बनेपा – काभ्रेमा कोरोना संक्रमित नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले काभ्रेपलाञ्चोक जिल्लामा एक जना पनि कोरोना सङ्क्रमित रहेको तथ्याङ्क प्रकाशन गरेको भएपनि उनी काभ्रेपलाञ्चोकको नरहेको भन्दै सच्याएको हो ।

मन्त्रालयका अनुसार कोरोना संक्रमित काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका निवासी, महोत्तरीमा कार्यरत राष्ट्रसेवक सुरक्षाकर्मि रहेकाे बताएका छ ।

जेठ ३ गते धुलिखेल सामुदायिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा पोजेटिभ देखिएका मध्यपूर्वी पृतना महोत्तरीका कार्यरत नेपाली सेनाका जवान काभ्रेपलाञ्चोकका सङक्रमित भनेर मन्त्रालयले भनेको भएपनि अहिले सच्याएको छ । मन्त्रालयले हाल सम्म काभ्रेमा कुनै संक्रमित व्यक्ति नरहेको बताएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख एवम् जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डा. नरेन्द्रकुमार झाले अहिलेसम्म काभ्रेपलाञ्चोक जिल्लामा कसैलाई पनि कोरोना नभएको जानकारी दिनुभयाे ।

काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जिल्लामा अहिलेसम्म कसैमा पनि कोरोना सङक्रमण नभएको जानकारी मन्त्रालयलाई गराइएको र मन्त्रालयले यस अघिको रेकर्ड सच्याएको बताउनु भयाे ।