देशको अर्थतन्त्र अहिले गंभिर संकटमा छ । देशमा भएको आर्थिक संकटले देश भित्रका सबै खाले बैंक तथा वित्तिय संस्था समेत संकटमा छन् । आर्थिक संकट गहिरीदै जान थाले पछि केही बैंकले बाहेक धेरै जसो बैंकले ऋण लगानी पनि गर्न सकेका छैनन् । बैंक पछिका लघु तथा वित्त संस्थाहरु पनि धेरै सहज अवस्थामा छैनन् । ऋण पर्याप्त मात्रामा लगानी गरेता पनि अहिले त्यही लगानी असुल गर्न समस्या बन्दै गएको छ । बैंक र लघु वित्त जस्ता संस्थाहरुले गरेको लगानी उठाउँन अनेक प्रयत्न गरे पनि किस्ता उठ्न सकेको छैन । विगतको लगानीमा व्याज महंगो भएको भन्दै ऋण तिर्न नसक्ने बताउँन थालेका छन् । अहिले वित्तिय संस्थाले राम्रोसंग ऋण लगानी गर्न सकेका छैनन् ।
ठूला वित्तिय संस्थाहरुले त लगानी गर्न सकेका छैनन् भने धेरै सहकारीहरुले ऋण लगानी गर्नु त परको कुरा बचत फिर्ता गर्नलाई पनि धौ धौ भएको अवस्था छ । केही सहकारीका व्यवस्थापन पक्षले व्यवस्थापकिय पक्षलाई राम्रोसंग ध्यान दिन नसक्दा कार्यालय सञ्चालन गर्न सक्ने अवस्था रहेन । देशमा आएको संकटले सबैभन्दा ठूलो असर सहकारीमा परेको छ । जुनसुकै प्रकृतिको सहकारी भए पनि उनिहरुको मूख्य उद्येश्य भनेको बचत लिने र ऋण दिने काम नै मूख्य रुपमा भएको छ । जुन उद्येश्य र लक्ष्य लिएर सहकारी दर्ता गरिएको थियो आज सबै सहकारीले त्यसो गर्न सकेनन् । अन्य विषयगत सहकारी संचालन गर्नु भन्दा बचत तथा ऋणको सहकारी चलाउँनु नै राम्रो मानेर चलाईएका कारण पनि केही सहकारीहरुमा समस्या आएको हो ।
सहकारी तथा वित्तिय संस्थाहरुको मूख्य काम भनेको आफ्ना सदस्यले सबै प्रकारका बचतमा जम्मा गरेको रकमको सुरक्षा गर्नु हो । जो सुकैले पनि आफुलाई आवश्यक परेको समयमा झिक्न र काम गर्न पाईन्छ भनेर बचत गरेका हुन्छन् । कुनै पनि सहकारीका सदस्यले आफुसंग हुंदा बचत गर्ने र आवश्यक पर्दा झिक्ने गर्दछन् । यो वित्तिय क्षेत्रको विश्वव्यापी मान्यता नै हो । निरन्तर वा तोकिएको अवधिसम्म निश्चित कारोबार पुरा गरे पछि आवश्यकता अनुसार ऋणको समेत सुविधा उपयोग गर्न पाईन्छ । वित्तिय संस्थाको प्रकृति र अवस्था हेरेर र सदस्यको कारोबारको अवस्था हेरेर आफ्ना सदस्यलाई थप कारोबार गर्ने गर्दछ ।
कुनै पनि देशमा लगभग विस वर्षको अन्तरालमा एक पटक आर्थिक संकट आउँने गरेको ईतिहास छ । हामीले लामो अवधिसम्म विदेशमा मात्र आर्थिक संकट भएको समाचारहरु सुनेका थियौं । तर हिजो सुनेको कुरा आज हामी नेपालमै भोग्दै छौं । यो समस्या किन र कसरी आउँछ भन्ने कुरामा विषय विज्ञहरुले बोल्नु पर्ने हो । तर किन हो बोलिरहेका छैनन् । यो विषयमा काम गर्नु पर्ने निकाय र काम लगाउँनु पर्ने निकाय असाध्यै मौन भएर बसेको छ । सिंगो देशको कूल बजेटमा नै धक्का लाग्दा समेत राज्यकै ढुकुटी खाएर रमिता हेरे झैं आनन्दसंग बसेर बस्ने नालायकबाट राज्यमा आर्थिक सुधार हुन्छ भनेर कसरी पत्याउँने ? देशको अर्थतन्त्र यति धेरै तहस नहस हुंदा पनि जिम्मेवार निकायले यस विषयमा कत्ति पनि ध्यान दिन नसक्नु भनेको यो भन्दा चरम लापरबाही के हुन सक्छ ? विश्वका ठूला शक्ति राष्ट्रले विश्वको पूँजी बजारलाई हेरेर वित्तिय श्लिेषण गरेर योजना बनाउँछन् र कार्यान्वयन हुन्छ । हाम्रो देशमा भने बुद्धिजिवी नै आफ्नो निजि आर्थिक अवस्था सुधार गर्न मात्र पाए भने जे पनि बोल्न र गर्न पछि पर्दैनन् भन्ने कुराको पुष्टि यस अगाडि कामहरुले पुष्टि गरीसकेको छ । त्यस्ता कुपात्रहरुबाट देश प्रगतिमा जान्छ भन्यौं भने हामी नै गलत हुन्छौं ।
