हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड तीज हो। यो चाड ४ दिनसम्म मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान एवं मनोरञ्जन गर्ने गरिन्छ। गणेश चतुर्थी र ऋषिपञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइने गरिन्छ। हरितालिका तिज शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ ।

नेपाली हिन्दू महिलाहरूद्वारा मनाइने तीज चाड अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि उत्तिकै हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व विषेश गरि नेपाल र भारतमा मनाइन्छ भने हिन्दु धर्म मान्ने महिलाहरुले अन्य देशमा पनि मनाइन्छ। यो चाड मनाउनको लागि विभिन्न भनाई एवं किम्वदन्ती छन् ।

श्रीमद्भागवत महापुराणको अर्को प्रसङ्गअनुसार भाद्र कृष्ण अष्टमीको दिन भगवान् श्रीकृष्णको जन्म भयो । श्रीकृष्णको जन्मभएको ११औं दिन अर्थात् नामकरणको दिन गोकुलका गोपगोपिनीहरूले बाजागाजाका साथ नाचगान गरी खुसियाली साटासाट गरे । यही पौराणिक प्रसङ्गसँग जोडिएर नै तीजमा महिलाहरूले नाचगान गर्ने परम्पराको थालनी हुन पुग्यो ।

अर्को भनाई अनुसार भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत बसेको भनाई छ । त्यो दिन यहि हरितालिका तिजको दिन थियो र त्यो दिनलाई आजसम्म मनाउँदै आइएको छ ।

यो चाडमा माइतीले छोरी÷चेली लाई घरमा बोलाएर मीठा–मीठा परिकार ख्वाउँने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा बसेर खाने चलनको रुपमा रहेकोछ। यसरी हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन्। यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको भन्ने कुरा पनि मानिन्छ ।

तीजको भोलिपल्ट भाद्र शुक्ल चतुर्थीको दिन पर्ने गणेश चौथी विश्वभरिका हिन्दु धर्मावलम्बीले शिवपुत्र भगवान् गणेशको आराधना गरी मनाउने गर्छन् । यस दिन नेपालको कार्यविनायक, सूर्यविनायक, कमलविनायक आदि गणेशका मन्दिरहरूमा भगवान्को आराधना गर्न भक्तजनहरूको भीड लाग्ने गर्छ । कतैकतै यस दिनदेखि अनन्त चतुर्दशीसम्म दश दिन गणेशोत्सव मनाउने चलन पनि रहेको पाइन्छ । नेवार समुदायमा पनि यो पर्व चथाःको नामले प्रसिद्ध छ । स्कन्द पुराणअनुसार यस दिन भगवान् गणेशको जन्म भएको थियो । हिन्दु धर्मावलम्बीहरूले यस दिन आफ्नो जीवनमा कुनै विघ्न नआओस्, र आफूले आँटेको कार्य सिद्ध होस् भनी गणेशको पूजा गर्ने गर्छन् ।

तीजको अर्को महत्वपूर्ण दिन चतुर्थीको दिन पर्ने गणेश चौथी पनि हो । यो दिन विश्वभरिका हिन्दु धर्मावलम्बीले शिवपुत्र भगवान् गणेशको आराधना गरी मनाउने गर्छन् । यस दिन नेपालको कार्यविनायक, सूर्यविनायक, कमलविनायक आदि गणेशका मन्दिरहरूमा भगवान्को आराधना गर्न भक्तजनहरूको भीड लाग्ने गर्छ । कतैकतै यस दिनदेखि अनन्त चतुर्दशीसम्म दश दिन गणेशोत्सव मनाउने चलन पनि रहेको पाइन्छ । नेवार समुदायमा पनि यो पर्व चथाःको नामले प्रसिद्ध छ । हिन्दु धर्मावलम्बीहरूले यस दिन आफ्नो जीवनमा कुनै विघ्न नआओस्, र आफूले आँटेको कार्य सिद्ध होस् भनी गणेशको पूजा गर्ने गर्छन् । त्यसै गरि यश दिन फलफूल विषेश गरि काँक्रो चोरेर खाने पनि चलन रहेको छ ।

आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा पनि यो तीजलाई लिइने गरिन्छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ ।

महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्ने गर्छन् भने अविवाहित महिलाले सुयोग्य वरको आशा राखी व्रत बस्ने गर्दछन। ब्रतको समयमा महिलाहरूले तीजको ब्रत कथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ। तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ। पहिलो दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ ।

धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको तीज पर्वले पुरुषप्रधान देश नेपालमा घरभित्र मात्रै खुम्चिएर बस्ने महिलाहरूलाई बाहिर निस्कन प्रेरित गर्ने र आफ्ना पीरमर्का अरुसमक्ष राख्ने मौका दिने भएकाले यसको सामाजिक महत्त्व पनि त्यत्तिकै छ ।
तर आजभोलि तिजको नाममा अनगिन्ती बिकृती भित्रिएका छन् । एक महिना अगाडिबाट दरका नाममा भोज खाने, अरुलाई देखाउनका लागि अनावश्यक रुपमा तडकभडक हुने गरि गरगहना र लुगाकपडा लगाउने, अनावश्यक देखावटी गर्ने र आफ्नो धर्म संस्कृतीको केहि मत्लब नै नगरी लहलहैमा विभिन्न कार्यक्रम आयोजना गरिने गरिएकोले पनि अफ्ट्यारो पर्न गएको छ । अब समयमै हामी सबैले यसको महत्व बुझि अनावश्यक कुराहरु गर्नबाट रोक्न पर्दछ । –नव क्षितिज साप्ताहिकबाट