यो सुख्खा सिजन हो । यितबेला देशभर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म ५३ भन्दा वढी जिल्लाका ४३६ भन्दा वढी स्थानहरुमा वन डढेलो लागिरहेको छ ।
लामो समयसम्म पानी नपरेको र हावा चलेको कारण जताततै डढेलो फैलिरहेको छ । दिनप्रतिदिन देशभर डढेलोको अवस्था बिराल बनिरहेको छ । नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ । यतिबेला देशको पहाडी भागहरु काभ्रे, कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतको बिभिन्न जिल्लाहरु डढेलो प्रभावित बनिरहेका छन् । नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटनाहरू हुने गरेको विगतको तथ्यांक देख्न सकिन्छ ।
वढी सुख्खा सिजन हुने भएकोले ८० प्रतिशत वन डढेलाको घटनाहरू फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्दछ । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरु हुने गर्दछ । यसकारण अहिले हामी उच्च जोखिममको समयमा छौँ । मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटनाहरु हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने र डढेलो लगाउने अपराध कर्मलाई सबै लागेर कारबाहिको दायरामा ल्याउनुपर्ने देखिन्छ ।
नेपाली सेनाको सुरक्षा घेरा भित्र रहेको शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा डढेलो लाग्यो । ८ घण्टापछि हेलिकप्टरबाट पानी खन्याएर आगो नियन्त्रणमा लिइयो । डढेलो के कारणले लाग्यो ? अझै खुल्न सकेको छैन । त्यसै गरी चोभारको जंगलमा डढेलो लाग्यो । स्थानीयले देखेपछि दमकल बोलाएर आगो निभाउने काम भयो । चोभारको जंगलमा कसरी बारम्बार आगलागी भयो ? राजमार्ग छेउछाउ डढेलो लागिरहेको हुन्छ । पत्ता लाग्न सकिरहेको छैन । काभ्रेस्थित अरनिको हाइवे अन्तर्गत खवा केराघारीको जंगलमा आगो लाग्यो । तलबाट आगो सल्किरहेको हुन्छ । माथी घरबस्ती ! यसरी देशका विभिन्न जिल्लामा अवस्थित वनहरुमा दैनिक जसो डढेलो लागिरहेको छ । अहिले काठमाडौं लगायतका शहरमा बढेको प्रदूषणको मुख्य कारण डढेलो पनि हो । विगत ९ वर्षयताको तथ्यांक हेर्ने हो भने । हाल डढेलो दिन दुगुणा रात चौगुणाले बढिरहेको छ ।
राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगतका वर्षहरुमा नेपालमा वार्षिक सरदर २ हजार ५ सय डढेलोको घटना दर्ता हुने गर्थे । यो वर्ष एकैदिन ५ सय वटासम्म डढेलोको घटना दर्ता भएका छन् । डढेलोका कारण वार्षिक २ हनार हेक्टर वन क्षेत्र नोक्सान हुने गरेको प्राधिकरणको तथ्यांक छ ।
एक अध्ययनका अनुसार नेपालमा हुने अधिकांश डढेलो ‘नियोजित’ हो । झण्डै ६४ प्रतिशत डढेलोका घटना कृत्रिम छन् । प्राकृति कारणले वनमा डढेलो लाग्ने घटना ज्यादै न्यून रहेको अध्ययनको प्रक्षेपण छ । विज्ञहरुका अनुसार मानवीय लापरवाही र वन पैदावरको अनुचित लाभ लिने उद्देश्यले नै धेरै डढेलोका घटनाहरु हुने गरेका छन् । पहिले प्राकृतिक हिसाबले वनमा डढेलो लाग्थ्यो । अहिले मान्छेले कि त जानेर कि त लापरवाही गरेर डढेलो लाग्ने गरेको छ । वन पैदावरको चोरी शिकारी वा नयाँ पालुवाका लागि पनि डढेलो लगाइदिने क्रम बढेको छ ।
