राष्ट्रिय पोशाक दिवस तथा राष्ट्रिय झण्डा दिवसको स्थापना गरि विश्वभरि छरिएर रहेका नेपालीहरुलाई संस्कृति र पोशाक मार्फत जोड्ने प्रयास गर्दै विगत १२ बर्षदेखि घामपानी, सुखदुख र व्यक्तिगत जिवनलाई सामाजिक जिवनमा परिवर्तन गरि दुई दिवसलाई जनस्तरबाट जनजनमा स्थापित गर्न सफल राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक तथा युवा सांस्कृतिक अभियान्ता राजानन्द माण्डव्यसँग राष्ट्रिय पोशाक दिवसको अवसर पारेर नव क्षितिज साप्ताहिक र राम्रो सन्देश डट कमकमका लागि प्रधानसम्पादक नवराज बजगाईले गरेको संक्षिप्त कुराकानी ः
० राष्ट्रिय पोशाक दिवस किन र के का लागि स्थापना गरियो ?
नेपालको मौलिकता र पुरातन संस्कृतिलाई प्रतिनिधित्व गर्ने एउटा मूर्त पहिचान दौरासुरुवाल, टोपी हो । गून्युचोली, चौबन्दी हो । शिरको टोपी, कम्मरमा खुकुरी नेपाली र गोरखाली पहिचान संसारमा परिचित छ । देशको व्यवस्था परिवर्तनका नाममा मौलिक पोशाक, औपचारिक पोशाक हटाए पछि त्यसैको विरुद्ध विक्रम सम्वत् २०७० सालमा नेपाली पोशाक दिवसको स्थापना काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा सुरुवात गरिएको थियो । देशको अन्तर्रााष्ट्रय स्तरमा समेत स्थापित पोशाकलाई जातियता, धार्मिक, भौगोलिक पहिचानका नाममा नामेट पार्न नदिनका लागि राष्ट्रिय पोशाक दिवसको स्थापना गरिएको थियो र दिवस स्थापित पनि भईसकेको छ ।
० नेपाली पोशाक दिवस भनिन्छ तर अंग्रजी नयाँ बर्षको पहिलो दिनमा मनाईन्छ नि किन ?
आज संसार नै ग्लोबल भिलेजको अवधारणामा अघि बढिसकेको छ । अव हामीले कसैलाई बहिस्कार र कसैलाई स्विकार गर्ने गरेर हामी संसारमा परिचित हुन सक्दैनौ । हामी फराकिलो हुने बेला हो यो, खुम्चिने बेला हैन । संसारलाई नेतृत्व गर्नेछौ भनेर भनिरहदा अरुलाई बहिस्कार वा तिरस्कार गरेर हामी हाम्रो अस्तित्व संसारमा उच्च राख्न सक्दैनौ। तसर्थ सवैको धर्म,सवैको पर्व, सवैको अस्तित्वलाई सम्मान गर्दै हामी संसारमा फैलिनुको विकल्प छैन । संसार भरी ईस्वि संवत् स्थापित छ । विक्रम संवत् छिमेकी भारतले पनि प्रयोग गर्दैन तसर्थ द्वेष गरेर घृणामा रुमलिनु भन्दा यसै सम्वत्लाई समातेर हामीले हाम्रा पोशाक, हाम्रा संस्कृति र हाम्रा मौलिकतालाई संसारमा स्थापित गर्नु छ । हाम्रो दौरासुरुवाल, टोपीलाई संसारभर स्थापित गर्दै संस्कृतिलाई विश्व बजारमा बजारीकरण गर्न पनि यो दिन आवश्यक छ । अर्को कुरा विश्वभरि छरिएर रहेका नेपाली, गैर नेपाली र नेपाली मुलका नागरिकलाई सहजता र सम्मान गरि विदेशी दिनलाई टेकेर पोशाक दिवस र टोपी दिवस मनाईन्छ । तर हामी पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउने गरेका छौ ।
० पोशाक दिवस मनाएर मात्रै संस्कृति जोगिन्छ त ?
