वर्षातको कारण बारम्बार पहिरोले अवरुद्ध हुँदै आएको वि.पि. राजमार्ग अब २४ सै घण्टा सञ्चालन हुने भएको छ । यसअघि सडकको कमजोर भौगोलिक अवस्थाका कारण यात्रु सुरक्षालाई ध्यानमा राखी सो खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन निषेध गरिएको थियो ।
तर आसन्न दशैं–तिहार लगायतका चाडपर्वमा यात्रुको सहज आवागमन सुनिश्चित गर्न जिल्ला सुरक्षा समिति काभ्रेले आश्विन १ गतेदेखि स्वीकृत सडक सुरक्षा कार्ययोजना अनुसार आवश्यक सतर्कता अपनाई २४ सै घण्टा राजमार्ग सञ्चालन गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले सो निर्णयबारे सबै सम्बन्धित निकाय तथा यात्रुलाई जानकारी गराउँदै सडक प्रयोग गर्दा अतिरिक्त सावधानी अपनाउन आग्रह गरेको छ ।