वनजंगलमा डढेलो लाग्नुको थुप्रै कारणहरु छन् । जसमध्ये मुख्य ३ कारण लाई लिने सकिन्छ । पहिलो लापरवाही, दोस्रो नियोजित र तेस्रो जंगली जनावर भगाउने उपाय स्वरुप । त्यतिमात्र नभएर बाटो हिड्दा चुरोट विँडी खाएर ननिभाई फाल्दिने, गोठाला गएकाहरुले घासको लोभमा आगो लगाइदिने, तथा जगंली जनावरलाई भगाउन आगो लगाउने प्रवृति धेरै देखिएको छ ।
सरकारले डढेलो नियन्त्रणमा प्रभावकारी चाल्न सकेको छैन् । सरकारले जनतालाई डढेलो नियन्त्रणबारे पर्याप्त जानकारी गराउनपनि सकेको छैन । त्यस बारे सरकार आफैंले पनि सिकेको छैन, अरुलाई के सिकाउँनू ? डढेलो नियन्त्रणको अहिलेको विल्कप भनेको सबैलाई जिम्मेवार हुन सिकाउनु हो ।
नियोजित रुपमा डढेलो लगाउनेलाई कारवाही गर्नुपर्छे । कारबाही भैरहेको छैन । कानून फितलो हुँदा दैनिक यस्ता घटना बढिरहेका छन् । डढेलोका कारण प्रदूषण मात्र होइन विभिन्न लोपोन्मुख बोटबिरुवा र जनावरहरूको अस्तित्व समेत संकटमा पर्दै गएको छ । डढेलोबाट बस्ती र वन्यजन्तु जोगाउन बढी संवेदनशील बन्न सक्नु पर्दछ ।
आगो लागिहालेको अवस्थामा अग्नीय रेखा बनाएर वन तथा बस्ती जोगाउन तिर लाग्नु पर्दछ । ‘डढेलो नियन्त्रणमा स्थानीय समूदायको भूमिका एकदमै महत्वपूर्ण हुन्छ । स्थानीयको सहयोग विना डढेलो नियन्त्रण गर्न गाह्रो छ । चुरोटको ठुटा निभाएर मात्र फाल्ने, वनभोज खान जाँदा आगोलाई राम्रो सँग निभाउने, सकभर सलाई लाइटर लिएर वनमा नजाने, वनमा डढेलो लागेको देखे सबैभन्दा पहिला प्रहरी वा स्थानीय पालिकाहरुलाई खबर गर्ने लगायतका काम गरिनु पर्दछ ।
नेपालमा डढेलो नियन्त्रणका लागि भरपर्दो साधन र उपकरणकै अभाव रहेको स्वीकार्न सकिन्छ । डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयबाट टोली खटिने गरे पनि अत्याधुनिक प्रविधिको प्रयोग हुन सकेको छैन । त्यस्ता टोलीले स्याउलाकै भरमा डढेलो नियन्त्रणको प्रयास गर्दै आएका छन् । जनचेतनासंगै डढेलो नियन्त्रणका लागि सरकारले पर्याप्त बजेट र साधन उपलब्ध गराउनुपर्ने देखिन्छ ।
यसरी हेर्दा वन जंगलमा लाग्ने डढेलो अधिकांश स्थानीयले नै लगाउने गरेको अध्ययनले देखाएको छ । वनजंगलमा आगो लगाउनेलाई सरकारले कारबाही गर्ने व्यवस्था पनि गरेको छ । वन ऐन २०७६ का अनुसार राष्ट्रिय वनमा आगो लगाउने र आगलागी हुने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल गरी ३ वर्षसम्म कैद वा ६० हजार जरीवाना अथवा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
सुराक दिने वा अपराधी पक्राउ गर्न सहयोग गर्ने संस्था वा व्यक्तिलाई कसुरदारले तिर्ने जरिवानाको दश प्रतिशत पुरस्कार स्वरुप दिने व्यवस्थापनि रहेको छ । तर हालसम्म प्राधिकरणसँग कति कारबाहीमा परे, क–कस्ले के कति पुरस्कार र दण्ड जरिवाना पाए त भन्ने कुनै लेखाजोखा छैन । वनजंगलमा आगो कसले लगायो ? भन्ने समेत पत्ता लाग्दैन । हुन त डढेलो लगाउने व्यक्तिलाई पत्ता लगाउने कार्य त्यति सजिलो होइन र छैन । कहिलेकाहीँ पत्ता लगाएर पनि पर्याप्त प्रमाणको अभावमा उनीहरुलाई छोड्नुपर्ने बाध्यता रहने गरेको पनि देख्न सकिन्छ ।