देशको आर्थिक अवस्था अत्यन्तै खस्किदो छ भन्ने कुराको पुष्टि अहिले बाटोमा हिंड्दै गर्दा देखिने मुख्य शहरका बन्द सटरले प्रमाणित गर्दछ। अहिलेभन्दा एक दुई वर्ष अगाडिसम्म मुख्य मुख्य शहरमा सटर पाउन १५÷२० लाखसम्म खाली सटरलाई पैसा तिरेर बल्ल बल्ल तँछाड मछाड गरि चिनेजानेकाले मात्र भाडामा पाउने गरिन्थ्यो । तर आज अवस्था ठ्याक्कै त्यसको उल्टो भएको छ । अहिले सरसर्ति हेर्दा लगभग देशभर ५० प्रतिशतभन्दा बढी व्यापारिक सटर बन्द भएको आँकाडा काट्न सकिन्छ ।
अहिले आर्थिक संकटका कारण कोही व्यवसायबाटै पलायन भए, कोही विदेश जाने तयारीमा छन् त कोहि साहुको ऋण तिर्न नसकेर थला परेका छन् । अझ योभन्दा पनि अर्को कुरा त बजारको उधारो नउठेर अहिले सबै किसिमका व्यवसायी हैरान भोग्न बाध्य छन् । अहिले चलिरहेका देखिएका व्यवसाय पनि अब केहि समयपछि बन्द हुने अवस्थामा रहेका छन् । अहिले व्यवसाय गरेर उल्टो घाटा खानुको विकल्प नै छैन । अनि घाटा खाई खाई किन व्यवसाय गर्नु भन्ने प्रश्न अहिले सबै व्यवसायीले उठाउने गरेका छन् । अब स्वदेशमा आफ्नै व्यवसाय गरेर समेत बस्ने टिक्न नसकेकाले अधिकांश मानिस विदेश जाने तयारी गरिरहेका छन् ।
तीज, दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्वमा राम्रो व्यापार हुन्थ्यो । तर यसपालि भने यो समयमा पनि बजारमा खासै सोचेको जस्तो चहलपहल हुन सकेन । अहिले जताततै दिन दिनै व्यापार भएन भन्दै पसल छाड्नेको संख्या बढ्दै छ । पसल खोले पनि व्यापार छैन । व्यापारीले भाडा भाडा तिर्न नसकेर घरबेटीलाई चाबी बुझाएर गएका घटना धेरै भैसकेका छन् । कतिले सामान सकाउन घाटामा भए पनि सामान बेचिरहेका छन् । सकेसम्म सबै जना ग्राहक पाउनासाथ आफ्नो व्यवसाय बेच्ने तयारीमा रहेका छन् । अब सरकारले भन्सार छुट दिएर वा ऋण प्रवाह गरेर जसरी भए पनि व्यापार गर्ने वातावरण बनाउनु पर्छ । होइन भने अब देश झन् झन् आर्थिक संकटमा फस्दै जान्छ । त्यसो भयो भने पुनः पुरानो लयमा आउन धेरै समय लाग्छ ।
अहिले यो समय धेरै व्यवसायी नदेखिने तरिकाले आर्थिक गतिविधिको चपेटामा छन् । ०७२ को भूकम्प र अघोषित भारतीय नाकाबन्दीबाट बिस्तार माथि उठ्दै गरेका व्यवसायी ०७६ चैतदेखि कोभिड, रुस–युक्रेन युद्ध, अन्तर्राष्ट्रिय बजारमा देखिएको महँगी र महँगो बैंक ब्याजदरका कारण एकपछि अर्को गर्दै निरन्तर समस्यामा छन । देशमा उत्पादन गर्ने कल कारखाना धेरै बन्द भइसकेका छन् भने बाँकी पनि बन्द हुने तरखरमा छन् । मुलुक आयातमै निर्भर छ । यसो हुँदा बजारमा धेरैजसो वस्तु महँगिएका छन् । जसले गर्दा झन् दिनप्रतिदिन व्यापार–व्यवसाय सुस्त हुँदै छ । ब्यापार नभएपछि आर्थिक गतिविधि सुस्त हुनु स्वभाविक नै हो । कतैबाट पनि आर्थिक गतिविधि नसुध्रिने भएपछि व्यवसायी सटर बन्द गरेर विदेश पलायन हुनुको अर्को कुनै बाटो देखिंदैन । यस्तो क्रम दिनदिनै बढ्दो क्रममा रहेको छ । अहिले दिन दिनै अवस्था विकराल बन्दै गएको छ। दसैं–तिहारपछि बिस्तार सुध्रिएका भन्ने आश थियो तर अवस्था झनै बिग्रदै गयो । अब पनि सरकारले उचित कदम नचाल्ने हो भने यो अवस्था रोकिएला भन्न सकिन्न ।
यो समयमा रोजगार गुम्दै जानु, सहकारीबाट प्रवाह हुने साना साना ऋण रोकिनु, बैंकहरूले लगानी रोक्नु लगायत विविध कारणले व्यवसायी पलायन हुने मुख्य कारण बन्दै गए । आर्थिक मन्दीका कारण एकादुई होइन सबै व्यवसायी समस्यामा छन् । भाडा तिर्न नसकेर उल्टो घाटा लागेर व्यवसायीले बाध्य भएर सटर खाली गरिरहेका छन् । कोभिडकै कारण व्यवसायी समस्यामा थिए । अहिले यो अर्को समस्या थपिँदा कुनै उपाय नभएपछि पलायन हुनुको अर्को बाटो छैन । तर राज्य भने कहिल्यै पनि कसैको संरक्षणतर्फ गएन । बरु उल्टै व्यवसायीलाई नै कसरी हुन्छ मारमा पार्ने खालका क्रियाकलापहरु थप्दै जान थाल्यो । यो यस्तो खालको नितिले आम नेपालीलाई सदा नोक्सानीमा मात्र लैजाने भयो । यो हामी सबैका लागि विडम्बना हो ।