पोशाक जोगाएर मात्रै संस्कृति जोगिदैन तर पोशाक संस्कृतिको पहिलो स्तम्भ हो । मानव सभ्यताको विकास संगै सवैभन्दा महत्वपूर्ण अंगको रुपमा पोशाकलाई लिईएको छ । मानिस नखाएर पनि कयौँ दिन बाच्न सक्दछ, नपढेर पनि बाँच्न सक्दछ तर पोशाक विना उ समाजका उभिन पनि सक्दैन। पोशाक सोच्दा केहि हैन जस्तो लाग्छ तर पोशाक पहिलो आधारभूत आवश्यक्ता हो । अनिवार्य आवश्यक्ता हो । त्यसमाथि संस्कृतिलाई जिवन्त राख्ने काम नै पोशाकले गर्दछ । पाषाण युगको अन्त्य संगै पोशाकको विकास भयो । आफ्नो समुदाय अनुसार भिन्न भिन्न पोशाक बनाईयो होला तर पोशाक जातिय,सामुदायिक पहिचान हो । संस्कृतिको प्रतिविम्व पोशाक हो । हामी पोशाक दिवस मार्फत जागरण गरिरहेका छौ कि दौरासुरुवाल, टोपी मात्रै हैन सवैले आफ्नो संस्कृति र पहिचान बोकेको पोशाकको संरक्षण गर्नुपर्छ । अझै सकिन्छ भने त दैनिक रुपमा प्रयोग समेत गर्नुपर्दछ । यदि हामीले यस्लाई जिवन्त राख्न सकेनौ भने कि त संग्राहालय कि त इतिहासमा हेर्नुको विकल्प छैन ।
० पोशाक दिवसले कस्तो जागरण ल्याएको छ ?
व्यवस्था परिवर्तनका नाममा नयाँ व्यवस्था आएपछि दौरासुरुवाल लगाएर हिड्नेलाई राजाबादी, राप्रपा, पञ्चे लगायतका नाममा जोडिने गरिएको थियो । दौरासुरुवाल लगाएर हिड्ने मानिस देख्न लगभग मुस्किल भईसकेको थियो । यसो जात्रापर्व मात्र सिमित हुने अवस्था आईसकेको थियो । अभियान सुरु गरेको केहि वर्ष हामीलाई पनि राजाबादी र पञ्चेको ट्याग झुण्डाईसकेका थिए । तर म शाहवंश वा कुनै राजा रजौटाको पोशाक मात्र नभएर हाम्रो मौलिक र वैदिक सनातन पोशाकको रुपमा दौरासुरुवाल रहेको बहस गर्दै आईरहेको छु । उप–राष्ट्रपती परमानन्द झाले धोती लगाएर सपथ लिदाँ देशभर हंगामा भएको थियो । प्रधानमन्त्री बाबुराम भट्टराई त अझै पनि खसको पोशाक दौरासुरुवाल भन्दै संकिर्ण विचार बोकेर हिडेका छन । प्रचण्डले भने अहिले आएर अंगिकार गरेका छन । तराई केन्द्रित केहि दलका शिर्ष नेता धोती र टोपी विचको लडाँईमा छन । तर यो लडाई धोती र टोपी नभएर पाश्चात्य पोशाक र नेपाली मौलिक पोशाक विचको हो । धोती र टोपी हाम्रो आफ्नो हो । हाम्रो माटोको पहिचान हो । निरन्तर पोशाक दिवस मनाएर जागरण अभियान गरेर नै हो आज विवाह, भोज, सभा सम्मेलन मात्र नभएर विदेश यात्रा देखी विदेशी सेलिब्रेटी नेपाल आउँदा समेत टोपी, दौरासुरुवाल मायाको चिनोको रुपमा अत्याधिक रुपमा प्रयोगमा ल्याईएको छ । खेलाडी, कलाकार, उच्च पदस्थ राजनैतिक व्यक्तित्वहरु पनि अव सम्मानका साथ औपचारिक कार्यक्रमहरुमा दौरासुरुवाल, टोपी लगाएर सहभागी हुन लागेको देखिन्छ । यो हामै्र अभियानको निरन्तरता र जनजागरणको प्रभाव हो भन्न हामी गर्व महसुस गर्दछौ ।
० झण्डा दिवस पनि मनाउन थाल्नुभयो यो आवश्यक थियो र ?
झट्ट हेर्दा नेपाल कहिल्यै कसैको अधिनस्थ रहनु परेन, हाम्रो ध्वजा कसैको अधिनमा रहेन, कसैसामु झुकेन भने पनि हाम्रो झण्डा भने देश भित्र नै अपहेलित छ । कोहि शाहवंशिय झण्डा त कोहि हिन्दूवादी झण्डाको रुपमा जोडेर जलाउने, च्यात्ने गरेको त सवैले देखेका, सुनेका छौ नै तर हाम्रो झण्डाको इतिहास र महत्व भारी छ । विभिन्न बाहना झण्डाको गरिमालाई कमजोर बनाउने र झण्डा नै परिवर्तन गर्ने सम्मका आवाजहरु नेतृत्व वर्गबाट आएको अवस्थालाई ध्यान दिएर झण्डा दिवस मनाउन थालिएको हो । सुरुमा कहिले र कसरी झण्डाको दिवस स्थापना गर्ने भन्ने योजना अनुरुप इतिहासको अध्ययन गर्दै जादाँ नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्रसंघमा सन् १९६२ डिसेम्वर १६ का दिन अर्थात २०१९ साल पौष १ गतेका दिन अंगिकार गरिएको पाइयो । सोहि विशेष दिनलाई स्मरण गर्दै २०७५ साल पौष १ गतेबाट झण्डा दिवस मनाउन थालियो । अहिले जनस्तरबाट भएपनि राष्ट्रिय झण्डालाई उच्च सम्मानका साथ दिवसका रुपमा मनाउने गरिन्छ । झण्डा दिवसका दिन प्रतिष्ठानले झाँकी, सांस्कृतिक कार्यक्रम गरि राष्ट्रिय झण्डाको महिमा, गरिमा, इतिहास र महत्वलाई आम नागरिकहरुमा जानकारी गराउने अभियान सफल हुँदै गएको छ ।
० धरोहर प्रतिष्ठानले पोशाक दिवस र झण्डा दिवस मात्र मनाउने गर्दछ कि अन्य क्षेत्रमा पनि काम गर्दछ ?
