गत सोमबार मूलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १६ औं गणतन्त्र दिवस । यस पावन अवसरमा सम्पूर्ण पाठक, आदरणिय आमा–बुवा, दाजुभाई तथा दिदि–बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना शुभकामना व्यक्त गर्दछु । यो दिवसको सन्देशले हरेक नेपाली नागरिकले काम गरेर खान पावस । शिक्षा, स्वास्थ्य र रोजगारीको ज्ञारेण्टी गरोस ।
कम्तिमा नेपाली जनताको आधारभूत आवश्यक्ता सरकारले पुरा गरोस । हाम्रो देशमा गणतन्त्र फाप्ने संकेत त राम्रो देखिएको छैन तथापी देशभर विभिन्न कार्यक्रम सहित हर्षाेल्लासका साथ गणतन्त्र दिवस मनार्इंदै आईएको छ । यो अवसरमा एकले अर्काेलाई बधाई तथा शुभकामना दिंदै देशमा गणतन्त्र दिवस संस्थागत होस भन्दै पनि अन्यलाई शुभकामना दिएर पनि मनाईन्छ । यस अवसरमा सरकारले आजका दिन सार्वजनिक विदा पनि दिदै आएको छ ।
नेपालमा गणतन्त्रको स्थापना २०६५ साल जेठ १५ गते भएको हो । त्यस अगाडिसम्म नेपालमा राजतन्त्रात्मक शासन व्यवस्था थियो । गणतन्त्र स्थापना भए पछि सर्वसाधारण जनताबाट राष्ट्र प्रमुख हुने व्यवस्था रहेको छ । त्यसैले जेठ १५ गतेका दिनलाई गणतन्त्र दिवसको रुपमा विभिन्न कार्यक्रहरु गरेर मनाईने गरिएको छ । यो दिवसले जनताको वर्षाैं देखिको त्याग र वलिदानको स्मरण गर्दै जनता प्रति उत्तरदायी हुन सिकाउँछ । गणतन्त्र भन्ने शब्दले जनताको राज्य भन्ने जनाउँदछ । गणतन्त्र यस्तो व्यवस्था हो जहाँको शासन व्यवस्थामा सैद्धान्तिक रुपले देशको सर्वाेच्च पदमा आम जनताबाट कुनै पनि एक व्यक्ति पदासिन हुन सक्छ । यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ । राज्य संचालन गर्ने व्यवस्थाहरु मध्येको पनि उत्तम व्यवस्थालाई गणतन्त्र भन्ने गरिएको छ । ‘लोकतन्त्र’ अथवा ‘प्रजातन्त्र’ गणतन्त्र भन्दा फरक हुन् । लोकतन्त्र त्यस शासनतन्त्रलाई भनिन्छ जहाँ वास्तवमै सामान्य जनता वा तिनको बहुमतको ईच्छाले शासन चल्ने गर्दछ । आज विश्वका धेरै देशहरु गणराज्य भएका छन् । साथै धेरै देशहरुमा लोकतान्त्रिक व्यवस्था पनि छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । नेपालमा गणतन्त्रको शुरुवात भएको डेढ दशक पुरा भएको छ । त्यस अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुने गर्दथे । वि. सं. २०६२–६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधान अनुरुप सम्पन्न संविधानसभाको निर्वाचन पश्चात गठन भएको संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते राजतन्त्र उन्मुलन गरी गणतन्त्रको स्थापना गर्याे । २३८ वर्षे लामो शाह वंशिय राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसको रुपमा मनाउँन थालिएको हो । गणतन्त्र दिवस जे जसरी मनाए पनि जनताको न्यूनतम आवश्यक्ता पुरा हुने वातावरण बनाउँनु अहिलेको मूख्य काम हो । व्यवस्था जुनसुकै आए पनि जनताको जिवनमा त्यस्को कुनै प्रभाव पर्दैन भने त्यो व्यवस्थाको कुनै औचित्य पनि रहदैन ।
