हामी सबै नेपालीले कुनै न कुनै रुपमा दशैं मनाएकै हुन्छौं । कसैले टीका जमरा लगाएर त कसैले घुम्न गएर वा घरमा आनन्दले बिदा मनार मनाउने गरेका हुन्छौं । यो हाम्रो देशको राष्ट्रिय पर्व पनि हो । यो समयमा सबैजना जहाँ जसरी भए पनि आ(आफ्नो मुल घरमा पुग्दछन् । सबै परिवार भेटघाट गरि रमाइलो गर्दछन् । दशैलाई विजया दशमी पनि भन्ने गरिन्छ । कसैकसैले यसलाई राम र रावणको युद्धसँग तुलना गरी रामले रावणमाथि विजय प्राप्त गरेकोले खुशियाली स्वरूप यो दशैं मानिएको भन्ने भनाई पनि छ । जहाँ जसले जे नै भने पनि र जे गरेर मनाए पनि दशै हाम्रो महान चाड हो ।

दशैँ भन्ने वित्तिकै विशेष गरि हिन्दु धर्मावलम्बिहरुको महान चाड हो भनी बुझिन्छ । यो पर्वमा नेपालीहरुले घरमै खसी बोका काटेर मासु खाने, पिङ खेल्ने, रमाईलो गर्ने, आफूभन्दा ठूलाबडाको हातबाट टाढा टाढा आफन्तहरुकोमा गइ टिका लगाउने गर्दछन् । दशैंलाई अनेकौं तरिकाले ब्याख्या गरिएको हुन्छ । तर जहाँ जसले जसरी व्याख्या गरे पनि यो नेपालीहरुका लागि एक महान राष्ट्रिय पर्व हो। गाउँघरका मानिसहरूले दश महिनासम्म खेतबारीमा खेती, किसानीको काम गर्छन् । यसरी दश महिनासम्म काम गर्दा कहिले कहिँ काम गर्ने मानिसलाई आराम र मनोरञ्जन पनि चाइन्छ । त्यसो नगरे स्वास्थ्य विग्रन्छ र बिरामी पर्ने हुन्छ । दश महिना काम गरेर प्रकृति ९धर्तीमाता० र प्रत्यय ९जिवात्मा मुनष्य० ले विश्राम लिने अवसरको रूपमा पनि दशैंलाई लिने गरेको पाइन्छ ।
यसबेला कसैले पनि खेतबारीमा खेतीपाती लगाउँदैनन् । यो समय लगाएको अन्नबाली फुल्न, फल्न र पाक्न सुरु भएकोहुन्छ। यति बेला यो समय प्रकृतिले पनि विश्राम लिएको हो भन्ने पनि गरिन्छ । ऋग्वेदकालमा दशैंलाई ‘वसन्त सम्पात’ भनिन्थ्यो । इतिहासको कालखण्ड अनुसार दशैंको नाम पनि फरक–फरक हुँदै आएको भन्ने सुन्दै आएका छौं ।

दशैंको शुरूवातमा विभिन्न देवी देवताको भक्ति र पितृ पूर्वजहरूको श्रद्धा गरिने चलन छ । दुर्गतीलाई नाश गरी शक्तिको उपासनाको लागि नवदुर्गाको पूजा गरिन्छ भन्ने चलन छ । यसै समय नौ दिनसम्म शक्ति सञ्चयको लागि नवरत्नको पनि पूजा गरिन्छ । यसलाई नवरात्री पनि भनिन्छ । नौ दिनसम्म देशभरका शक्तिपिठमा पुजाआजा गरिन्छ । प्रत्येक घरमा जमरा राखिन्छ र नौ दिनसम्म निरन्तर पुजा गरिन्छ । दश दिनका दिन पुजा गरि दशमीको प्रसाद स्वरुप टीका जमरा लगाइन्छ । यो क्रम कोजाग्रत पुर्णिामाको दिनसम्म गरिन्छ र अन्तिम दिन खोलामा लगि सेलाउने चलन छ । सोह्र श्राद्ध आफ्नो पितृ ९पूर्वज० हरू प्रति गरिने श्रद्धा हो । हामीले आफ्नो पूर्वजहरूको संस्मरणको लागि श्राद्ध गर्दछौं । श्राद्ध ब्राम्हण क्षेत्रीले मात्र हैन, राई, लिम्बु लगायतका सबै जातिले गर्दछन् । क्षेत्री, बाहुनले गर्नेलाई मात्र श्राद्ध भनिदैन । श्राद्ध वार्षिकी र दैनिकी गरी दुई किसिमका हुन्छन् । आफ्नो पितृहरूको संझनामा वर्षको एकपल्ट गरिने सोह्र श्राद्ध जस्तै श्राद्ध वार्षिकी हो । खानु, पिउनु, सुत्नु, हिड्नु, नुहाउनु आफ्नो दैनिक पलपल, क्षणक्षणको नित्यकर्म गर्नु दैनिकी श्राद्ध हो । श्राद्ध नगरी कोही पनि बाँच्न सक्दैनन् । मान्छे मरेपछि मात्र श्राद्धको अन्त्य हुन्छ ।

दशैंमा विभिन्न रातो, पहेंलो, हरियो, सेतो रङ्गको टिका अनि जमरा निधारमा लगाउछौं । यसरी विभिन्न रङ्गको टिका र जमरा किन लगाउँछौ भन्दा मान्छेले धर्तीमा खेती लगाउँदाका सात रूप हुन्छन् । धर्ती माताले उपार्जन गरेको अन्नबाली, साग सब्जी खाएर र ओखतीमूलो गरेर मान्छे बाँचेका छौं । धर्ती माता माथि नै फोहोर–मैला गर्छौं । ज्यादै कष्ट पनि दिन्छौं । यसको बदलामा पृथ्वी मातालाई मानिसले के कुराले स्वागत र सम्मान गरौं त भनेर रातो, सेतो, पहेलो, हरियो गरी विभिन्न रङ्गको टिका र जमरा केही घण्टा, केही दिन भए पनि लगाएर पृथ्वीमाताको स्वागत, सत्कार र श्रद्धा गर्न टिका र जमरा लगाइन्छ भन्ने भनाई छ ।

टिका लगाएर मान्यजनकहाँ टिका लगाउन आउने–जाने गरिन्छ । यसको अर्थ सानोले ठुलालाई आदर, सत्कार गर्नु, मान सम्मानगर्नु र ठूलाले सानालाई आशिर्वाद दिनको लागि हो। हामीले पनि आदर, सत्कार, मान सम्मान गर्न र आशिर्वाद दिन जान्नु पर्दछ । यस बारे बुझ्नु पर्दछ । दशैं आयो भनेर नयाँ लुगा लगाउने, वर्षभरि सफा नगरेको घर–आँगन, बाटो, पँधेरो सफा गर्ने गरिन्छ । यो हाम्रो संस्कार र परम्परा हो । तर आजकाल मानिसहरुले यि र यस्ता सकारात्मक कार्यहरु गर्न छोड्दै गएका छन् । यो बिल्कुल गलत हो । हामीले हाम्रो धर्म, संस्कृती र परम्परा जोगाउन सकेनौं भने हामी हरेक कुरामा पछाडी पर्दछौं ।