बनेपा, बनेपामा रहेको आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औँ वार्षिकोत्सवको अवसरमा संस्थाका १ सय ९७ जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ ।
बनेपा, भकुण्डे र पनौती क्षेत्रका सेवा केन्द्रमार्फत सक्रिय ज्येष्ठ सदस्यहरूलाई यस वर्ष विशेष सम्मान प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादेले ज्येष्ठ सदस्यहरूलाई सम्मान प्रदान गर्दै सहकारीलाई आर्थिक कारोबार मात्र होइन, अनुभव र ज्ञान साटासाट गर्ने सामाजिक परिवार का रूपमा व्याख्या गर्दै ज्येष्ठ सदस्यहरूको जीवन–अनुभव नै आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने बताए । बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले सहकारीले सामाजिक रूपान्तरणदेखि घर–परिवारको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान फर्काइरहेको बताए । उप–प्रमुख विमला सापकोटाले सहकारीले विशेषगरी महिलालाई उद्यमशीलतामा उन्मुख गराउँदै आत्मनिर्भर बनाउन मद्दत पु¥याएको बताईन । सहकारीका संस्थापक अध्यक्ष सुरकृष्ण बैद्यले आभाषले सदैव सदस्यमुखी नीति, उद्यम प्रवद्र्धन र सेवा–गुणस्तरमा जोड दिएको बताए । अध्यक्ष ग्रुबेन तौजले ज्येष्ठ सदस्यको सल्लाह र युवा पुस्ताको अपेक्षा अनुसार संस्था अघि बढिरहेको बताए । ज्येष्ठ सदस्यलाई २०७४ सालदेखि सम्मान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत सुवाष वैद्यले जानकारी दिए ।
पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपानेले लगायतले बोलेको कार्यक्रममा उपाध्यक्ष प्रकाश कायस्थ र सचिव धर्मभक्त प्रधानले ज्येष्ठ सदस्य लक्षित गतिविधि तथा योजनाहरूको विवरण सार्वजनिक गरेका थिए ।








