बनेपा, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मनोनयनपत्र दर्ता गर्ने उम्मेद्वारहरुले आफूले गर्ने सम्भावित खर्च र त्यसको स्रोत खुलाउनुपर्ने भएको छ ।
निर्वाचन आयोगका अनुसार मनोनयनका क्रममा नै उम्मेद्वारहरुले छुट्टै खाता खोलेर खाता सञ्चालन गर्ने प्रतिनिधिको विवरण समेत बुझाउनुपर्ने भएको हो । उम्मेद्वारले सम्बन्धित प्रतिनिधि बाहेक अरुबाट खर्च गर्न नपाउने व्यवस्था गरिएको छ । संगै राजनीतिक दलहरुले पनि निर्वाचन प्रचारप्रसारका लागि छुट्टै खाता खोलेर निश्चित प्रतिनिधिमार्फत खर्च गर्ने व्यवस्था गरेको हो ।
२५ हजारभन्दा बढीको आर्थिक सहयोग बैंकमार्फत मात्रै लिनुपर्नेछ । कसैले नगद दिएकोमा चन्दादाताको नाम सहित त्यो रकम बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
जनप्रतिनिधि उम्मेदवार बने पद गयो
निर्वाचन आयोगले स्थानीय, प्रदेश र संघीय तहका बहालवाला जनप्रतिनिधिले प्रतिनिधि सभा वा प्रदेश सभामा उम्मेद्वारी दिएमा उनीहरुको पद स्वतः रिक्त हुने व्यवस्था गरेको छ ।
निर्वाचन आचारसंहिता मार्फत आयोगले स्थानीय तहको कार्यपालिका वा सभाको सदस्य, प्रदेश सभाको सदस्य, प्रतिनिधि सभा र राष्ट्रिय सभाको सदस्यले समेत मनोनयन दर्ता गरेमा उ पदमा नरहने व्यवस्था गरेको हो ।
त्यस्ता जनप्रतिनिधिहरु सामानुपातिकको बन्दसूचीमा रहेमा समेत पदमुक्त हुने निर्वाचन आचारसंहितामा उल्लेख छ ।
संगै आयोगले तयार पारेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको कार्यतालिका अनुसार आगामी असोज २३ गतेदेखी प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिनेछ । असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ ।
प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् । असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।
आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ । –नव क्षितिज साप्ताहिकबाट








