हाम्रो नेपाली समाजमा मोहीलाई संस्कार र परम्परासँग पनि जोडिएको छ । घरमा कोही पाहुना आउँदा वा बाटो हिँड्ने मान्छेले पानी माग्दा मोही खुवाई स्वागत गर्ने हाम्रो पुरानो मौलिक परम्परा हो । बिस्तारै बिस्तारै यो परम्परा लोप हुँदै गएको थियो । गाउँघर तिर मोही खाने चलन कतै कतै अलि अलि बाँकी रहेको छ भने शहरतिर चाहिँ किनेर खान पाइन्थ्यो। तर खासै उत्साहजनक रुपले सबैको रोजाइमा परि मोहीको खपत हुन सकेको थिएन । हिजो गाउँघरतिर खान बानी परेका र मोहीको महत्व बुझ्नेले मात्र सेवन गरेको देखिन्थ्यो । खासै त्यति ठूलो परिणाममा बिक्री भएको देखिंदैन्थ्यो । व्यावसायिक रुपमा पनि खासै मोही बजारमा आएको थिएन । दुग्ध विकास संस्थानले प्याकेटमा मोही निकालेको थियो तर त्यो त्यति धेरै बिक्री हुन सकेको अवस्था थिएन ।

नेपाल डेरी एसोसिएसनको टिमले प्रायः नयाँ नयाँ कार्य गर्न रुचाउने र अरुको मन खिच्ने खालको काम गर्न चाहन्थ्यो । त्यही सिलसिलामा कहीँ कतै जाँदा समुहमा दुध हालेको चिया मात्र सेवन गर्ने, लस्सी पिउने र सकभर दूध तथा दुग्ध पदार्थ उपभोग गर्ने गर्दथे । आफ्नो घरपरिवार वा चिनेजानेका साथीभाइहरु र नातागोतामा सकभर दूध तथा दुग्ध पदार्थ भरसक बढी नै उपभोग गराउने गर्दथे । यसो कतै जाँदा मोही, लस्सी, दूध, दही, मिठाई आदि दुग्ध पदार्थ सेवन गरेको फोटो सामाजिक सञ्जालमा राख्ने आदि काम गर्ने गर्दथे। यो क्रम निरन्तर चलिरहेको थियो । कृषि मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशु सेवा विभाग, कृषिका विभिन्न कार्यालय वा अन्य कतै जाँदा पनि दुध तथा दुग्ध पदर्थ सेवन गर्ने र अरुलाई पनि त्यही सेवन गर्न प्रेरित गर्ने गर्दथे । एक दिन अचानक अध्यक्ष प्रल्हाद दाहालको मनमा “कहीँ सार्वजनिक स्थानमा प्रत्यक्ष ठेकी मै मोही तुल्याएर खुवाउँदा त साँच्चै पपुलर हुन्छ होला है “ भन्ने सोच आयो र त्यहि कुरा साथीहरुलाई सुनाए । यही क्रममा केही समयपछि २०८० साल श्रावण १ गतेबाट काठमाडौँको दरबार मार्ग स्थित ओरिएन्ट क्याफेमा रैथाने एग्रो प्रोडक्ट मेला शुरु भएको थाहा पाएपछि ठाउँ अवलोकन गर्दा अध्यक्ष दाहाललाई त्यो स्थान अत्यन्तै उपयोगी लाग्यो र दुई वर्षसम्म नेपाल डेरी एसोसिएसन र प्रोडक्ट प्राली बीच निःशुल्क प्रत्येक्ष ठेकीमा मोही तुल्याएर सेवन गराउने कुरामा सम्झौता गरियो । एसोसिएसनमा आबद्ध सबै सदस्यहरुले पालैपालो दही ल्याउने कार्यमा सहभागी जनाउँदै आएका छन् । दहि उपलब्ध गराउने सदस्यहरुलाई समय समयमा एसोसिएसनले प्रशंसा पत्र प्रदान गर्ने गरेको छ । मोही अभियानमा हरेक हप्ता कहिले को ? कहिले को ? विशिष्ट व्यक्तित्वहरू आउन थाले र मोही आफैं तुल्याई अनुभव लिन थालेपछि मिडियाले त्यो प्रसारण गर्दै गर्दा दिनदिनै त्यहाँ मानिसहरूको उपस्थिति बढ्न थाल्यो। त्यो कार्यक्रममा पूर्व ऊर्जा मन्त्री गोकर्ण बिष्ट, वर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री रामनाथ अधिकारी, माननीयहरु, पालिकाका मेयरहरू, उपमेयरहरू, देशका उद्योगपतिहरू, उद्योग वाणिज्य महासंघमाका उपाध्यक्ष हेमराज ढकाल, पूर्व केन्द्रीय सदस्य सुमित केडिया, केन्द्रीय सदस्य पशुपतिदेव पाण्डे लगायतका विशिष्ट व्यक्तित्वहरू उपस्थित हुँदा मिडिया कभरेज राम्रो हुँदै गयो । जो आम उपभोक्ता त्यहाँ आए उनीहरुले अर्को पटक आउँदा आफ्ना बालबालिकाहरू पनि लिएर आउन थाले र दिनदिनै मोही अभियानको प्रचारप्रसार ब्यापक हुँदै गयो ।

