नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नै पर्ने ३० वटा कारण अघि सारेको छ । पार्टीको झापा क्षेत्र नंं. ५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधिनताको रक्षादेखि शिक्षक दरवन्दी मिलानसम्मका विषयहरु समेटिएको छ ।
केपी शर्मा ओलीलाई नै भोट किन भन्ने शिर्षकको अपिलमा खस्किएको मनोबल उठाउनका लागि ओलीलाई जिताउनु पर्ने उल्लेख गरिएको छ । ‘देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्ती सुरक्षाको ग्यारेन्टी गर्नका लागि ओलीलाई मत दिनुपर्दछ’ अपिलमा भनिएको छ ‘झापा ५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरुलाई सम्पन्न गर्नका लागि केपी ओलीलाई मत दिन अपिल गरिन्छ ।’
एमालेको अपिलमा नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराइ युवामा सीपमुलक विकास गर्दै स्वरोजगारको अभिवृद्धीका लागि ओलीलाई मतदान गर्न आह्वन गरिएको छ । ओलीलाई जिताएर सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन र कृषिक्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन पनि केपी ओलीको आवश्यकता रहेकोले ओलीलाई मतदान गर्न अनुरोध गरिएको छ । निर्माणाधिन एशियन हाइवे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडकका अधुरो निर्माण सम्पन्न गर्नका लागि पनि ओलीलाई मतदान गर्न आहवान गरिएको छ । यसैगरी दमकको मुख्य आर्थिक र मानवीय स्रोतको रुपमा रहेको दमक–रवि सडक–चिसापानी सडक निर्माण सम्पन्न गरी जनताको जीवनस्तर उकास्नका लागि पनि अध्यक्ष ओलीलाई निर्वाचित गर्न माग गर्दै एमालेले अपिल जारी गरेको छ ।
एमालेले भूमिहिन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न पनि एमालेले ओलीलाई मतदान गर्नका लागि अनुरोध गरेको छ । दमक, गौरादह र गौरीगञ्जका सबै स्थानीय तहका अस्पतालमा सहज सेवा विस्तारका लागि पनि ओलीलाई मत दिन आव्हान गरिएको छ ।
अध्यक्ष ओलीलाई स्मरण गराउनका लागि अपिल जारी गरिएको ‘अपिलमा मुख्य मुख्य विषयहरु समेटिएकोले घरदैलोमा गएका पार्टीका कार्यकर्तालाई पनि मतदातालाई कुरा बुझाउन सजिलो सामग्रीको रुपमा पनि प्रयोग भएको छ ।








