नमोबुद्ध नगरपालिकामा अवस्थित श्री जनक माध्यमिक विद्यालय, जनक बहुमुखी क्याम्पस, नमोबुद्ध नगर पतञ्जली योग समिति, भकुन्डेबेसी जेसिजको आयोजनामा
लोक सँस्कृतिको संरक्षण गर्ने, नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने र सो कार्यक्रमबाट संकलन हुने रकम गत कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको बिनासकारी भूकम्पबाट पीडितहरुलाई राहत सहयोग उपलब्ध गराउने अभिप्राय सहित कार्तिक २७ र २८ गते बृहत् देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ ।

कार्यक्रममा जनक माध्यमिक विद्यालय तथा जनक बहुमुखी क्याम्पसका विद्यार्थी कलाकारहरुले देउसी भैली गीत तथा नृत्य, साकेला नृत्य, सोरठी नृत्य, धिमे नृत्य, तामाङ सेलो, लगायतका लोकसाँस्कृतिक झाँकीहरु प्रस्तुत गरेका थिए । यस्तै पतञ्जली योग समितिबाट योग गरौँ, ध्यान गरौँ स्वस्थ बनौ भन्ने नाराका साथ विभिन्न लोकसाँस्कृतिक गीत तथा नृत्यहरु र खैँजडी भजन प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रम नमोबुद्ध नगरपालिका वडा नं. २ चिस्यान बुचाकोट, नमोबुद्ध नगरपालिका वडा नं. ७ नौविसे र भकुन्डे बजारमा सञ्चालन गरिएको थियो । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुनसाङ लामा लगायत सबै वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । देउसी भैलो तथा साँस्कृतिक कार्यक्रमबाट जम्मा १६ लाख १५ हजार नगद संकलन भएको थियो । संकलित रकमबाट जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित समुदायका बालबालिकाहरुका लागि सहयोग जुटाउने योजना रहेको कार्यक्रम संयोजक हरिहर अधिकारीले बताउनु भयो ।