्लाका अधिकांश पालिकाहरुले आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक गरेका छन् ।
असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउनै पर्ने बाध्यकारी प्रावधान रहेता पनि केही स्थानीय तहहरुले भने आज सार्वजनिक गर्न सकेनन् ।
१३ वटा स्थानीय तह रहेको काभ्रे जिल्लाको ८ स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट ल्याएको छ भने ३ स्थानीय तहले भने नीति तथा कार्यक्रममात्रै ल्याएको छन् ।
मण्डनदेउपुरले पनि आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । उपप्रमुख निर्मला शाहिले ७ औँ नगरसभामा ९९ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिका प्रमुख टोक बहादुर वाइबाले कोरोना नियन्त्रण अन्तर्गत स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिनुभएको छ ।
विगतका वर्ष देखि नै शिक्षा उच्च प्राथमिकतामा राखेको नगरपालिकाले यो वर्ष पनि उत्तिकै प्राथमिकता दिएको छ । त्यस्तै कृषि, पशु र पर्यटनको क्षेत्रमा पनि बजेट विनियोजन गरिएको प्रवक्ता डिल्ली आचार्यले जानकारी दिनुभयो ।