वास्तवमा राष्ट्रिय पोशाक दिवस स्थापना भएपश्चात २०७० सालदेखी २०७५ सालसम्म पोशाक अभियानमा नै सक्रिय भयौ । त्यस पछि २०७५ सालबाट झण्डा दिवस स्थापना गरेर अव पोशाक संरक्षण र झण्डा संरक्षण तथा जागरण कार्यक्रम थालियो । २०८० साल पछि राष्ट्रिय विभूती दिवसको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । नेपालको इतिहासमा राष्ट्रनिर्माण तथा देशलाई स्वतन्त्र र अविभाजित बनाउन जिवन नै त्याग गर्ने विर र विरंगनाहरुको स्मृतिमा हामीले राष्ट्रिय विभूती दिवसको आवश्यक्ताको अनुभूती ग¥यौं । १८ राष्ट्रिय विभूतीलाई देशले सम्झिएन, सम्वन्धित मन्त्रालय र निकायहरु दलिय भागवण्डा र राजनितीमै व्यस्त भए तर देश निर्माणमा योगदान दिने राष्ट्रका गौरवहरुलाई सम्झने र नागरिकलाई जानकारी दिने काम सोचेजस्तो हुन सकेन तसर्थ प्रतिष्ठानले हाल विभूतीहरुको वास्तविक तथ्याङ्क तयार गरिरहेका छौ । विभूती संग्रहालय बनाएर अगाडी बढ्ने प्रयास गरिरहेका छौ । साथै राष्ट्रिय धरोहर, इतिहास र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान गर्नुहुने नेपाली नागरिकहरुलाई हौशला स्वरुप संस्थाले हरेक बर्ष धरोहर सम्मान गर्ने गरेको छ । राष्ट्रकवि माधव प्रसाद घिमिरे, इतिहासविद् सत्यमोहन जोशी, संस्कृतिविद् ज्ञानमणी नेपाल, प्रा.डा दयाराम श्रेष्ठलाई राष्ट्रिय धरोहर सम्मानद्वारा अभिनन्दित गरिएको छ । यो बर्ष प्राडा. राजेन्द्र विमल, प्राडा.विणा पौड्याल, व्याकुल माईला, चैतन्यकृष्ण, अखण्ड भण्डारी, गोपीकृष्ण ढुंगाना, दिपेन्द्रराज तिम्सिना, मोहन दुवाल, त्रिभुवनचन्द्र वाग्ले, प्रकाश सुवेदी, दिलिप ढकाल, प्रशान्त माली लगायतका साहित्य, कला, संस्कृति, इतिहासमा योगदान गर्ने विविध विधाका मूर्धन्य व्यक्तिहरुलाई अभिनन्दन गर्ने संस्थाको तयारी रहेको छ ।
० अन्त्यमा………..?
देश भनेको भूगोल मात्र हैन । भूगोलले मात्र देश हुन्थ्यो भने अन्टार्टि«कालाई पनि देश भनिन्थ्यो । देश हुनको लागि भुगोल संगै नागरिक र नागरिक संगै नागरिकको परिचय आवश्यक पर्दछ त्यो भनेको नागरिकका भाषा, संस्कृति, पहिचान, पर्व, संस्कार र संस्कृति सवै जोडिएर इतिहास सहितको राष्ट्र बन्दछ । इतिहान नै कुनैपनि राष्ट्रको पहिचान हो । देशलाई अन्त–राष्ट्रमा पहिचान दिलाउन पहिलो राष्ट्रध्वज, दोस्रो त्यहाँको पोशाक, तेस्रो त्यस देशको नाम तत्पश्चात त्यहाँका नागरिकको भाषा, संस्कृतिद्वारा अस्तित्व मापन गरिन्छ तसर्थ देशको भूगोल संगै राष्ट्रध्वज, पोशाक, भाषा, संस्कृतीको जर्गेना र संरक्षण गरि आउने पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो पहिलो दायित्व हो ।








