वैदेशिक रोजगारीले देश उराठ लाग्दो बन्दै जान थालेको छ । बल्ल तल्ल +२ उत्तीर्ण गर्न नपाउँदै देशका होनहार नव युवाहरुले खुट्टा उचाल्न थालेको तथ्यांक कहाली लाग्दो छ । ग्रामिण भेगका कलेजहरु एकपछि अर्को गर्दै बन्द भैरहेका छन् । देशको राजधानी लगायतका प्रमुख ठूला शहरहरुका कलेजहरुको अवस्था दयनीय बन्दैछ । यहि गतिमा वैदेसिक रोजगारी वढिरहने र देशमा शिक्षित बेरोजगारीको समस्या समाधानतर्फ राज्यको ध्यान नजाने हो भने +२ माथिको र स्नातकोत्तर मुनीका कलेजहरु अबको केहि समयमा बन्द प्रायः हुनेछन् ।
यसस्तो अवस्थाबाट देशको शैक्षिक तथा रोजगारीजन्य अवस्था गुज्रिरहेको ताजा परिवेशमा हिजो पुस २ गते त्रिभुवन विश्वविद्यालयले आफ्नो ४९ औँ दीक्षान्त समारोह भब्यताका साथ सम्पन्न गरेको छ । दशरथ रङ्गशालामा भएको दिक्षान्त समारोहमा १२ हजारभन्दा बढी विद्यार्थी दिक्षित भएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य र प्रधानमन्त्री पुष्पकमल दाहालको आतिथ्यमा सम्पन्न दिक्षान्त समारोह भब्य देखिन्थ्यो ।
त्रिभुवन विश्वविद्यालयले यस वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित गराउन लागेको सूचना जारी गरेको थियो । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म उत्तिर्ण भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजार ४१५ जना दीक्षित भएका छन् ।
यस वर्ष एम्.फील्., स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गरिएको छ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै एम्.फील्. र पी.एच्.डी. तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिएको छ ।
यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने बन्द गरेको छ । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्दै आएको त्रिविले उत्कृष्ट विद्यार्थी पाउन गाह्रो भएको भन्दै उक्त पदक बन्द गराएको बुझिएको छ । उक्त पदक बाहेक अन्य पदकहरू भने यथावत् रहेको त्रिविले जनाएको छ ।
पछाडी फर्केर हेर्ने हो भने नेपालको शिक्षा र शैक्षिक इतिहास त्यति कमजोर छैन । यहाँको परम्परागत हिन्दु–वैदिक शिक्षाको लामो इतिहास छ । वैदिक शिक्षा, कर्मकाण्ड, आर्युवेद र त्यस बेलाको आवश्यकता पुरा गर्ने खालको थियो । त्यस बेलाको आर्युवेदको उच्चतम खोज र अनुसन्धानले आजको शताब्दिमा पनि यसको अति नै महत्व दर्शाइरहेको छ । बौद्ध धर्म–दर्शनको प्रारम्भ भएपछि विहार, गुम्बा र बौद्ध शिक्षा केन्द्रहरूमा बौद्ध धर्मदर्शनमा आधारित शिक्षा र हिन्दु–वैदिक शिक्षाअन्तर्गत विशेषतः गुरुकुल प्रणालीका शिक्षा सीमित मात्रामा प्रचलित थिए ।