केही दिन अगाडि सरकारमा सम्मिलित दलहरुको तर्फबाट सरकारले एक आर्थिक वर्षसम्म गर्ने कामको सिलसिला नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । त्यस विषयमा संसदमा पक्ष र विपक्षमा चर्काचर्की बहस पनि चलिरहेको छ । अहिले मुलुक आर्थिक रुपमा विगतमा भन्दा कम्जोर भएको छ । सरकारले विगतमा गरेको प्रक्षेपण असफल भएको छ । गत वर्ष छुट्टयाईएको योजनाका बजेटमा रकम कटौती गरिएको छ । राज्यको बजेट अलि अलि कम्जोर हुंदा स्विकृत योजनार बजेट त काटिएको छ भने यस वर्ष विगतको तुलनामा देशको कुल बजेट नै धेरै कम अर्थात कम्जोर छ । तर नीति तथा कार्यक्रम भने असाध्यै महत्वकांक्षी र सफल पार्न नसकिने प्रकारका धेरै छन् । राज्यसंग बजेट कम भएको बेलामा ठूला योजना बनाउँनु भनेको काम गर्नै सकिदैन भन्ने संकेत हो । चिप्ला र राम्रा नारा दिएर कागजमा योजना बनाउँने तर कार्यान्वयन गर्न नसकेको धेरै भयो । कागजमा सयौं योजना बन्छन् तर ति कहिल्यै पनि प्राथमिकतामा पर्दैनन् । परिहाले भने पनि छिटो काम सम्पन्न हुदैनन् । धेरै वर्षसम्म त्यै परियोजनामा बजेट हालिरहनु पर्ने गरि काम हुन्छ । जति वर्ष ढिला गरेर काम गर्याे त्यति नै ठेकेदारलाई नाफा र कर्मचारी तथा नेताहरुलाई कमिशन प्राप्त भैरहन्छ । योजनाहरु छिट्टै सम्पन्न गर्ने त्यस्ता प्रकारका काममा सरकारमै रहेकाहरुको ईच्छा शक्ति कम्जोर हुन्छ । यि र यस्ता प्रकारका योजनाहरुबाट पैसा खान पल्केकाहरुले कहिल्यै पनि काम छिटो होस भन्ने चाहना राख्दै राख्दैनन् ।
वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अहिलेको आर्थिक संकटलाई पार लगाउँने ठोस कार्य योजना ल्याउँन सकेन । राज्यमा यती ठूलो आर्थिक संकट हुंदा सरकार स्वयंले थाहा नपाए झैं गर्नु अचम्मको विषय छ । यो आर्थिक संकटको विषम परिस्थितिमा राज्यका हरेक क्षेत्र तहस नहस हुने स्थितीमा पुगेको छ । उद्योगहरु बन्दको अवस्थामा पुगेका छन् । व्यवसायहरु चौपटको अवस्थामा छन् । ऋण गरेर व्यवसाय संचालन गर्नेहरुको भागाभागको अवस्था छ । साना खाल्का वित्तिय संस्थाहरुले लगानी गरेको ऋण उठ्न नसक्दा र बचत अत्याधिक मात्रामा फिर्ता मात्रै गर्नु पर्दा केही त चल्नै नसक्ने अवस्थामा पुगेका छन् । सहकारीहरु निरन्तर चलिरहदा हरेकले भन्ने वित्तिकै ऋण वा बचत तुरुन्तै फिर्ता पाउँदथे । बजारमा पैसा घुमिरहन्थ्यो । एकापसमा खाँचो हुदा टार्न सजिलो थियो । उद्योग व्यवसायहरु चल्न नसक्दा ऋणीहरुले ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन् । बैंकहरुले पनि ऋणको नियमित किस्ता उठाउँन सकेका छैनन् भने साना प्रकारका वित्त तथा सहकारीहरुले ऋण उठाउँन सक्ने संभावना तत्काललाई देखिंदैन । हरेक क्षेत्रमा हुने कारोबार ठप्प भए पछि नगद परिचालन रोकिएको छ । नगदै नभै नहुने र जरुरीको काम बाहेक अन्य क्षेत्र नगदी रुपमा चल्न सकेका छैनन् । साना प्रकारका वित्तिय संस्था वा अन्य प्रकारका आर्थिक पक्ष बलियो बनाउँने कुनै योजना सरकारको नीति तथा कार्यक्रममा देखिएन । रुग्ण अवस्थामा पुगेका उद्योगहरु चलाउँने र रोजगारी दिने कुनै योजना छैन । साना प्रकारका वित्त तथा सहकारीहरुलाई माथि उठाउँने कुनै योजना पनि छैन । सरकारको नीति तथा कार्यक्रममा भाषा र नारामा राम्रा कुरा राखिए पनि जनतालाई प्रत्यक्ष राहत दिने कुनै योजना छैन । सरकारले पुरानो भूक्तानी दिन नसकेको मात्र हैन आफ्नै कर्मचारीलाई तलब समेत खुवान नसक्ने अवस्था आई सकेको छ । र पनि सरकार थाहा नपाए झै गरेर बसेको छ । लौ फेरी पनि सोह्रौं गाणतन्त्र दिवसको शुभकामना ।।








