अहिले हाम्रो देशमा संचालित सबै खालका व्यवसायहरु अधोगती तिर गैरहेका छन् । व्यवसायीले जुन लक्ष्य र उद्येश्य राखेर आफ्नो व्यवसायमा लगानी गरेका छन् अहिले त्यसको ठिक विपरित भैरहेको छ । अहिले बैंक तथा वित्तिय संस्थाहरुमा नियमित कारोबार गरेका र गर्नै पर्नेले बाहेक अन्यले आफ्नो कारोबार घरैबाट सिमित गर्ने गरेका छन् । जसले घरैबाट कारोबार गरिरहेका छन् उनिहरुलाई बढि नाफा कमाउँन झन सजिलो भएको छ । न कुनै कमाईको श्रोत देखाउनु पर्ने न त कुनै आम्दानीको कर वा व्याज कर नै तिर्नु पर्ने । व्यक्तिगत रुपमा गरेको कारोबारले कसै प्रति पनि जवाफदेही हुनु नपर्ने भएकोले असाध्यै अफ्ठेरोमा परेकालाई सहयोग गरेको बहानामा ऋणीसंग चर्को व्याज लिने शर्तमा कानूनी प्रकृयामा साहुको पक्षमा हुने गरी ऋण लगानी गर्ने गरेको पाईएको छ ।
विभिन्न कारणले आसाध्यै अफ्ठेरोमा पर्नेले आफ्नो ईज्जत र प्रतिष्ठाका लागि भनेर केही समयका लागि लिईएको सरसापटी वा ऋण नै पनि समयमा फिर्ता गर्न नसक्दा परिस्थिति असहज बन्दै जाने हो । अहिले विभिन्न ढंगबाट विभिन्न व्यक्तिहरुले चलाएका वा चलाईएका उद्योग कलकारखाना वा अन्य व्यवसाय अहिलेको वित्तिय संकटले थलीएकोले भने जस्तो र सोचे अनुसार चल्न सकेको छैन ।
बैंक तथा सहकारीको तरलता पूँजी घट्दा ऋण लगानी गर्न सकिरहेका छैनन् । बैंकले जोसुकैलाई ऋण नपत्याउने र साना वित्तिय संस्था वा सहकारीहरुले ऋण लगानी गर्न नसक्दा साना तथा मझ्यौला प्रकारका व्यवसायहरु पनि चल्न सकेनन् । यसरी उद्योग तथा व्यवसाय चल्न नसक्दा सबैतिर रकमको कारोबार ठप्प भयो । व्यापार व्यवसाय चल्न नसक्दा बाहिर आउँन नसकेको रकम बजारमा आउँने कुरै भएन । व्यवसाय वा उद्योगहरु चल्न नसक्दा राज्यलाई कर पनि राम्रोसंग उठ्न सकेन । अहिलेको राज्यको आर्थिक तथ्यांक हेर्ने हो भने विकास निर्माणको काम त परै जावस कर्मचारीलाई तलब दिन पनि धौ धौको अवस्थामा पुगेको देखिन्छ । देशकै अर्थतन्त्र संकटमा परेको बेलामा बैंक तथा वित्तिय संस्थाहरुले पर्याप्त मात्रामा ऋण पवाह गर्न नसक्दा उद्योगी तथा व्यवसायीहरु झन समस्यामा पर्दै जानु स्वभाविकै हो ।
यस्तो मौकाको पर्खाईमा रहेका आर्थिक बिचौलियाले समस्यामा रहेका व्यक्तिहरु खोजी खोजी आज सहयोग गरेर भोली बास उठाउँने गरेको पनि देखिएकै छ । विगतको केही तथ्यलाई हेर्दा यस प्रकारको समस्यामा उद्योगी, व्यवसायी, सामान्यतहका कर्मचारीदेखि नाम चलेका सामाजिक व्यक्ति हुंदै सामान्य किसान रमेत भेटिएका छन् । यि माथिका कुराले के बुझ्न सकिन्छ भने हाम्रो व्यापार, व्यवसाय तथा उद्योगका लागि लिईने ऋणले कुनै व्यवसायलाई पनि माथि उकासेको वा कमाउँनु भन्दा पनि घाटामा काम गर्नु परिरहेको बुझिन्छ । धेरै लामो समयसम्म व्यापार व्यवसायमा घाटा व्यहोर्नु परेपछि कुनै पनि व्यवसायीलाई सह्य हुदैंन । यसरी निरन्तर घाटामा व्यवसायी वा ऋणी चल्नु पर्ने अवस्था आए पछि यसले अन्तिममा घातक निर्णय लिन बाध्य हुने अवस्था आउँछ । सम्बन्धित र सरोकारवाला निकायले त्यस्तो अवस्था आउँनु भन्दा अगाडि नै समस्याको पहिचान गरी निवारणमा लाग्नु बुद्धिमानी हुनेछ ।
