निर्माण व्यवसायीले निर्धारित समय भित्र धुलिखेल–खावा चार किलो मिटर सडक निर्माण सम्पन्न गर्न नसकेपछि ठेक्का तोडेको सडक कार्यालयले अहिले अस्थायी रूपमा आफैले सडक मर्मत गर्न सुरु गरेको छ ।

सवारी साधन र यात्रुलाई यो सडक हुँदै यात्रा गर्न समस्या भएपछि डिभिजन सडक कार्यालय भक्तपुरले अस्थायी रूपमा ग्राभेल गरेर सडक मर्मत गर्न सुरु गरेको हो । धुलिखेल–खावा सडक खण्डको जिप लाइन देखि खावा सम्म ग्राभेल गरेर सडक मर्मत सुरु गरेपछि यो सडक हुँदै आवतजावत गर्ने सवारी साधन र यात्रुलाई केही सहज भएको छ ।

पटक–पटक म्याद थपे पनि सडक निर्माण गर्न ठेकेदारहरूले आनाकानी गरेपछि गएको फागुनमा नै निर्माण कम्पनी गौरी पार्वतीसँग ठेक्का सम्झौता रद्द गरेको थियो । नयाँ ठेक्काका लागि केही दिन भित्रै टेन्डर आह्वान गर्ने डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए । नयाँ ठेक्काका लागि सहमति प्राप्त भइसकेको छ,असार १४ भित्र नयाँ ठेक्काको सूचना प्रकाशित हुन्छ योगेशले भने, ‘दुई महिना जति प्रक्रियामा जान्छ,असोज देखि नयाँ ठेकेदारले काम सुरु गर्छन् ।’ अहिले सडक कार्यालयले नै अस्थायी रूपमा सडक मर्मत गरिरहे पनि यातायातका साधन सञ्चालन भइरहँदा केही समस्या भएको उनले बताए ।
नाली, प्रेटेक्सनवाल लागतका कामहरू अहिले थपेका छौ, १ वर्षको समय हुन्छ, त्यो भन्दा अघि नै काम सम्पन्न हुने गरेर प्रक्रिया बढाउँछौ कार्यालय प्रमुख योगेशले भने । ठेक्का सम्झौता रद्द गरिएको निर्माण व्यवसायीले अदालतमा मुद्दा हाले पनि त्यसले नयाँ ठेक्का प्रक्रियामा जान समस्या नभएको कार्यालय प्रमुख योगेशले बताए ।