आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाताको उमेर कट–अफ मिति निर्धारण गरेको छ । आयोगका अनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकले यस निर्वाचनमा मताधिकार प्रयोग गर्न सक्नेछन् ।
आयोगले २०८२ मंसिर २० गतेसम्म देशभरबाट सङ्कलित मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको छ । आयोगको वेबसाइटमा सार्वजनिक गरिने उक्त प्रारम्भिक नामावलीमा त्रुटि भेटिएमा सच्याउन, विरोध–उजुरी दर्ता गर्न वा दोहोरो नाम समेटिएको भए हटाउन मंसिर २१ देखि २७ गतेसम्म म्याद तोकिएको छ ।
इच्छुकले अनलाइन प्रणाली प्रयोग गरी वा सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थिति जनाई निवेदन, उजुरी वा सूचना दिन सक्ने व्यवस्था गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार उक्त अवधिमा प्राप्त गुनासा तथा उजुरीको छानबिन गरी २०८२ पुस १५ गते अन्तिम मतदाता नामावली सम्बन्धित निर्वाचन कार्यालय तथा वडा कार्यालयमार्फत सार्वजनिक गरिनेछ । आयोगले मतदाता नामावलीलाई त्रुटिरहित र थप सच्याउन बनाउने प्रक्रियामा आम नागरिक, राजनीतिक दल तथा सरोकारवालाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरेको छ ।








