ऐतिहासिक पनौती जात्रा जारी रहेको छ । जेष्ठ शुक्लप द्धादशीदेखि पुर्णिमाको रात रहुन्जेल मनाईने जात्रा पनौतीमा मनाइने धेरै जात्राहरु मध्ये विशेष हो । यो जात्रा इन्द्रेश्वर महादेव, उन्मत्त भैरव, भद्रकाली र ब्रम्ह्मायणी देवीसँग सम्बन्धित रहेको बताईन्छ । पनौती जात्राको समयमा पनौतीवासी खेतको काममा व्यस्त रहने भएकाले यस जात्रालाई स्थानीय नेपाल भाषामा ज्यापुन्ही जात्रा भन्ने गरिएको हो ।
पनौती जात्रामा पलाञ्चोक, पाँचखाल, डाँडापारी क्षेत्रबाट चिउरी, केरा, बेच्न आउने मानिसहरु पनि थुप्रै हुन्छन् । त्यसैले यो जात्रालाई चिउरी जात्रा पनि भन्ने गर्दछन् । यो जात्राले वर्षायामको संकेत पनि गर्दछ । जेठ असारमा अधिक वर्षा हुने गर्दछ, वर्षाका कारण सबैतिर हिलाम्मे हुँदा मनाइने भएकाले यो जात्रालाई हिले जात्रा समेत भन्ने गरिन्छ । पनौती जात्रालाई घुम जात्रा पनि भनिन्छ । यो जात्रामा घुमको व्यापार अत्याधिक हुने गर्दथ्यो । वर्षाको समयमा खेतमा काम गर्न अथवा घरबाट बाहिर कतै निस्किन घुमको आवश्यकता पर्दथ्यो ।

परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए। त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिदै आइएको स्थानीय बताउँछन् । ५० मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुई बास तेर्स्याइने र एक घण्टा लगाएर तर्ने गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको ठूलो जात्राका रुपमा लिइन्छ । जात्राअन्तर्गत त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गरिन्छ ।

साथै, ईन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशमूर्तिलाई खटमा राखी धुमधामकासाथ नगर परिक्रमा गराइन्छ । जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र ईन्द्रेश्वरका तीन रथको भागदौडसँगै यौन क्रियाकलापमा रुमाउँदै एकापसमा जुधाउने काम हुन्छ ।

पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफाली लुक्छन्, तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुप धारण गरी भद्रकालीलाई भगाउँछन्। भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइन्छ । रथ जुधाइसँगै अविरजात्रा पनि हुन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका ईन्द्रेश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रम्हायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् । धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रुपमा लिइन्छ । रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तछाडमछाड गर्छन् ।