जुन सुकै संघ संस्था वा सबै प्रकारका कार्यालयले एक वर्ष सम्म गरेको वा गर्ने कामको आर्थिक अभिलेखिकरण आर्थिक वर्ष ०७९÷८० सम्पन्नको चरणमा छ । केहीले वार्षिक खाताबन्दिको काम सके भने केहीले सरकारले थपेको समय सिमामा गरिसक्ने गरी काम गरिरहेका छन् ।
विगत जस्तै यो साल पनि आर्थिक वर्षका हिसाबले सुखद रहन सकेन । यो आर्थिक संकटले सरकार र नागरिक दुबैलाई सहज हुन दिएन । देशको अर्थतन्त्र विगत भन्दा झन् कम्जोर बन्दै गयो । केही अपबाद बाहेक सबै प्रकारका उद्योग व्यवसाय फस्टाउन सकेनन् । सरकारले पनि त्यस प्रकारका व्यवसायीलाई प्रोत्साहन गर्न सकेन । देशमा जारी वित्तिय संकटका कारण साना वित्तिय संघसंस्थाले आफ्नो कारोबारलाई व्यवस्थित गर्न सकेनन् । प्रायजसोको लगानी गरिएको ऋण तत्काल उठ्न सक्ने अवस्था छैन । सदस्यले विगतमा गरेको बचत अहिले धमाधम फिर्ता भैरहेको छ । यो क्रम अझै केही महिना चल्ने अवस्थामा छ । यस विषयमा सरकार वा उसका कुनै पनि निकायले गंभिर भएर छलफल गरौं र निकास निकालौं भनेर काम गर्न समेत सकेको छैन । देशमा यो अवसथा आउँदा समेत सरोकारवाला निकायले पहलकदमी लिन नखोज्नुका पछाडी केही कारण छ भन्ने शंका गर्ने आधार बनेको छ ।
बजारबाट पूँजी हराउँदा आर्थिक सूचकको सुई उल्टो घुमिरहेको छ । यतो परिस्थिति आउनु र समयमै सम्बोधन नहुनु दुर्भाग्यपूर्ण अवस्था हो । देशमा यो अवस्था आउनु अगाडी नै सम्बोधन गर्न सक्नु पर्दथ्यो । अहिलेको यो नकारात्मक असरका कारण पूँजी परिचालन हुन सकिरहेको छैन । जनताको दैनिक रुपमा आवश्यक पर्ने खाद्यान्न लगाएतका वस्तुहरु बाहेक अन्य सामाग्री खरिद गर्ने सक्ने आर्थिक हैसियत अत्यन्तै कम्जोर हुँदै गैरहेको छ । ठुला प्रकारका भुक्तानीलाई बंैकले समेत एकैपटकमा भुक्तानी दिन सक्ने अवस्था छैन । बैंकहरुले एक बैंकबाट अर्काे बैंकमा रकम स्तान्तरण गर्न सक्छ तर नगदै प्रबाह गर्न सक्ने अवस्था छैन । कुनै पनि व्यक्ति वा संघसंस्थाले प्रत्यक्ष वा नगदै बुझाउनु पर्ने अवस्था आयो भने बैंक तथा वित्तिय संसथाले त्यसबेला के गर्ने ? यसको जवाफ सम्बन्धित निकायले कहिले दिन्छ ? देशको वित्तिय अवस्था कम्जोर बन्दै गएको झण्डै एक वर्ष पार हुन लागेको छ तर पनि यो समस्याको सम्बोधन हुन सकिरहेको छैन, किन ?
