काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कसैले चाहेरपनि लोकतन्त्रको जग हल्लाउन नसक्ने बताउनुभएको छ ।
नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोकतन्त्र जोगाउन नागरिकले जस्तो सुकै त्याग र बलिदान गर्ने बताउनुभयो ।
यात्राको माध्यमबाट नेकपा एमालेले राष्ट्रिय एकता जगाउने र लोकतन्त्रलाई थप सुदृढ गराउने काम गरेको ओलीले बताउनुभयो । जनताको बिचमा जाने र जनताको कुरा सुन्ने हिसाबले पनि यात्रा महत्त्वपूर्ण रहेको ओलीले बताउनुभयो । जनसङ्ख्या र भूगोलको हिसाबले ठुलो हिस्सा ओगटेको मध्य पहाडमा अहिलेकै अवस्था रहने हो भने देश समस्यामा पर्छ भन्ने सोचका साथ त्यहाँका नागरिकमा आशा जगाउन यात्रा गरिएको ओलीले बताउनुभयो ।
ओलीले युवाहरू देशमा नबस्नु ठूलो चुनौती भएको बताउदै मध्यपहाडमा आर्थिक विकासको सम्भावना रहेपनि युवा पलायन मुख्य चुनौती रहेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो–’ मध्यपहाडमा सम्भावना धेरै छ, तर सबैभन्दा ठूलो चुनौती युवाहरू देशमा नबस्ने र जनसंख्या नै बसाइँ सर्ने, युवाहरू नभएपछि अरु के गरेर बस्ने त्यहाँ ? खेती नभएपछि वन भइहाल्छ ।’
युवाहरुको संख्या अलि कमै देखिएको उहाँले बताउनुभयो । मानिसहरुमा आशाबादिता रहेको अध्यक्ष ओलीले बताउनुभयो । यात्राका क्रममा आफूहरूले जनतामा आशा जगाउने काम गरेको पनि उहाँले बताउनुभयो । आम जनताको साथ सहयोगले यात्रा निक्कै सफल भएको ओलीले बताउनुभयो ।
वर्तमान गठबन्धन सरकारको कारण देश गलत बाटोमा गइरहेको बताउदै ओलीले देशमा धेरै समस्या भएका भर्खरै एनसीएलको स्वामित्व किनबेचको विषय निक्कै गम्भीर विषय भएको उहाँको भनाई छ । खरबौँको सम्पत्ति करोडमा कारोबार गर्ने कुरालाई कुनै पनि हालतमा सही स्विकार्न नसकिने ओलीले बताउनुभयो ।
कतिपय ठाउँमा सरकारी दमन देखिएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो – ’सरकारी दमन पनि चर्काेगरीनै रहेछ, सरकारी पक्षपात भेदभाव र दमन, विपक्षी पार्टी भनेपछि काम गरेर पनि बाँच्न नसक्ने खालको स्थिति रहेछ कतिपय ठाउँमा, राज्यसत्ताको दुरुपयोग गरेको देखियो, हुन त काठमाडौंमै प्रोफेसरको ढाड भाचिन्छ, सरकारले मुद्दा फिर्ता लिन्छ, अरु अपराधी तत्वका मुद्दा फिर्ता लिन्छ, काठमाडौंमा प्रबुद्ध समाजको अगाडि त यस्तो हुन्छ भने झन् दूरराजको स्थिति कस्तो होला ?’
जनताका मागपत्रहरुबारे अध्ययन भइरहेको भन्दै उहाँले त्यसपछि तत् सम्बन्धमा आवश्यक कारबाही अगाडि बढाइने समेत बताउनुभयो ।








