बनेपा, प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि देशभर गरी आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुरुप काभ्रेमा ५ हजार ५६५ मतदाता थपिएका छन् । जिल्लामा अघिल्लो निर्वाचनमा प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका चार क्षेत्र विभाजन गरिएको थियो । अहिले पनि सोही संख्यामा क्षेत्रहरु छन् ।
काभ्रेपलाञ्चोक जिल्लामा अब ३ लाख १२ हजार ३ सय १६ मतदाता रहने छन । जसमा पुरुषको संख्या १ लाख ५९ हजार २०५, महिलाको संख्या १ लाख ५३ हजार ११० र अन्य २ जना रहेको तथ्यांक छ । जिल्लामा ६ वटा नगरपालिका, ७ वटा गाउँपालिका, १ सय ३५ वडा रहेका छन् ।
देशभर फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत तीन लाख ४४ लाख नौ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार एक सय ८० नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन ।
आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको हो । गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३ रहेको थियो । सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपिएको थियो ।