नेपालको कुल जनसंख्याको झण्डै सत्तरी प्रशित व्यक्ति साना वा ठुला प्रकारका वित्तिय संस्थाको पहँुचमा छन् । हरेक व्यक्ति कुनै न कुनै कारणले वित्तिय संस्थासंग जोडिएको हुन्छ । त्यहाँ लेनदेनका कारोबारहरु नियमित भैरहेकै हुन्छ । हाम्रो देशमा भने वित्तिय संघसंस्थासंग कारोबार धन धेरै हुनेले गर्छ, कि त कम हुनेले गर्छ । यो स्वभाविक हो । हुनेले आफ्नो सम्पत्तिको सुरक्षाका लागि गर्छन् भने नहुनेले आफ्नो जायजेथा जे छ त्यसलाई व्यवस्थापन गरेर ऋणको माध्यमबाट व्यापार वा व्यवसाय संचालन गर्छन् । व्यापार, व्यसाय वा उत्पादनमा जोडिनु धेरै राम्रो कुरा हो । विगतको तुलनामा अहिले आएर आफुसंग भएको थोरै रकममा अलिकति ऋण नै गरेर भए पनि समान्य खालकै भए पनि व्यवसाय संचालन गरेर सकेसम्म आफै आत्मनिर्भर हुने चलन बढेको छ । यो असाध्यै राम्रो कुरा हो । त्यसैको प्रभावले पनि त हुन सक्छ अहिले सहरदेखि गाउँ–गाउँमा समेत साना वा मझौला प्रकारका व्यवसायहरु खुलिरहेका छन् । हरेक व्यक्ति स्वरोजगार बन्नु र आफुलाई आर्थिक रुपमा सम्पन्नतातिर लैजानु धेरै राम्रो पक्ष हो । हरेक व्यक्ति आर्थिक रपमा सम्पन्न हुनु भनेको देश नै सम्पन्नता तिर जानु हो, तर अहिलेको वर्तमान अवस्थामा एकाध बाहेक अन्य व्यवसायहरु पूँजीको अभावका कारण व्यवसायीक गतिविधि मन्द हुन पुगेका छन् भने केही त बन्द हुने अवस्थामा समेत पुगिसकेका छन् । यिनिहरुबाट राज्यले जे जसरी कर लिन्छ त्यसै गरी संरक्षण गर्नु पनि राज्यकै दायित्व भित्र पर्दछ ।
यतिखेर देशको अर्थतन्त्र कम्जोर हुँदा उद्योग, व्यापार तथा व्यवसायको अवस्था खस्किएको छ । दैनिक जिवनसंग जोडिएका व्यवसाय बाहेक अन्य प्रकारका व्यवसायहरु धारासायी अवस्थामा पुगेका छन् । वित्तिय संस्थाबाट ऋण लिएर चलाईएका व्यबसायीहरुलाई त व्यवसाय राम्रोसंग चल्न नसक्दा किस्ता तिर्न त परै जावस व्याज तिर्न समेत धौ धौ परेको छ । नेपालको प्रचलित कानुनी व्यवस्था अनुसार असार मसान्तलाई एक वर्षभरीको कार्यावधि मानिन्छ । वर्षभरीमा ११ महिना राम्रो काम गरेर मात्र १ महिना कुनै कारणले रोकियो भने त्यसलाई राम्रो मानिदैन । यो अचम्मको व्यवस्था कानुनमा छ । हरेकजसो व्यवसायीहरुले ऋण लिएरै व्यापार व्यवसाय गरेका हुन्छन् । त्यसो त हरेक व्यवसायीले तिरेको जुनसुकै रकमबाट सरकारलाई पनि फाईदा त पुगेकै हुन्छ । तर सबै संघसंस्थाले ऋण्ीा सदस्यको आर्थिक अवस्था हेरेर के के गर्न सकिने हो, त्यो चै गर्न सक्नु पर्दछ । ऋण उठाउनकै लागि ऋणीलाई मानसिक रुपमा तनाव दिदा कुनै कारणले ऋणीले तनाव सहन नसकेर गलत बाटो राज्यो भने त्यसको जवाफ कस्ले दिने ? अहिले बजारमा सहज ढंगबाट सरसापट तथा ऋण समेत पाईंदैन तर मिटर व्याजीहरु प्रसस्त मात्रामा हातमा पैसा बोकेर बसेका छन् । बैंक तथा वित्तिय संस्थाहरुले अत्याधिक तनाव दिईएका कारण केही ऋणीले त्यही पैसा भए पनि चलाउँछन् र तिर्न नसक्ने अवस्थामा पुगेपछि त्यसैका कारण जीवन वर्वाद गर्न सक्ने अवस्थामा समेत पुग्न सक्छन् । ऋणीको जीवन रहे ऋण उठ्छ तर जीवननै रहेन भने सबैपक्षलाई गार्हो हुन्छ । त्यसैले वित्तिय क्षेत्रले आफ्ना ऋणीलाई आवेगमा हैन, विवेक पु¥याएर ऋणको कारोबारलाई व्यवस्थापन गर्नु बुद्घिमानी हुने छ ।
यो ससार मसान्तको समय निक्कै चुनौतीको समय हो । यस्तो बेलामा वित्तिय संस्था र ऋणी दुबैलाई सहज हुने बाटोबाट काम गर्नु बुद्धिमानीे हुन्छ । अहिले देशकै अर्थतन्त्र डामाडोलको अवस्थामा पुग्दा सामान्य काम गरेर खाने नागरिकको पेशा र व्यवसाय खोसिन्छ । यसले तल्लो र निम्नस्तरको मान्छेलाई बढि प्रभावित पार्दछ । केही बैंक र वित्तिय संस्था एवं सहकारीले आफ्ना ऋणी सदस्यलाई ऋण तिर्न बाध्य पार्दा ऋणी घरमै बस्न नसकेका खबरहरु बाहिरिएका छन् । यो अवस्था आउनु पक्कै पनि राम्रो कुरा हैन । यो परिस्थितिले पछि सबैलाई झन अफ्ठेरो पर्न जान्छ । समयमै समस्याको समाधान खोजौं निराकरण गरौं ।