भेटघाट र खुशियालीको पर्व बडा दशैँ-नवराज बजगाई


आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
अर्थात आयु द्रोणाचार्यको छोरा अस्वस्थामाको जस्तै होस्, धन सम्पती दसरथ राजाको जस्तै होस्, रामले जस्तै विपक्षीमाथी विजय प्राप्त गर्न सक्ने शक्ति होस्, नहुुस् राजाको जस्तो सुख, सयल र ऐस आराम होस्, हावाको जस्तो वेग र दुर्योधनको जस्तो मानसम्मान होस्…..विजया दशमीको शुभकामना ।
नेपालीहरुको महान पर्व विजया दशमी शुरु भएको छ । घट्नास्थापनादेखि शुरु भएको दशैँ पूर्णिमासम्म रहनेछ । दशैँ हाम्रो संस्कृती र परम्परागत मान्यताको प्रतिक र ठूला बडालाई मानसम्मान गर्ने संस्कारको निरन्तरता हो । दशैँ नेपालको सीमाभित्र मात्र सीमित नरहे पनि हिन्दुहरु दशहरा वा दुर्गापूजा मान्छन्, तर पनि हामी हिन्दु होइनौँ र मान्न पनि चाहदैनौँ भन्ने नेपालीहरुका बीचमा समेत उत्तिकै प्रिय रहेको दशैँ कतिपय इसाई धर्मावलम्बीहरुले समेत धुमधामसँग मनाउँछन्, अक्षता लगाउँछन्, र आशिष पनि लिने गर्छन् । आफू कुनै धर्म मान्दिन भन्ने प्रसिद्ध वामपन्थी लेखक मोदनाथ प्रश्रित पनि बडा दशैँको व्यापकतालाई प्रष्ट पार्दै दशैँ त कुमाउदेखि वर्मासम्मका नेपालीहरुले मनाउने पर्व हो । यसभित्र सबै जातजातिको उत्तिकै आस्था छ, शक्ति र मातृ पूजा त हिन्दुहरुको मात्र मान्यताको कुरा नभएको बताउनुहुन्छ ।
यसै विचारसँग हिन्दु धर्मका एकाथरी अनुयायीहरु भने पूर्ण सहमती राख्दैनन् । उनीहरु रामले रावण माथी विजय प्राप्त गरेको कारण दशैँको शुरुवात भएको मान्छन् भने अर्काथरी श्रीरामले देवीको आराधना गरेर विजय प्राप्त गरेको कारण यो पर्व मानिएको बताउँछन् । जेहोस् दुर्गा पूजा त चेतना र प्रकृतिको पूजा हो । आखिर सबै नेपाली हिन्दु हुन् र पछि अरु कुनै धर्म ग्रहण कसैले गरेका छन् भने त्यो पछिको कुरा हो । अन्त्वगत्वा बडादशैँ समग्र नेपालीहरुको हो, सबैले मान्न पनि छुट छ । राज्य सत्ता र धर्म जस्ता कुरा कृत्रिम मात्र होइन मातृ प्रधानता पनि हो ।
राम वा देवी दुवैको औचित्यलाई जोडे पनि दशैँको महत्व शक्ति पिठ र शक्ति पूजामा नै बढी निहित रहेको पाइन्छ । हिन्दु धर्ममा हिन्दु धर्म र रामले रावण माथी गरेको विजयको उपकथा जोडिनुको औचित्य भने स्पष्ट छैन । यद्यपी राक्षस माथी देवीको विजयको मुलआधार पनि दशैँको किम्बदन्ती हो । रामले रावणमाथी गरेको विजयको औचित्य नरहे पनि देवीको अराधना गरेर विजय प्राप्त गरेको कुरामा भने धार्मिक एवम् साँस्कृतिक क्षेत्रका विज्ञहरु एकमत नै छन् । यसरी राम र देवीको औचित्य दशैँ माथी जोडिनुको आधार भने जति परापूर्व कालमा