नुवाकोट जिल्ला ककनी गाँउपालिका वडा नं. ३ र बेलकोटगढी नगरपालिकाको वडा नं. २ को सिमानाबाट बग्ने चाउथे खोलामा पानीको अबस्था अत्यन्त प्रदुषित लोदोसहितको धमिलो दुषित पानी बग्ने गरेको पाइन्छ । चाउथे खोलाको माथिल्लो भागमा पर्ने साविकको चाउथे गा.वि.स. को वडा नं. १ हाल परिबर्तित ककनी गाउँपालिकाको वडा नं. ३ मा पर्ने लामागाउँस्थित स्थानियहरूले पाखो बारी बगाएर बालुवा उत्खनन् गर्दा खोलामा बग्ने पानीको स्वरूप परिवर्तन भई अत्यन्त धमिलो र लेदोसमेत बग्ने गरेको पाइन्छ । यसले गर्दा लामागाउँभन्दा तलको भु–भागम प्रत्यक्ष असर परेको अबस्था छ ।
स्थानियहरुको भनाईअनुसार अहिले पशुपन्छिलाई खुवाउन पानीको अभाव हुन थालेको छ । त्यतिमात्र नभएर कृषिवालिमा सिंचाई गर्नपनि अत्यन्त कठिन छ । खोलामा धमिलो पानीसंगै बग्ने लेदोको कारण कुलो भरिएर खेतीपातिमा सिंचाई गर्नसमेत अत्यन्त कठिन अवस्था रहेको स्थानियहरु बताउनुहुन्छ । समस्या त्यतिमात्र सिमित नभएर मानिसको मृत्युपछि गरिने काजक्रियामा समेत यसले ठूलो असर पारेको स्थानियहरु बताउँछन् । स्थानीयहरुका अनुसार खोलाको पानीमा नुहाउनसक्ने अवस्था छैन । सोही खोलाबाट नजिक रहेको प्रहरी चौकी कुमारीलाई पटकपटक खोलामा भएको प्रदुषणको विषयमा जानकारी गराउदा प्रहरी प्रशासनसमेत मौन रहेको स्थानीयहरुको भनाई छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारीलाई समेत यो विषयमा जानकारी भने नभएको होइन तर खोलाको पानीमा भने प्रदुषण नरोकिएको स्थानीयहरुको गुनासो छ । यही भु–भागको पूर्वबाट बग्ने अर्को खोला जसलाई कोल्पुखोला नामाकरण गरिएको छ । कोल्पुखोलामा भने फोहोरबाट निस्कने लिचड विगत दुई दशक अघिदेखि खोलाको पानीमा मिसाएर बगेको अबस्था छ । दुई दशकभन्दा अघिदेखि नुवाकोट जिल्ला र धादिङ्ग जिल्लाको सिमानामा पर्ने बने बञ्चरेडाँडामा काठमाँडौ माहानगरपालिका लगायतको १८ वटा स्थानिय निकायले फोहोर विर्सजन गर्दै आएको नुवाकोट र धादिङ्गको सिमानाबाट बग्ने कोल्पु खोलाको पानीमा मानब शरिरका अंगहरुले प्रत्यक्ष पानीलाई छुनसक्ने अबस्थाभने छैन । फोहोरको लिचडको असर दिनप्रतिदिन गुणात्मक रूपले बढेको पाइन्छ । यसको प्रत्यक्ष असर ककनी गाउँपालिका को वडा न १, २, ३ र धुनेबेसी नगरपालिकाको वडा न.१, ३ ,४ मा खोलाले प्रत्यक्ष असर पारेको देखिन्छ । नेपालको राजधानी काठमाडौ र काठमाडांै संगै रहेका अन्य जिल्लाहरुको समेत फोहोर विर्सजन गरिदै आएको बन्चरेडाँडाँ आसपासका स्थानीहरूमा फोहोरमैलाकै कारण क्यासर रोगको जोखिम अत्याधिक बृद्धि भएको कारण क्यान्सर रोगको बिरामीहरुको संख्यामा भने चौगुणा वृद्धि भएको देखिन्छ । यस्ता विषयमा नेपाल सरकार र सम्बन्धित निकायहरुको ध्यानाकर्षण भई त्यहाका नागरिकहरु को बाँच्न पाउने मौलिक हक अधिकार सुनिश्चित गरी फोहोर र मानब एउटै स्थानमा रहन नसक्ने हुँदा की फोहोरमैला मात्र की मानब बस्तीमात्र कायम गर्न सरकार तथा सम्बन्धित निकायहरुसंग जोडदार माग गरिन्छ । –रमेश बजगाई, ककनी–३, चाउथे, नुवाकोट