बनेपा, गर्मी मौसम बढ्दै गएसँगै बनजंगलमा रहेका रुखको पात सुकेर खस्ने तथा नँया पालुवा पलाउने समय भएको छ । भुईमा रहेको घांस पनि पानीको अभावको कारण सुक्दै गएको जसको कारण जंगलमा कंहि कतैवाट सानो आगोको श्रोत प्राप्त हुन साथ जंगलमा आगलागी हुन जान्छ । सुरुमा सानो रुप लिने आगोले ठुलो क्षती पुर्याउदछ । सानो मानवीय त्रुटीको कारणले गर्दा वनजंगलमा ठुलो क्षती भएको नजिर हेर्दै काभ्रेमा वन डढेलो व्यवस्थापन सम्बन्धी तालिम दिईएको छ ।
डिभिजन वन कार्यालय काभ्रेले वन डढेलो नियन्त्रण द्रुत क्रियात्मक वललाई वन डढेलो व्यवस्थापन तालिम गरेको हो । तालिममा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत वन कार्यालयका कर्मचारीको सहभागीता रहेको थियो । तालिममा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले नेपालमा विपद् व्यवस्थापनका लागि भइरहेका प्रयास र संगठनात्मक व्यवस्था बारे जानकारी दिएका थिए । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसुन्धरा खड्काले विपद् नियन्त्रणका लागि सामुहिक प्रयास जरुरी रहेको भन्दै कमाण्ड, कोअर्डिनेशन र कम्युनिकेशन महत्वपुर्ण हुने बताइन् । खड्काले जिल्लामा डढेलो सम्बन्धी घटनामा ८ जनालाई नियन्त्रणमा लिइएकोमा ५ वटा मुद्धा चलाएको भन्दै डढेलो लगाउने कार्य क्षम्य नहुने भन्दै कानुनी दायरामा ल्याइने बताइन । डिभिजन वन कार्यालय काभ्रेका डिभिजन वन अधिकृत कृष्ण बहादुर थापाले वन डढेलो नियन्त्रण कार्य भोगोलिक विविधता, स्रोतसाधनको कमी, जंगलकोबीचको वस्ती चुनौतीपूर्ण रहेको उनको भन्दै डढेलोका कारण हुने विनाशको दर नेपाललमा उच्च रहेको बताए ।
काभ्रे जिल्लामा वन डढेलोबाट चालु आर्थिक वर्षमा आगलागीका ८६ घटना भएका छन् । आगलागीमा परेर एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । १५ चौपाया मरेका छन् । पक्की सहित २८ घर र २२ गोठमा क्षति पुगेको छ । गत आर्थिक वर्षमा २२२ आगलागीका घटना भएका थिए । उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो । ८ जना घाइते भएका थिए । ८५ चौपाया मरेका छन् भने १७ घाइते भएका छन् । ९२ घर र ४५ गोठमाक्षति पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
त्यसैले सामुदायिक वन आगलागिवाट बचाउन सम्बन्धित आगो लागि वाट बचाउने उपभोक्ता समितिलाई पुरषकृत गर्ने, विद्यालयमा तथा टोल(टोलमा जनचेतनामुलक कार्य संचालन गर्ने, डढेलो लगाउने व्यक्तिलाई नियन्त्रणमा लिई कडा कानुनी कारवाही गरेको अवस्थामा मानिस सजाय तथा जरीवानाको डरले पनि आगो लगाउनवाट पछि हट्दछन । अग्नी नियन्त्रण गर्ने सुरक्षा निकाय संग सम्बन्धित सशस्त्र प्रहरी, नेपाली सेना तयारी अवस्थामा रहनु पर्दछ । टोल(टोलमा खनिएका सडक संजाल संचालनमा ल्याउनु पर्दछ जस्ले गर्दा दमकल सहजै पुर्याउन सकिन्छ । वन हामी सवैको साझा सम्पति हो–यसको संरक्षणमा सबै लागौं ।