आज हाम्रो देशका कतिपय उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । हरेक उद्योगले उत्पादन गरेको सामाग्रीले बजार लिन सकेको छैन । उत्पादित सामानले बजार लिन नसकेपछि उत्पादन नै घटाई रहेका छन् । काम नभए पछि कम्पनी र उद्योगबाट दिनप्रतिदिन मजदुरहरु निकाल्न थालिएका छन् । विभिन्न प्रकारका व्यवसाय गर्ने व्यवसायीहरु दिनप्रतिदिन व्यवसाय छाडेर पलाएन हुन थालेका छन् । लामो समयसम्म काम गर्दा पनि तलब नपाएर कामै छाडेर हिंड्ने संख्या ठूलै भैसकेको छ । देशको एउटै विषय अर्थतन्त्र संकटमा पर्दा त्यससंग जाडिएका सबै प्रकारका विषयलाई नराम्रोसंग धक्का लागेको छ । धेरैले आत्महत्याको बाटो रोजीसकेका छन् । धेरैको जागिर खोसिएको छ । धेरैले व्यवसाय छोडेर भाग्नु परेको छ । धेरैको त काम गर्दा गर्दै अन्यसंग लिएको पैसा फसेर फिर्ता गर्न नसकेर भागेर हिंडेको अवस्था पनि छ
अहिले बजारमा पैसाको अभाव यतिसम्म परिसकेको छ की कसैलाई अफ्ठेरो प¥यो भने साधारण प्रकारको सरसापट समेत पाउँन सक्ने अवस्था छैन । धेरै जसो सामान्य नागरिकलाई त दैनिक व्यवहार चलाउँन समेत असहज बन्दै गएको छ । उद्योग, कलकारखाना र व्यवसाय चल्न नसक्दा त्यहाँ आश्रित मजदुरको रोजगार गुमेको छ । एउटा मजदुरको कमाईले कम्तिमा पाँच छ जनाको परिवार पाल्नु परेको हुन्छ । तिनिहरुको गाँस खोसिएको छ । एकातिर महंगी बढ्ने अर्काे तिर भएको रोजगारी गुम्ने । सामान्य नागरिकलाई यो महंगीले नराम्रोसंग ढाड सेकि सकेको छ । यो अवस्था अझै लामो समयसम्म रहन दिने हो भने भोलीका दिनमा पेट पाल्नकै लागि भए पनि चोरी र लुटपाटको घटना नहोला भन्न सकिन्न । मान्छेलाई सबै भन्दा पहिले खाना नै ठूलो कुरा हो । यदि खान पाएन भने हरेकले विद्रोह गर्न सक्छन् । विद्रोहको स्वरुप यहि हुन्छ भन्न सकिने खालको हुंदैन । यस्तो विद्रोह नियन्त्रणमा हुंदैंन । त्यसैले यि र यस्ता विषयमा सरोकारवालाले बेलैमा ध्यान पु¥याउँनु नितान्त आवश्यक छ ।
जब भएको बस्तु गुम्छ वा सकिन्छ त्यसपछि हरेक विषयमा शंका बढ्दै जान्छ । अहिले साना प्रकारका वित्तिय संस्थाहरुमा बैंकका माफियाहरुले आक्रमण गरिरहेका छन् । बैंकको तुलनामा सहकारीहरुले आफ्ना सदस्यलाई छिटो र सजिलो सेवा र सुविधा दिएका कारण सहकारीमा आम नागरिकको विश्वास बढेको थियो । जनताको सहकारीसंगको कारोबारका कारणले बैंकमा पैसा कम जान थाले पछि केही बैंकहरु सहकारीलाई सिध्याउँन हात धोएर लागि परेका छन् । बैंकहरुले सहकारीहरुले दिएको जति सेवा सुविधा छिटो र छरितो ढंगबाट कहिल्यै पनि दिन सक्दैनन् । आफ्नै जनस्तरबाट संचालित सहकारीलाई पत्याउँन छोडेर चिन्दै नचिनेको मान्छेले चलाको बैंकलाई विश्वास गर्न थालियो भने आफ्नो रकमको सुरक्षा हुन्छ भन्ने ज्ञारेण्टी के हुन सक्छ ? त्यसको जिम्मा कसले लिन्छ ? बैंक चै असफल हुदैंन डुब्दै डुब्दैन भन्ने ज्ञारेण्टी के छ ?
त्यसैले आफ्नो नजिकको सहकारीमा गरिएको कारोबारलाई ब्यवस्थित गरौं । सहकारी ऐन अनुसार चलेको छैन भने चलाउँनका लागि समन्वय गरौं । दबाव दिउँ । कारोबारमा विशेष ध्यान दिउँ । संस्थाले गरेको लगानी उठेको छैन भने उठाउँन सहयोग गरौं । त्यसरी उठेको पैसाबाट आफ्नो बचत पनि उठ्छ र संस्था पनि चलाउँन सहयोग पुग्छ । सहकारीका हरेक सदस्यले आफुले लिएको ऋण समयमै तिर्ने र कारोबारलाई निरन्तरता दिने हो भने र आफ्नै समुदायका सदस्यबाट समुदायस्तरमै चलाउँने हो भने कुनै पनि सहकारीमा समस्या हुने छैन । समस्या हुने भनेकै ऋणीले ऋण नतिर्ने र बचत गर्नेले एक्कै चोटी वा एक्कै दिन फिर्ता माग्न आउँदा मात्र समस्या हुने हो । सदस्य कसैलाई पनि समस्यामा नपार्ने हो भने लगानी उठाउँने र अत्यावश्यकले आवश्यकताको आधारमा मात्र बचत निकाल्ने ग¥यौं भने कसैलाई पनि समस्या हुने छैन ।