हरेक वर्ष भन्सार दर बढाएर स्वदेशी नेपालका उद्योग, कल कारखानालाई चाहिने कच्चापदार्थ महँगो बनाई टिक्न नसक्ने बनाउने र आयात भन्सार खुकुलो बनाउनाले सरकारको ज्यादती सहन सक्ने अवस्थामा व्यवसायी छैनन् । नेपाल राष्ट्र बैंकले पनि नियमनकारी भूमिका कहिल्यै निर्वाह गरेन । त्यसकारण व्यवसायी संकटमा परेका हुन् । बैंकले मनोमानी ब्याजदर बढाउँदा कहिल्यै हस्तक्षेप भएन । घरबेटीले सटर भाडा मनोमानी असुली गर्दा समेत कहिल्यै कोहि कसैले पनि बोलेनन् । वैज्ञानिक भाडा दर लागू गरिएको भए आज सायद यति बिग्न समयस्या पनि अलि आउने थिएन । प्रत्येक वर्ष १० प्रतिशतले भाडा दर बढाइन्छ । अझ व्यवसाय राम्रो भएको थाहा भयो वा अर्को मान्छे बढी पैसा दिन्छु भनेर आउँदा त बिच बिचमै पनि भाडा बढाउने गरियो । यही कारण भएका टिकेनन् र नयाँ व्यवसायी आउन सकेनन् । पुराना व्यवसायी अहिले अति नै हतोत्साहित छन् । त्यसैले भएका व्यवसायी पलाएन हुने क्रम दिन दिनै बढेको हो । यसलाई रोक्न राज्यले तत्काल केहि न केहि उपाय निकाल्नै पर्छ । होइन भने यसले सा¥है नै अफ्ट्यारो बनाउने निश्चित छ ।
दसैं–तिहारपछि व्यापार ठप्प छ । भाडा तिर्न पनि ऋण खोज्नुपर्ने अवस्था छ । उपत्यकादेखि बाहिर ठूला सहरमा समेत हरेक स्थानमा सटर बन्द भएका छन् । दिन प्रतिदिन व्यापार एकदम धराशायी हुँदै गएको छ। बैंकको ब्याजले व्यवसायी डुबिरहेका छन् । कोरोना महामारीदेखि ओरालो लागेको व्यवसायलाई बैंकको १६ प्रतिशतसम्म ब्याजदर, सटरको चर्को भाडा दर र भन्सार दर बढ्नाले झनै धराशायी बनाएको छ । व्यापार व्यवसाय धराशायी हुँदा चाडपर्वलक्षित आयातसमेत घटेको छ । गत वर्षको तुलनामा २० देखि २५ प्रतिशत वस्तुको आयात घटेको छ । डेढ वर्षदेखि सटर बन्द हुने क्रम बढ्दै गएको हो। तर राज्यले यसको विषयमा कहिँ कतै चासो दिइएको देखिएन । आम व्यवसायीले बैंकलाई ६ महिना थप समय दिन आग्रह गर्दासमेत ३५ दिने सूचना निकालेर सम्पत्ति लिलाम गरिरहेको अवस्था छ। एक करोडको सम्पत्ति राखेर ९÷१० लाख मात्र कर्जा लिँदा समेत समय नदिएर लिलाम गरिरहेका छन् । यस्तो अवस्थामा कसरी व्यापार व्यवसायमा लगानी गर्न व्यवसायी अगाडि आउन सक्छन् त ? यस्तो नकारात्मक कुरामा राज्यले तुरुन्त कार्वाही गरेर अगाडि बढ्न नसक्दा आज यो अवस्था आएको हो ।
पछिल्लो समय आर्थिक कारोबार त्यति नहुँदा पनि घरधनीले भने भाडा बढाएको बढायै छन् । धेरै बन्द भए अरू पनि बन्दको तयारीमा छन् । दसैं–तिहारमा व्यापार बढ्नेभन्दा सटर बन्द गर्नेको ओइरो लाग्यो । सहकारीले दिने स–सानो ऋण बन्द भए , बैंकले पत्याएन अनि बजारमा आर्थिक चहलपहल सुस्ताएको हो । अब राज्यले स्वदेशमा आत्मनिर्भर भएका बस्तु आयातमा तत्काल बन्द गर्ने र स्वदेशमा उत्पादन धेरै हुने बस्तु निर्यातमा निति नियम सहज बनाई निर्यातमा लाग्नु पर्ने समय भएको छ । स्वदेशमा सम्भावना भएका जे जति उद्योग बनाउन सकिन्छ तत्काल बनाउन लाग्ने र सकेसम्म आयात कम गने र सबैलाई स्वदेशी बस्तु मात्र प्रयोग गर्न प्रोत्साहन गर्न सकियो भने पनि अहिलेको आर्थिक मन्दीमा देशलाई धेरै नै राहत पुग्न सक्छ । –नव क्षितिज साप्ताहिकबाट