नेपालको एकीकरण पूर्व र एकीकरण पछिपनि शिक्षालाई राज्यले महत्वपूर्ण ढंगबाट आफ्नो दायित्वभित्र राखेकोे देखिँदैन । नेपालमा परम्परागत संस्कृत र बौद्ध शिक्षाको प्रचलन रही रहेको बेला वि.सं १९१० मा दरबार स्कुलको स्थापनासँगै नेपालमा अङ्ग्रेजी शिक्षा प्रणालीको सुरुवात भएको थियो । नेपालमा उच्चशिक्षाको औपचारिक सुरुवात भने वि.सं १९७५ मा त्रिभुवन चन्द्र कलेज (त्रिचन्द्र कलेज) को स्थापनाबाट भएको देखिन्छ । जब आधुनिक शिक्षाको सुरुवात भयो नेपालको शिक्षा विकासको पाठ्यक्रम समय र परिस्थती अनुसार कामको प्रकृतिसंग जोड्न सकीएन । विदेशी शिक्षाको नक्कल त गरियो तर त्यहाँको कामको प्रकृति र यहाँ नेपालमा पाइने कामको प्रकृतिसंग मेल नखाएकोले धेरै मात्रामा शैक्षिक बेरोजगारी सिर्जना हुँदै आयो ।
शिक्षा त राज्यको आफ्नो देशको माग अनुसारको जनशक्ति उत्पादन गर्ने थलो हुनुपर्नेमा खाली मानविकी र शैक्षिक बोरोजगारी सृजना गर्ने खालका संकायमा धेरै विधार्थी भर्ना गर्ने र शैक्षिक बेरोजगार उत्पादन मात्र गरिएको छ । राज्यलाई कुन कुन क्षेत्रमा कति कति रोजगारी चाहिएको छ । ति खालका रोजगारीको लागि कस्तो शिक्षा दिनु पर्छ भन्नेमा ध्यान दिनुको सट्टा वैदेसिक नक्कलमा मात्र ध्यान दिइयो । देशको माटो सुहाउँदो पाठ्यक्रम बनाउने तर्फ ध्यानै गएन । अब प्रत्येक कलेज तथा विश्वविद्यालयले आफूले उत्पादन गरेको शैक्षिक जनशत्तिलाई कामको ग्यारेन्टी गर्नु पर्ने गरी पाठ्यक्रम सुधार देखि देशी तथा विदेशी कम्पनीसंग समझदारी गरी रोजगारी दिलाउने तिर राज्यको ध्यान पुग्नु पर्दछ । राज्यको नीति त्यही अनुसार बनाउनु पर्दछ ।
एउटा विश्वविद्यालयले दिक्षान्त समारोह गरिरहँदा राष्ट्र प्रमुख तथा कार्यकारी प्रमुखको ध्यान प्रमुख अतिथी र विशेष अतिथीजन्य कर्मकाण्डी कुरामा मात्र गएर पुग्दैन । उनिहरुको ध्यान शिक्षा सुधार मात्र नभएर शैक्षिक बोरोजगारी वढ्नुको खोजीमा समेत जान सक्नु पर्दछ । एउटा तहको उपाधी हासिल गरेको दक्ष नागरिकले त्यस ढंगको उत्तरदायित्व बहन गर्न सक्ने र पाउने खालको व्यवस्थापनम राज्यको ध्यान पुग्नु पर्दछ । तब मात्र शिक्षा र शैक्षिक बेरोजगारीको अन्त्य गर्न सकिन्छ ।
देशको जनशक्ति बाहिर गयो भनेर मात्र बस्ने की, किन युवा शक्ति बहिर गयो ? भनेर अध्ययन गर्ने ! त्यो अध्ययन कसले गर्छ ? जबसम्म युग अनुसारको पाठ्यक्रम र त्यही अनुसार रोजगारी सिर्जना गरिँदैन तबसम्म युवा जनशक्ति वाहिर जाने क्रम रोकिँदैन । रेमिटेन्समा मात्र रमाएर देश कहिले विकास गर्न सकिन्छ ? हामी भारतका कलेज तथा विश्वविद्यालयलमा नै भर्ना गर्न गयौँ भने पनि तिनीहरुको मुखपत्रमा देशी तथा विदेशी कम्पनीसंग समझदारी गरी रोजगारी दिलाउने भनेर ग्यारेन्टी गरेको पाइन्छ । हाम्रो आवश्यक्ता परिपूर्ती गर्न, हामीले नगरे कसले गर्ने ? अब त अति भएन र सरकार ! अब नगरे कहिले गर्ने र यहाँ नगरे कहाँ गर्ने ? (लेखकः कीर्तिपुरस्थित राजनीतिशास्त्रका एम्.फिल्.-पी.एच्.डी स्कलर हुन्)









सम्बन्धित समाचार