राम्रा कार्य हुन्थे ती सबै धर्मसँगै गाँसिदै जाने चलन नै धार्मिक क्षेत्रका उपज हुन् भन्ने कुरा सहजै आंकलन गर्न सकिन्छ । उता मौसम र फुर्सदका हिसाबले चैत भन्दा चाडवाडहरु मनाउन असोज, कार्तिक उपर्युक्त भएकाले चैते दशैँ, राम नवमीका दिन मात्र मनाइन्छ र यो धार्मिक हिसाबले मनाइन्छ भने बडा दशैँ बढी सामाजिक र साँस्कृतिक कारणले मनाइन्छ । त्यसो त हाम्रो समाज बढी दृढ भएको भए चैते दशैँले पनि उत्तिकै मान्यता पाउनेमा पृथकता छैन । यसको अलावा भौगोलिक रहन सहनलाई आत्मसात गर्दै विजया दशमीलाई उपर्युक्त समयमा सारिएकोमा भने विश्वास गर्नैपर्छ । ताकी कृषि सभ्यता भएको नेपाल जस्तो पहाडी मुलुकको रम्ने बेला शरद ऋतु नै भएको बुद्धिजीवी सहितको ठहर छ ।
आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमा सम्म मनाइने यो पर्व शक्तिको पूजा आराधना खानपिन, टिका, जमरा र आशिष लिई मनाइन्छ । नेपालीहरुले दशैँलाई विश्राम, धर्म, कर्म र रमाइलो गर्ने अवसरको रुपमा पनि स्वीकारेका छन् । नेपाली जीवनयात्रामा दशैँ तिहार झिकिँरहँदाको शुन्यता कल्पनामा मात्र पनि कठिन छ । केवल दशैँको महत्व मासु, मिष्ठान्न, पिङ, टीका र जमरामा मात्र सीमित छैन । यो अवसरमा हुने परिवार र इष्टमित्रको पुनर्मिलन, नातागोतासँगको न्यानोपना र एकै साथ रमाउँदाको मानसटल नवीकरण हुँदाको मूल्य र मान्यताको महत्व सहजै आंकलन गर्न नसकिने गरी उच्च छ । दशैँमा सात डाँडा पारीदेखिका आफन्तको आगमनसँगैको हँसिलो र मधुर मुस्कानले वृद्धवृद्धामा पनि तत्कालीन सन्तोष र आनन्द मात्र दिँदैन, उनीहरुमा अर्को दशैँ पर्खने आत्मबलमा ऊर्जा पनि थपेको हुनेछ । यसरी आर्थिक र सामाजिक उपलब्धिलाई नाप्ने प्रचलित मापदण्डले नाप्न नसकिने गरी उच्च रहेको छ–दशैँ तिहारको महत्व नेपाली मात्रमा । विभिन्न धर्म, जात, जाति, संस्कृती कला परम्परा रहेको नेपाली समाज पनि आज एकै साथ समन्वयात्मक रुपमा रमाउने फूलबारीको रुपमा स्थापित यिनै महत्वपूर्ण चाडवाडका कारण नै छ ।
जेहोस् आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने यो पर्वमा टीकासँगै नवदुर्गा भवानीको प्रसादको स्वरुप नौरातको पहेंलो जमरा लगाउने प्रचलन अनुसार घटनास्थपनाका दिन पूजा कोठाभित्र घाम नछिर्ने पवित्र ठाउँमा टपरीमा माटो राखेर त्यसमा जौँ छरिन्छ र हावा नछिर्ने गरी छोपेर राखिन्छ । दैनिक रुपमा यो सँगै नौरथाको पूजा गर्ने गरिन्छ । नौ दिनमा यो पहेंलो र एक कुरेत लामो हुने गर्दछ । यो नै दशैमा टीकासँगै लगाउने जमरा हो भने दशैँको नौ दिन अर्थात घटनास्थापनाका दिनदेखि महानवमीका दिनसम्मलाई नौरथाको रुपमा लिइने गरिन्छ र यो नौ दिनमा नवदुर्गाको पूजा आजा र अर्चना गरिने चलन छ । जुन नौ दिनमा शैलपुत्री व्रम्हचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यानी, कालरात्री, महागौरी र सिद्धिदात्री गरी नौ वटी दुर्गाहरुको पूजा अजा गर्ने चलन यद्यपी छ ।