अब प्रश्न उठ्न सक्छ, विगत वर्षहरुको तुलनामा पछिल्लो वर्ष देशको कुल बजेटमा वृद्धि हुन्छ । यो वर्ष पनि देशको बजेटको आकार बढ्नु पर्ने हो । तर देशको बजेटको आकार समान्य मात्र बढ्ने अवस्था छ । अनुमान गरेर लक्ष्यमा राखिएकोे कुल उठ्ने राजश्वमा झण्डै २५ प्रतिशत भन्दा कम उठ्ने संकेत आई सकेको छ । देशकै बजेट अनुमान गरेको भन्दा कम उठ्नु वा घट्नु र बहुद्देसिय व्यवसाय गरेर आम्दानी गर्नेले नेपालमा कमाएको पैसा स्वदेशी बैंकमा राख्न छाडेर विदेश लैजानु । नेपालमा कमाउँने र कमाएको पैसा नेपालमै नराख्नु । ठूलो तहमा कारोबार गर्नेले पैसा बैंकमा नराखी घरैमा राख्ने र घरबाटै कारोबार गर्नु ।
अवैद्य ढंगबाट रकम आर्जन गरेका राजनैतिक बिचौलिया नेता, उच्च तहका भ्रष्ट कर्मचारी, दलाल प्रवृत्तिका केही व्यवसायी लगाएतले कमाएको अकुत सम्पती नेपालमा शुद्दिकरणमा पर्ने डरले विदेश पु¥याउनु । लगाएतका कारणले देशसंग हुनु पर्ने कुल बजेटको सम्पूर्ण रकमको सत्तरी प्रतिशत पनि पूँजी अहिले नेपाल सरकारसंग छैन । सरकारको ढुकुटीमा भएको रकम मात्र सरकारको हैन । देशका लागि विषम परिस्थितिमा नेपालीसंग भएको रकम सबै नेपाल सरकारको सम्पत्ति हो । नेपालमा बैंक आफैंले चलाउँने र व्यवसाय पनि आफैंले चलाउँन सक्ने क्षमता मुठ्ठिभरका व्यवसायीसंग छ ।
मुलुकको अर्थतन्त्र ति व्यवसायीहरुको हातमा पुगेको छ । सिंगो देशकै अर्थतन्त्रलाई आफ्नो काबुमा राख्न सक्ने व्यापारीलाई सरकारीे बिचौलिया भन्दा फरक पर्दैन । तिनले कमाई अनुसारको राज्यलाई कर कहिल्यै तिर्दैनन् । र पनि देशका ठूला व्यापारीकाका रुपमा देशबाट लाभ भने बारम्बार लिईरहन्छन् । यो राज्य व्यवस्थाको प्रणालीकै दोष हो । यस्तो प्रणालीलाई बेलैमा सुधार गर्न सकिएन भने देशको अर्थ व्यवस्था अझ खतरामा पर्ने संभावना हुन्छ ।
अहिलेको अवस्थामा देशको अर्थतन्त्र धेरै कम्जोर भैसकेको छ । अर्थतन्त्र कम्जोर भएको बेलामा देशभित्रका व्यवसायीको अवस्था हेरर सघाउँनु राज्यको दायित्व हो । सरकार र बैंक वित्तिय संस्थाहरुको समन्वयमा हाल कायम रहेको व्याजदरमा संसोधन गर्न सक्ने र ऋणको प्रकृति अनुसार समयावधि बढाउँन सक्ने हो भने ऋणीलाई केही राहत मिल्न सक्छ । अहिलेको बजार अबस्थाले व्यवसायीलाई माथि जान सक्ने अवस्था दिएको छैन । व्यवसाय दिनप्रतिदिन कम्जोर बन्दै गैरहेको छ । पेशा छोडेर व्यवसायीहरु पलायन हरन थालेका छन् । कति व्यवसायीले त ऋण धान्न नसकेर आत्महत्या गरेका समाचारहरु आईरहेका छन् ।
व्यवसाय संचालन गर्नेले किस्ता त परको कुरा, व्याज तिर्न पनि धौ धौ हुन्छ भने हाम्रो ऋण लगानीमै महंगो व्याज लागेको छ भन्ने कुराको पुष्टि हुन्छ । कुनै पनि पेशाका व्यवसायी पेशा नै छाडेर पलायन हुनु भन्दा उसलाई पेशामा फर्काएर कमाउँन सक्ने बनाउँन सक्ने हो भने उसले कमाउँदा उस्को मात्र नभै देशको पनि आम्दानीमा वृद्धि हुन्छ । बढ्दो बेरोजगारको केही हदसम्म भए पनि क मगर्न सहयोग पुग्छ । त्यसैले हरेक नागरिकको आम्दानी बढाउँने कार्य जस्तै रोजगार वृद्धिका लागि शिपमुलक तालिमको आयोजना गर्ने, व्यवसाय प्रवद्र्धन गर्न सहयोग गर्ने, नयाँ उद्योग कलकारखाना तथा व्यवसाय खोल्नका लागि राज्यबाटै सहजीकरण गर्न सकियो भने देशको अर्थतन्त्र बलियो हुन्छ । त्यसैले सबैले गरि खाने वातावरण बनाउँन हाम्रो वित्तिय बजार अनुसार कारोबारलाई त्यसमा लाग्ने व्याजलाई सापेक्षीकरण गर्नु जरुरी छ ।