टिकटक बन्द गर्दा राम्रो कि नराम्रो भन्ने विषय अहिले यत्रतत्र जताततै चर्चा परिचर्चा छ । कुनै कुरा प्रयोग भइरहेको छ र त्यो अन्यत्र पनि चलिरहेको हुँदा त्यसलाई बन्द होइन नियमभित्र राखी संचालन गर्न सक्दा राम्रो हुनेछ । समस्या आयो भन्दैमा बन्द कुनै पनि कुराको समाधान होइन । समय अनुसार वा देश अनुसार परिवर्तन स्वभाविक हुनसक्छ । तर अहिले सरकारले ति कुनै पनि कुरा मान्न तयार भएको जस्तो लाग्दैन । अहिले टिकटक बन्द हुँदा रँडाको मच्चाउने नेताहरु जनताको दैनिक खानापानी र सास बन्द हुने अवस्था आउँदा समेत कोहि पनि चुईक्क नबोल्नु चाँहि नेताहरुको वास्तविक हैसियत देखिन्छ । बिना कुनै योजना, बिना संघर्ष र लगानी अरूलाई टिकटकमा गाली गरेर भाईरल हुने कुराको बिकृती हटाउन पर्छ भन्ने कुरामा अहिले आम मानिसको समर्थन रहेको बुझिन्छ । रातारात बिना कुनै उपलब्धि भेलुबाजे स्टाइलमा नेता हुन खोज्नेको भने अहिले सरकारको टिकटक बन्दले रूवाबासी सुरू भएकोछ । टिकटक बन्द हुँदा कुनै केहिमा पनि असर नपरेता पनि भइरहेको चलिरहेको कुरा सकभर बन्द नगर्दा राम्रो हुनेथियो।बरु यसलाई अनुगमन गर्ने र नकारात्मक प्रयोग नगर्ने कुरामा सजक हुनुपर्ने थियो ।अरु देशमा मज्जाले चलिरहेको छ र टिकटिकले ति देशको प्रगति र समृद्धिमा कुनै समस्या पारेको छैन भने हाम्रो देशमा चाँहि किन बन्द गर्नु परेको होला भन्ने जिज्ञासा भने अहिले आम मानिसमा रहेको छ ।
कसले बन्द ग¥यो ? किन बन्द ग¥यो भन्ने कुराको वास्तविकता नै नबुझी बिरोधका लागि बिरोध गरेर जिम्मेवार दलका जिम्मेवार नेताहरुले गरेको पोष्ट र उनीहरूले दिएको सार्वजनिक अभिव्यक्ति सुन्दा आम जनतालाई अबको नेतृत्वले के गर्ला र के कुरा बुझेका रहेछन् त भन्ने कुराले उदेक लागेको हुनुपर्छ । के सामाजिक संजालबाट सामाजिक संजालले मात्रै चुनाब जिताएको हो त ? यदि त्यसो हो भने सामाजिक संजालमा इस्टन्ट गरेर मात्रै स्थापित भइन्छ भन्नु पूर्णरुपमा भ्रम र मुर्खता हो । यो टिकटकको बिषय भनेको यत्तिको गरि बिरोध गर्नु पर्ने विषय नै होइन । यसले न कोहि कसैको घरै बिगारेको छ त न कुनै अन्य कुरा नै बिगारेको छ। यो त एउटा सामाजिक संजालको माध्याम न हो । त्यहि पनि अरु धेरै सामाजिक संजालका माध्यम बाँकी नै छन् । सबै एकैपटक बन्द भएका पनि होइनन् । बन्दपछि तत्काल हल्का टिकाटिप्पणी अझ अल्टिमेटम टाइपको स्टाटस जिम्मेवार पार्टीका जिम्मेवार नेताको आउनु भनेको चाँहि विलकुलै सुहाउँदो कुरा भएन ।
“टिकटक“ समृद्धि अभिव्यक्ति स्वतन्त्रता र उन्नत लोकतन्त्रको पहरेदार बन्नु पर्नेमा अनावश्यक टिका टिप्पणीमा सिमित रह्यो । अरुको नकारात्मक कुरामा बडवा दिने, ब्याङ्य गर्ने, गाली गलोज गर्ने जस्ता गतिविधि गरेका कारण पनि सरकारले यसलाई बन्द गर्न खोजेको हुनुपर्छ । तर फेरि पनि बन्द नै यसको निकास भने कतापि होइन । राजनैतिक पद्धतिमा लोकतन्त्रलाई महत्व नदिने चिनले के यो कुराको अनुसरण नबुझेर गरेको होला त ? हाम्रो लोकतन्त्रको जग चाइनिज एप टिकटकमा टिकेको छैन र होइन पनि भनेर नेताहरुले र समाजका अग्रजहरुले बुझ्न आवश्यक छ । टिकटिक बिना चल्नै नसक्ने र खतरा नै हुने गरि हाम्रो देशका राजनितिक पार्टी र नेताहरु त्यति कमजोर पनि त छैनन् ।