आजभोलि जस्तै घटनास्थापना र फूलपाती आदिको विधान मल्लकालीन दशैमा पनि गरिन्थ्यो । मुख्यतयाः शुक्ल अष्टमीका दिन खड्ग स्थापना गरिन्थ्यो । त्यसको पर्सिपल्ट खड्ग सञ्चालन गर्ने र कामना सहित दशैमा देवीको उपासना गर्ने चलन बसेको थियो । आश्विन शुक्ल प्रतिपदाका दिन गोरखा दरबारको दशैँ घरमा राखेको जमरालाई नारायणहिटी दरबारमा लगिन्छ र सप्तमीका दिन भित्र्याउने चलन थियो ।

गोरखाबाट निश्चित विधानसाथ रानीपोखरीको उत्तरी किनारामा ल्याई पु¥याइएको फूलपाती राजकीय सम्मानपूर्वक हनुमान ढोकामा भित्र्याइन्छ र यो खुशियालीमा टुडिखेलमा बढाई गरी फूल पाती मनाइन्छ भने अष्टमीका दिन अहिले पनि मूलचोकको मन्दिरमा ल्याएर राखिन्छ र पूजा आजा गर्ने गरिन्छ भने यही दिन खड्ग स्थापना समेत गरिन्छ । अष्टमी र नवमीको बीचमा पर्ने रातलाई कालरात्रीको रुपमा लिइ यस दिनमा मूलचोकको मन्दिरमा तलेजु र कुमारीको उपस्थिती गराई गुप्त रितिले पूजा गर्ने गरिन्छ भने नवमीका दिन बिहान तलेजु भवानीलाई प्रसन्न पार्न मूलचोकमा सयौँ साँगा र बोकाको बली दिइन्छ । देशभर पनि यस दिन देवीको नाममा बली चढाइने चलन यद्यपी कायम छ । दशमीको दिन दशैँघरमा लामो पूजा पछि नारायणहिटी दरबारमा प्रसाद स्वरुप टीका लगिन्थ्यो र यस दिन हनुमान ढोका दरबारको मूलचोकमा दिनभर पूजा हुन्छ । राती १०–११ बजे खड्ग जात्रा शुरु भएपछि दशैँ सकिएको मानिने छ भने गाउँघरतिर टीका दिनको बिहानी पूजापश्चात टीका लगाउने कार्य शुरु हुन्छ र कोजाग्रत पूर्णिमासम्म इष्टमित्र कहाँ जाने आउने टीका र आशिष लिने गरेर दशैँलाई विदा गर्ने गरिन्छ ।
अन्तत्वगत्वा समग्रमा दशैँ नेपालीहरुको महान् पर्व सुखद पर्व र पावन अवसर हो । यसलाई परम्परागत रुपमा मनाउ, आफ्नो हैसियत अनुसार खर्च गरौँ, थोरैमा धेरै रमाउ, आशिष र शुभकामनाको आदानप्रदान गरौँ, पर्व हर्षपूर्वक मनाउँ, खुशीले मनाउँ, सद्भावले मनाउँ । पर्वका नाममा हुलडवाज र फजुल खर्च होइन हैसियत अनुसार पर्व मनाउ, देखिसिकीले आयो दशैँ बाजा बजाई गयो दशैँ ऋण बोकाई नहोस् । पावन असर आगमनको माहौलमा समस्त देशबासी, एवम् आरणीय पाठक वर्गमा पंक्तिकारको हार्दिक मंगलमय शान्ति, सुस्वास्थ्य, दीर्घायू, उत्तरोत्तर प्रगती एवम् निडर र कर्मठताको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्