झण्डै एक वर्ष अगाडिबाट शुरु भएको आर्थिक संकट अहिले झन् विकराल बन्दै गएको छ । व्यापारी वा व्यवसायी मार्फत वित्त बजारमा नियमित रुपमा घुमिरहने पैसा अहिले ठप्प प्रायः छ । व्यापार व्यवसाय चल्न नसक्दा वा बजारमा पैसाको चलखेल नहुंदा हरेक प्रकारको कारोबार ठप्प छ । कारोबारका हिसाबले हेर्दा एक जनाको व्यवसाय चल्दा त्यससंग जोडिएको संजालका करिब १७ जनालाई त्यसको अप्रत्यक्ष रुपमा गहिरो प्रभाव पारेको हुन्छ । एउटा उद्योगको सामान विक्रि नहुंदा त्यस संग जाडिएका सबैलाई असर परेको हुन्छ । त्यसको प्रत्यक्ष उदाहरण हो, उद्योगलाई चाहिने कच्चा पदार्थ, कच्चा पदार्थ उत्पादन कर्ता, त्यस्को ढुवानी कर्ता, सामान निर्माणमा संलग्न मज्दुर, सामान ढुवानीकर्ता, व्यबसायी र उपभोक्तासम्मलाई यसले प्रभाव पारेको हुन्छ । देशमा संचालित सबै प्रकारका उद्योग तथा व्यवसाय व्यवस्थित ढंगले संचाल हुने हो भने माथि उल्लेख गरिएका पात्रहरुको व्यवस्थापनसंगै एउटा व्यापारीले कमाउँन सक्दा राज्यलाई कर पनि तिर्न सक्छ । जुन सुकै प्रकारको व्यवसाय किन नहोस त्यसले देश र नागरिकलाई सम्पन्नता तर्फ लैजान्छ । सबै प्रकारका व्यवसायहरु चलनु भनेको राज्यको आम्दानीको श्रोत बढ्नु हो । तर अहिले त्यसो हुन सकेको छैन ।

केहीले बाहेक धेरै जसोले अब चैं अर्थतन्त्र सुधार होला भन्दै घाटाको व्यवसाय गर्दै आएको पनि एक वर्ष पुग्न लाग्यो । आज होला, भोली होला भन्दा भन्दै लामो समयसम्म केही व्यवसायीहरुले घाटाको काम पनि गरिरहेका छन् । साना प्रकारको व्यवसाय गर्नेले व्यवसायमा सुधार नभए पछि बैकल्पिक बाटो रोजी सकेका छन् । सक्नेले अझै केही महिना घाटा ब्यहोर्ला तर सक्दै नसक्नेले के गर्ला ? आजको गंभिर प्रश्न नै यहि हो । देशको अर्थ व्यवस्थामा धेरै समय सम्म पनि सुधार आउँन सकेन भने सबैले व्यवसाय छोडेर भाग्ने दिन आउँने छ । पहिला पहिला खचाखच चलिरहेका व्यवसायहरु अहिले निक्कै साँघुरो घेरामा खुम्चिएका छन् । हिजो उधारोमा गएको सामानको पैसा उठाउँनका लागि भए पनि चलाउँनु परेको छ भन्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गैरहेको छ । अन्य देशमा हो भने देशका नागरिकको यो अवस्था आउँदा नागरिकलाई क्षति पुर्ति उपलब्ध गराउँछ । तर मेरो देशमा यो अवस्था आउँदा समेत सरकार रमिते बनेर आफ्नो नागरिकलाई मर्नका लागि प्रेरित गरिरहेको छ । सरकारका लाउकेहरु आफु कमाउँन व्यस्त छन् । कर्मचारीतन्त्र कमिशनमै व्यस्त छ । ठूला व्यबसायीहरु पैसा विदेश ओसार्न मै व्यस्त छन् । देश बनाउँने जिम्मा र पहुंचमा पुगेका नेता, कर्मचारी र व्यापारीहरु नै देश प्रति घात गरेर भ्रष्टाचार गर्छन भने अब जनताले विश्वास पो कस्लाई गर्ने ?

