नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईकोको नयाँ गीत टुनामुना सार्वजनिक भएको छ । उनकै अफिसियल युट्व च्यानल र इमेज एफ.एम.को कार्यक्रम मेचीदेखि महाकालीसम्मबाट एक साथ सार्वजनिक भएको गीत टुनामुना पछिल्लो समय चर्चामा रहेको छ ।
विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको उक्त टुनामुना गीतका शब्दहरु बबिना भट्टराई कै रहेका छन् । गीतको एरेन्ज महाराज थापाले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीले रेकर्डिङ गरेको उक्त गीतको भिडियो ड्रगन पिक्चर्स द्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ संग बबिना आफैले अभिनय गरेकी छिन् । केशवराज भट्टको निर्देशन र कोरियोग्राफी रहेको उक्त भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् ।
बबिना भट्टराईको शब्द, संगीत र स्वर रहेको गीतमा आफूले स्वर दिन पाएकोमा आफू खुसी अनि आनन्दित भएको बताउँछन् टुनामुना का गायक बैकुण्ठ प्रधान । विगत वर्षदेखि बबिना संगको सहकार्यमा गीत संगीत र भक्ति संगीतमा सहकार्य गर्दै आइरहेका उनी बबिना भट्टराईको संगीत कला र गला अनि काम गर्ने शैलीले आँफू प्रभावित भएको र आगामी दिनहरुमा पनि बबिना संगको सहकार्यमा गीत तथा भजनहरु दर्शक, श्रोता माझ ल्याउने बताएका छन् ।
बैकुण्ड प्रधान संगको सहकार्य सहज र सरल भएको बताउने बबिना आध्यात्मिक व्यक्तित्व बैकुण्ठको गीत तथा भजनहरु प्रतिको लगावलाई सम्मान गर्दै आगामी दिनहरुमा बैकुण्ठ प्रधानसंगको सहकार्यमा अझ सुमधुर र कर्णप्रिय गीत तथा भजनहरु दर्शक, श्रोता माझ ल्याउने बताउँछिन् ।
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १५ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।
भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो चारु मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो चारु गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् भने टुनामुना गीत लेखेर आँफूलाई गीतकारको रुपमा समेत प्रस्तुत गरेकी छिन् । गीतको भिडियोमा आँफैले अभिनय गरेर उनले आँफू भित्र लुकेको नृत्य प्रतिभा पनि सार्वजानिक गरेकी छिन् उनको अभिनयलाई दर्शक, श्रोताले रुचाएका छन् । आफ्नो अभिनय हेरेर अन्य म्युजिक भिडियोहरुमा अभिनयको प्रस्ताव समेत आएको बताउने बबिना आफ्नो मूल कर्म गायन र संगीत नै भएकोले यहि क्षेत्रबाट नै आफ्नो पहिचान र परिचय स्थापित गर्ने बताउँछिन् ।
हेर्नुस भिडियो>