यो अभियानमा हालसम्म वर्तमान सभामुख देवराज घिमिरे, वर्तमान प्रधानमन्त्री केपी शर्म वली, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी लगायतका धेरै विशिष्ट व्यक्तित्वहरूको साथ रहेको छ । फलस्वरूप अहिले विवाहको पार्टी, भोज, भतेर, शुभ कार्यहरू हरेक ठाउँमा मोहीले स्थान पाउन थालेको छ । विभिन्न राजनीतिक दलका कार्यक्रमहरूमा पनि मोही राख्न थालिएको छ । नेपाल डेरी एसोसिएसनले अभियान प्रबर्द्धन र प्रोत्साहनका लागि समय समयमा कविता, वक्तृत्वकला लगायतका प्रतियोगिता आयोजना गर्ने, स्कुल कलेजमा मोहीको महत्व बुझाउँदै मोही सेवन गराउन थाल्यो । आज यो अभियानले सार्थकता पएपछि व्यवसायिक रुपमा पहिलो पटक पोखराको बजगाई डेरी उद्योगले सञ्जीवनी ब्राण्डमा मोही उत्पादन सुरु गर्यो भने दोस्रोमा लुम्बिनी प्रदेशको कपिलवस्तु स्थित ग्लोबल डेरी प्रालीले बुद्धभूमि ब्रान्डमा मोही उत्पादन सुरु गरेको छ । अहिले पोखराको एस एन्ड एस डेरी उद्योगले दर्पण ब्रान्ड, चितवनको पवन डेरीले विजय ब्रान्ड, कोशी प्रदेशको श्री साझा डेरीले साझा ब्रान्ड लगायत देशभर एक दर्जनभन्दा बढी डेरी उद्योगले व्यवसायिक रुपमा ब्रान्डिङ गर्दै बजारमा मोही ल्याएका छन् । यसले चौतर्फी मोहीको चर्चा बढेको छ। जताततै आजभोलि हिजो मोही सेवन गर्न अफ्ट्यारो मान्नेहरु पनि मोही सेवन गरेको भिडियो बनाउँदै सार्बजनिक गर्न थालेका छन् । बजारमा अहिले करिब २ लाख ५० हजार लिटर मोही खपत भएको तथ्याङ्कले देखाउँछ भने यसलाई विस्तार गर्दै लान सक्दा यसको बजार राम्रो हुन सक्छ । पछिल्लो समय विस्तार अन्य पेय पदार्थको स्थानमा मोहीले पनि स्थान पाउन थालेको छ ।

अहिलेको समस्या भनेको मोहीलाई लामो समयसम्म राख्न नसक्नु र खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट मोहीको उत्पादन बारे केहि उल्लेख नहुनु पनि हो । मोही ब्रान्डिङ गरी आधुनिक मेसिन मार्फत प्रिजभेटिभ राख्दा १५ दिनसम्म चिसोमा राख्दै प्रयोग गर्न सकिन्छ । आशा छ सबै मोही बनाउने उद्योगले यो कुरामा ध्यान दिनु नै हुनेछ । विदेशमा मोहीलाई बटर मिल्क भन्छन् । भारतमा मोहीलाई छाच भन्छन् भने अन्य देशहरूमा हाम्रै देशमा जस्तै योगर्टमा पानी हाली ड्रिङ्किङ योगर्टको रूपमा प्रयोग गर्दछन् । भारतको अमूल डेरीको उत्पादन सबै एसियन देशहरूमा अत्यन्तै पपुलर छ । एसियन देशमा मोही, छाच, ड्रिङ्किङ योगार्ड र बटर मिल्क आदिका नाममा धेरैले चिन्दछन् र सेवन पनि गर्दछन् ।

