काभ्रे (पनौती) – कोरोना भाइसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको आज ३५ औँ दिन हो ।
लकडाउन भएसँगै देशक सम्पूर्ण ठाउँहरु ठप्प भएका छन् । यो समयमा जिल्लाको पनौती युवा मञ्चले भने पनौती नगरपालिका भित्र रहेका बेवारिसे, सडकमा माग्न बसेका र अलपत्र परेकाहरुलाई सहयोग गरिरहेको छ ।
मञ्चले ३५ दिन अगाडि देखी हाल अहिलेसम्म उनीहरुलाई बिहान र बेलुकाको खाना दिएर सहयोग गरिरहेको छ । साथै आज आज ३५ औँ दिनमा पनौती नगरपालिकाका मेयर भिम न्यौपाने , पनौती नगरपालिकाका स्वास्थ प्रमुख पुरुषोत्तम तिमल्सिनाको सहभागितामा ती सडकमा माग्न बसेका र अलपत्र परेकाहरुको स्वास्थ परिक्षण गरिएको छ ।
यसरी दिन दुःखीहरुलाई बिहान बेलुका खाना दिन पाउँदा स्वास्थ परिक्षण गराउन पाउँदा आफूलाई खुशी मिलेको पनौती युवा मञ्चका अध्यक्ष सौगात बस्नेतले बताए ।
उनका अनुसार मञ्चका सदस्य र मञ्चलाई माया गर्नेहरुको सहयोगबाट नै यसरी सेवा दिन सकिएको हो । ‘देश लक डाउन भएसँगै बजार अनुगमनमा जादाँ सडकमा अलपत्र परेकाहरुको दयनिय अवस्था देखेर केही सहयोग निर्णय ग¥र्यौँ,’ उनले भने, ‘नगरका जुझारु युवाहरुसँगको सल्लाहपश्चात खाना दिनु नै प्रभावकारी सोचेर खाना दिएर सेवा गरेका हौँ ।’ मञ्चका सदस्यसमेत रहेका जि.टी होटल एण्ड रेष्टुरेन्टका सञ्चालक सञ्जय सिंह ठकुरीले खाना पकाउनका लागि आफ्नो किचन प्रयोग गर्न दिएर सहयोग गरेका छन् ।
मञ्चले उनीहरुलाई पनौतीको बसपार्कमा खाना दिइरहेको छ । ‘यहाँ हामीले सडकमा अलपत्र परेका, सडकमा मागेर खानेलाई मात्र नभएर न्यून आए भएका र ज्याला मजदुरी गर्नेलाई पनि खाना दिएका छौँ,’ अध्यक्ष बस्नेतले भने, ‘देश लकडाउन भएपछि ज्याला मजदुरी गर्ने जस्तै रिक्सा चालक, सवारीका सह–चालक, भारी बोक्नेहरुको रोजीरोटी नै खोसिएको छ ।
उनीहरुको आम्दानीको श्रोतहरु केही नभएकाले हामीले उनीहरुलाई पनि सहयोग गरेका हौँ ।’ खाना खान नपाएर समस्यामा परेकाहरुलाई पनि मञ्चमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।सुरुको दिनमा १७ जनालाई खाना दिएर सहयोग गरेको मञ्चले अहिले ७० जनालाई खाना दिदैँ आइरहेको छ ।








