पनौती, पनौती नगरपालिकाको १५औं नगर अधिवेशन हिजो आईतबारबाट शुरु भएको छ । हिजो आर्थिक वर्ष २०८१÷८२ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख रामशरण भण्डारीले १ अर्ब ६० करोड बजेट विनियोजना गरेको जानकारी दिए ।
नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । पनौती नगरपालिका क्षेत्रभित्र संचालित रोडा, ढुंगा उद्योग क्षेत्र विशेष गरी वडा नम्बर २ र १२ का स्थानीय नागरिकको हित, प्रोत्साहन र स्वास्थ्य सुविधाका लागि नगरपालिकाको ५० प्रतिशत खर्च सहभागीतामा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । हाम्रो नगर धुलोरहित शहरलाई मुर्तरुप प्रदान गर्नका लागि मिनि बुमर, खरिद र पनौतीका दक्षिण क्षेत्रबाट विश्वसम्पदा सुचीमा प्रस्तावित क्षेत्र पनौती ६ र ७ प्रवेश गर्ने प्रत्येक सवारीसाधनको चक्का धुने व्यवस्था मिलाउन नीजि लगानीकर्तालाई उत्प्रेरणा गरिने कार्यक्रम छ ।
प्रत्येक वडा कार्यालयसम्म पक्की सडकको पहुँच पुर्याइने, पनौती नगर क्षेत्र भित्रका व्यक्तिगत भवनहरुले पुरातत्व विभागबाट तोकिएको मापदण्ड बमोजिम हुनेगरी भवनको अग्र भागमा रंगरोगन गरेमा प्राविधिक प्रतिवेदन बमोजिम हुन आउने कुल खर्चको ४० प्रतिशत नबढ्नेगरी प्रतिघर अधिकतम ५० हजारका दरले उपलब्ध गराइने नगर प्रमुख भण्डारीले बताए ।
उप–प्रमुख गिता बञ्जाराका अनुसार हालसम्म २ दशमलव ७ किलोमिटर सडक कालोपत्रे, ७ दशमलव ४ किलोमिटर ढलान, ६ किलोमिटर नयाँ ट्रयाक खन्ने कार्य भएको उनले बताए । यस्तै ७ दशमलव ३ किलोमिटर पक्की नाला निर्माण, ११ वटा ट्याङकी निर्माण हुनुका साथै ७ वटा मन्दिर पाटी पौवा निर्माण भएको जानकारी दिइन् । चालु आर्थिक वर्षमा १ सय ९ जना विरामीलाई निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको बताइन् ।