मोही चिसोमा राख्दा पनि अहिले भनेजति लामो समयसम्म टिकाउन सकिंदैन । हामीले यो प्रचारप्रसारसँगै यसको गुणस्तरमा पनि उत्तिकै ध्यान दिनु पर्दछ । यसको गुणस्तर कायम गरी तोकिएको समयसम्ममा बिक्री गर्न सक्दा अन्य पेय पदार्थसँगै यो पनि एउटा प्रतिस्पर्धी पदार्थमा ब्रान्डिङ गरेर जान सकिन्छ । यति हुँदाहुँदै पनि यसको बजार व्यवस्थापन भने कठिन छ । यसको लाइफ कम हुने हुँदा टाढा टाढासम्म बजारीकरण गर्न सकिन्न भने फ्रिज नभएको ठाउँमा बिक्री गर्न सकिँदैन । बिक्री नहुँदा फाल्नुपर्ने परिस्थितिमा थप लागत मूल्य थपिन पुग्छ । युवा पुस्तामा मोही सेवनको आदत बनाउन कठिन छ । यसमा आम उत्पादकले ध्यान दिन जरुरी देखिन्छ । सबैले एकै किसिमको बोतल र स्वादमा होइन ग्राहकको रुचाइ अनुसार उत्पादन निकाल्न सक्दा बजारमा सबैलाई टिक्न सहज हुनेछ । उपभोक्ताको माग अनुसार २०० मिलिटरदेखि १००० मिलिलिटरसम्म निकाल्नु उपयुक्त हुन्छ । देशमा ३ करोड जनता छन्। १ करोड विदेशमा रहेका होलान्। २ करोडमा १ करोडले २०० मिलिलिटर मात्र सेवन गर्दामा पनि दैनिक ५० हजार लिटर बेच्न सकिन्छ । तर उपभोक्ताको माग अनुसार गुणस्तर कायम गर्दै विभिन्न स्वादमा फरक फरक बोतलमा उत्पादन गर्न सक्नुपर्ने हुन्छ ।

मोहीले सबैलाई फाइदा हुन्छ । यसले पेटको सफाइ गर्नुका साथै शरीरमा फुर्ती प्रदान गर्दछ । अपच हुनेहरुलाई खाना पचाउनमा सहयोग पु¥याउँनुको साथै खानामा रुचि पनि जगाउँछ । मोही कडी बनाएर खाँदा शरिरमा गडेर बसेको चिसो पनि हटेर जान्छ । अहिले पछिल्लो समय मोही अभियानमा विभिन्न पालिकाले पनि साथ दिएका छन् । चितवनको इच्छा मनकामना, काभ्रेको मण्डनदेउपुर र भुम्लु पालिकाले आफ्नो पालिकामा सबैलाई मोही सेवन गराउने र विस्तार मोही ब्रान्डिङमा सहयोग पु¥याउने उद्घघोष गरेका छन् । अब हामी सबै मिली हाम्रा यस्ता परम्परा र संस्कृति जोगाउन निरन्तर लाग्नु पर्दछ । अन्यथा हाम्रा भावी पुस्ताहरू यस्ता जानकारीबाट वञ्चित हुनेछन् । हामीले हाम्रो देशका यस्ता मौलिक परम्परा र संस्कृति जोगाउँदै पर्यटनसँग जोड्ने र विदेशी स्वदेशमा भित्र्याउने काम गर्न सक्नुपर्दछ । हाम्रो देशमा यस्ता अनेकौँ किसिमका मौलिक परम्पराहरू अहिलेसम्म पनि चलन चल्तीमै छन् । अब यसलाई लोप हुन नदिई बचाउँनतिर लाग्नुपर्दछ । यसमा हामी सबैको भलाई हुनेछ । अहिले बजारमा दूध तथा दुग्ध पदार्थको उपभोग घटेको समयमा मोहीको खपतले थोरै भए पनि राहत मिलेको छ । मोही अभियान संचालन गरिरहँदा मिडियाले एसोसिएसनलाई राम्रो स्थान दिइएको छ भने मोहीको चौतर्फी प्रचारप्रसार भएको छ । यहि क्रममा सभामुख माननीय देबेन्द्रराज घिमिरेले एसोसिएसनलाई मोही अभियान संचालन गरे बापत सम्मान समेत पाइएको थियो । अहिले पछिल्लो समय मोहीको चौतर्फी, प्रशंसा भएको छ । यसले थोरै भए पनि आम किसानको लागि खुशीको कुरा हो ।