बनेपा, धुलिखेल नगरपालिका वडा नम्बर ५ स्थित श्री श्रीखण्डपुर माध्यमिक विद्यालयमा शैक्षिक कार्यक्रम अनुरूप प्रत्येक शुक्रबार भिन्न भिन्न खालका कार्यक्रम गरिने गरेकोमा यो शुक्रबार भने दुग्धजन्य पदार्थ प्रवर्धन सम्बन्धि कार्यक्रम गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक जुजुभाई मानन्धरको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालले दुग्धजन्य पदार्थको परिचय एवं महत्वको सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभयो । अध्ययनका लागि एसोसिएसनले विद्यार्थीहरुलाई लिखित पेपर पनि बितरण गरेको थियो । अतिथिहरुको स्वागतको लागि आधारभूत तहको कोर्डिनेटर शिवप्रसाद बन्जाराले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल डेरी एसोसिएसनले दुग्ध क्षेत्रको प्रवर्धनका लागि बनाइएको गीत एवं बालबालिकाको लागि तयार गरेको मही सम्बन्धि गित पनि प्रस्तुत गरेको थियो । अध्यक्ष दाहालले सबै विद्यार्थीहरुलाई दुध तथा दुग्ध पदार्थ अनिवार्य सेवन गर्न आग्रह गरेका थिए ।

श्रीसखण्डपुर माविका शिक्षक विद्यार्थीहरूको सहभागितामा भएको कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेश उपाध्यक्ष धुर्व तिवारी, पत्रकार महासंघ काभ्रेका सल्लाहकार नवराज बजगाई, नेपाल डेरी एसोसिएसनका कार्यालय प्रमुख रविन्द्र केसी समेतको सहभागिता रहेको उक्त कार्यक्रममा काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नम्बर ८ नाला रोडमा रहेको शुभारम्भ डेरी एण्ड एग्रोबेटी रिसर्च प्रालीका तर्फबाट सहभागी सबैलाई दुग्धजन्य पदार्थ अन्तर्गत मही प्रवर्धन कार्यक्रम अन्तर्गत निःशुल्क रुपमा उपस्थित सबैलाई वितरण गरिएको थियो । विद्यालयका शिक्षक रामचन्द्र भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यार्थीहरूले दुग्धजन्य पदार्थका सम्बन्धमा प्रश्नोत्तर समेत गरेका थिए । कार्यक्रम अत्यन्तै प्रभावकारी भएको र यस्ता खालका कार्यक्रमहरु अब देशभरका विभिन्न विद्यालयमा पालैपालो गरिने कुरा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले बताए ।

नेपाल डेरी एसोसिएसनले सुरु गरेको मही अभियानले सार्थकता पाउदै गएको छ । हिजो कहिँ कतै जाँदा अन्य पेय पदार्थ नखाई महि खाएमा नराम्रो दृष्टिले हेरिन्थ्यो भने आज सबैले मही खाँदा प्रशंसा गर्दै सम्मानका साथ हेरिन्छ । आजभोलि भोज, भत्तेर, पार्टी वा अन्य शुभ कार्य गर्दा दुग्ध पदार्थ उपभोग गराइने गरेको देखिन्छ । डेरी उद्योगीहरुले महीलाई ब्राण्डिङ गरी विभिन्न स्वादमा निकाल्नु पर्छ । यसो गर्दा जता पनि महिको खपत हुनसक्छ र स्थायित्व हुन पुग्छ । कार्यक्रम पछि विद्यालयको तर्फबाट प्रशसा पत्र प्रदान गरिएको थियो । –नव क्षितिज साप्ताहिकबाट