विश्वका धेरै विकसित देशहरू भारत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा,नर्वे,न्यूजिल्याण्ड, डेनमार्क लगायतका देशमा टिकटक अहिले पनि प्रतिबन्धित अबस्थामा छ । त्यहाँ उन्नत लोकतन्त्र मात्र छैन देश र जनता उन्नतिको शिखरमा पुगेका पनि छन् । यहाँ हाम्रो देशमा सहि र सहज तरिकाले कोहि कसैलाई अफ्ट्यारो नपर्ने गरि चलाउनु पर्नेमा अनावश्यक अरुको बारे नकारात्मक गतिविधि गर्ने र आफ्नो दैनिक कामै बिगारेर टिकटकमा लाग्दा धेरैको जिवनमा समस्या पनि ल्याएको देखिन्छ । आफ्नो काममा मन नलगाई टिकटिकमा लाग्ने र एकोहोरो भएर निकै समस्या निम्त्याउनेहरु पनि थुप्रै छन् । तिनको लागि भने सरकारले गरेको निर्णयले न्याय गरेको छ । तर पÞmेरि दुरदराजमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउन टिकटक एउटा राम्रो माध्यम भएको थियो । तिनको लागि भने टिकटक बन्द हुनाले असर परेको मान्न सकिन्छ । धेरै मान्छेले टिकटककै कारण आफ्नो राष्ट्रिय पहिचान बनाएको पाइन्छ । धेरैको यो दैनिक रोजिरोटीको माध्यम नै बनेको पनि थियो । नकारात्मक कुराको मात्र होइन यि सबै कुराको राम्रोसँग छलफल गरि बल्ल निर्णयमा पुग्दा राम्रो हुने थियो भन्ने कुरा आम जनताको छ ।
टिकटकले परिवारका महिला र बालबालिकामा परेको नकारात्मक असर र प्रभाब निकै ठूलो छ । समाजमा धेरैका श्रीमतीहरू र छोरी चेलीहरू बिग्रेको अबस्था छ। अरुको देखासिकी, छाडापनले गर्दा कयौंको घरमा सम्बन्ध बिछोड र पारिवारिक कलह नै जन्मेको देखिन्छ । अहिले क्षणिक वाहा वाहा पाउनको लागि र युवायुवतीको मन जित्नलाई टिकटिक बन्दको निर्णय फिर्ताको माग गर्दै विरोध गर्दा त क्षणिक फाइदा देखिएला तर दिर्घकालिन असर र प्रभाबलाई शान्त मनले केलाउने हो भने बिना निगरानी परिवर्तन नगरि यहि अवस्थामा छोड्ने हुँदा चाँहि यो टिकटिक बन्द गर्ने निर्णय नै सहि मान्नुपर्छ ।
हामी कतिसम्म छौँ भने आफूले वास्तै गर्न नपर्ने कुरामा पनि टिकाटिप्पणी गरिहाल्ने बानीले टिकटकलाई अहसजिलो भएको हो । हाम्रो देशमा आफ्नो लगभग आधा जिवन नै जेलनेल र निर्वासनमा बसेर खुट्टाको पैताला खुइलाएर नेतृत्व तहमा पुगेको राजनितिक नेतृत्व जिबित छ । हल्का रुपले सामाजिक संजालमा स्टन गरेर राजनीति गर्ने कुरामा हाम्रो समाजमा पत्याउन अलि गा¥है छ । रातारात भाईरल हुने अनि गाली गलौज गनें माध्याम नबनोस सामाजिक संजाल भन्ने कुरा सबैको मनमा छ । तर यहाँ त्यसको ठिक बिपरित अनावश्यक रुपले टिकाटिप्पणी गर्ने र अरुलाई नराम्रो भन्ने तिर बढी प्रयोग भयो । सामजिक संजालको महत्व कोभिड १९ मा शिक्षण सिकाईको राम्रो माध्याम बनेको समयमा निकै नै राम्रो थियो। तर आज सामाजिक संजाल ठिक कि बेठीक भनेर एउटा पनि बहस गरेको पाइदैन। अब यो बहस हुन जरुरी छ । कामकाज केहि नगर्ने, कसैलाई नचिन्ने , कसैको घरमा नपुग्ने र सामाजिक बन्न नसक्ने तर आज टिकटक र सामाजिक संजालका फ्यानका आधारमा कर्म नगरि नेतृत्व पट्काउने सोच राख्नु गलत हो । यस्ता कुराबाट हामी सबै मुक्त हुन जरूरी छ ।
मनमा कुनै डर र स्वार्थ नजोडिएपछि ठिकलाई ठिक भन्न, राम्रोलाई राम्रो भन्न र सुधार गनें कुरालाई सुधार गर्दै अगाडि बढ्न हिम्मत गर्नुपर्छ । हामी कुनै पनि कुरा बन्द गरेर समस्याको हल हुन्छ भन्नु मुर्खता हो । बरु कहाँ कसरी के के परिवर्तन गर्नु पर्छ गरेर राम्रोसँग निगरानी गरि कानुनको दायराभित्र राखी बन्द गर्नुभन्दा संचालन गर्न दिँदा राम्रो हुनेछ। यस विषयमा सम्बन्धित निकायको विशेष ध्यान जान आवश्यक देखिन्छ ।