जनस्तरमा बैंकहरुको तुलनामा तत्काल र सानो प्रकारको आर्थिक कारोबार गर्न सहकारी असाध्यै सजिलो माध्यम थियो । दुई चार लाखले अड्केका कामहरु सहकारीहरुले सहज ढंगबाट गरिदिन्थे । ससानोे रकमका कारण रोकिएका कामहरु छिट्टै गर्न सहज थियो । जसका कारण थोरै मात्र भए पनि बजारमा पैसा घुमिरहेको हुन्थ्यो । त्यही पैसा पनि एकापसमा चक्रिय प्रणालीमा घुम्दा आवश्यक पर्नेकोमा जान्थ्यो र काम सके पछी फेरी वित्तीय संस्थामा आउँथ्यो र फेरी आवश्यक पर्नेले लैजान्थ्यो । यसरी सबैले आआफ्नो काम चलाउँने गर्दथे र चल्थ्यो पनि । देशको अर्थतन्त्र कम्जोर भए पछि हिजो बैंकले आफुलाई बलियो साबित गर्न बचतको विभिन्न शिर्षकमा जथाभावी पैसा संकलन ग¥यो । बैंकले सहकारीहरुले दिएको भन्दा बढि ब्याज दिएर आफ्नो निक्षेप बढायो । सहकारीका सदस्यलाई तपाईंको बचत डुब्ला, बैंकमा राखेर सुरक्षित गर्नुस भन्दै बढि ब्याज दिएर पनि बजारबाट पैसा उठायो । केही बैंकमा तरलता थुप्रे पनि चर्काे ब्याजमा उठाएको बचतको रकमका कारण आज बैंकले सहज ढंगबाट ऋण लगानी गर्न सकेको छैन । हुन त पछिल्लो समय लगानीको क्षेत्र सुरक्षित नहुंदा ऋणको माग पनि विगतको भन्दा कम छ । केही सहकारीले गरेको सानो बदमासीको फाईदा अहिले सबै बैंकहरुले उठाए । बैंकहरुले विभिन्न थप आकर्षक ब्याज र पुरस्कार राखेर साना प्रकारका वित्तिय संस्थाहरुका साथै सहकारीलाई जनस्तरबाट अपत्यारिलो बनाउँन अनेकौं प्रयास भयो । केही बैंकहरुले सहकारीहरुले दिएको भन्दा बढि ब्याज दिएर समेत सहकारीका सदस्यको समेत पैसा खिच्न सफल भए । तत्कालका लागि निक्षेप बढाउँन सफल भए पनि यसले दिर्घकालिन रुपमा भने देशको अर्थतन्त्रलाई असर गर्ने पक्का छ । सरकारले यस्तो अस्वस्थ प्रतिस्पर्धालाई बेलैमा नियन्त्रणमा लिन सकेन भने देशको अर्थतन्त्र अझै खतरामा जान सक्नेछ ।

देशको अर्थतन्त्र कम्जोर भएको बेलामा एकापसमा सहयोग गर्नुको सट्टा साना वित्तिय संस्था र सहकारी कम्जोर भएको मौका छोपेर तिनिहरुलाई तहसनहस बनाउँन खोजीयो । साना प्रकारका व्यवसाय गरिरहेका व्यवसायीलाई बैंकले ऋण पत्याउँदैन । सहकारीले पत्याए पनि उसले ऋण दिन सक्दैन । यसको प्रत्यक्ष असर साना तथा मझौला प्रकारका व्यवसायीलाई परेको छ । जसले सानै भए पनि ऋण लिएर व्यवसाय गरे आज व्यवसाय नचल्दा ऋण तिर्न त परको कुरा घरभाडा समेत तिर्न सक्ने अवस्थामा छैनन् । व्यवसायीहरु दिन प्रतिदिन घाटाको व्यापार गर्न बाध्य छन् । व्यापारमा घाटा व्यहोर्नु पर्ने र महंगी त्यस्तै ढंगबाट बढ्दा व्यवहार चलाउँन मुस्किल भैसकेको छ । अवस्थामा यस्तो भैसकेको छ कि लगानी छोडेर जान नसक्ने र त्यही लगानीले परिवार पाल्न नसक्ने । यस्तो अवस्थामा हरेक व्यवसायीलाई तनाव हुनु स्वभाविक हो । अन्य व्यवहारिक तनाव भन्दा आर्थिक कारोबारको तनाव विल्कुलै फरक विषय हो । यसले मान्छेलाई तनावबाट डिप्रेसनमा समेत लैजान्छ । कारोबार असन्तुलन हुंदा धेरैले आफुलाई नै समाप्त गरेको समाचारहरु बारम्बार आईरहेका छन् । हरेक व्यवसयीले राज्यलाई कर तिरेको हुन्छ । व्यवसायीलाई अफ्ठेरो पर्दा सरकारले पनि सहजीकरण गर्दै आफ्ना नागरिकलाई गरि खाने वातावरण बनाउँनु राज्यको प्रमुख कर्तब्य हो । गहिरिदो आर्थिक संकटलाई व्यवस्थापन गर्न सरकारले छिट्टै उचित कदम चाल्दै अर्थतन्त्रलाई सहज बनाउँन अब कत्ति पनि ढिला गर्नु हुन्न ।