बनेपा, जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले ५८औं स्थापना दिवससँगै ४४ औं वार्षिक साधारणसभा शनिबार बनेपामा सम्पन्न गरेको छ ।

संघका अध्यक्ष अमन पोटे श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उहाँका अनुसार संघको स्थापना २०२४ साल भदौ २६ गते सहकारी विभाग काठमाडौंमा दर्ता भएको हो । हाल यसको केन्द्रीय कार्यालय बनेपा–७ मा रहेको छ भने पाँचखाल, भकुण्डे र पनौतीमा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । संघले जिल्लाभरका सहकारी संस्थाहरूसँगको सहकार्यलाई सहज, मर्यादित र व्यवस्थित बनाउन पारदर्शी अभियान अघि बढाइरहेकोे छ ।

गत आर्थिक वर्षमा संघले कूल १ अर्ब ४१ करोड ६९ लाख १ हजार ९४२ रुपैयाँको कारोबार गरी १ करोड १४ लाख ६७ हजार ४३० रुपैयाँ नाफा कमाएको कोषाध्यक्ष अर्जुन सापकोटाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षका लागि संघले १ अर्ब ४६ करोड २१ लाख ७५ हजार १२ रुपैयाँ कारोबार गर्ने र २ करोड ६ लाख ९८ हजार ८८२ रुपैयाँ नाफा गर्ने लक्ष्य लिएको छ । संघमा हालसम्म काभ्रेका १३ वटै स्थानीय तहबाट ५९४ वटा सहकारी संस्था आबद्ध रहेको संघका सचिव प्रकाश बञ्जाराले बताउनुभयो ।

वार्षिक कार्यक्रममा सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने परम्पराअनुसार यस वर्ष काभ्रे टाइम्सका पत्रकार रमेश न्यौपानेलाई सम्मान गरिएको छ । विगत २७ वर्षदेखि पत्रकारितामार्फत निरन्तर सूचना प्रवाह गर्दै आएको योगदानका लागि उहाँलाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हा े।
उपाध्यक्ष शान्ति लामा तामाङको स्वागत मन्तव्य र सञ्चालन सचिव प्रकाश बञ्जाराले गर्नुभएको कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डअनुसार जिल्लाका सबै सहकारी संस्थाले साधारणसभा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा लेखा समिति सदस्यमा कान्छीमैया थापा कार्की निर्विरोध निर्वाचित हुनुभयो ।