स्व.जनकप्रसाद हुमागाई “साहित्य सँधै धेरै जनताको हितमा सघाउ पुग्ने र बहुसंख्यक जनताको भलो गर्ने हुनुपर्छ ” भन्नुहुन्थ्यो । त्यसैले उहाँ साहित्य, लोकसाहित्य, निबन्ध, बाल साहित्य र समालोचना जस्ता विधामा कलम चलाउनुहुन्थ्यो । उहाँ बाचुन्जेल आइपरेका सबै विषम परिस्थितिसँग जुध्दै प्रगतिशील विचार र दर्शनका पछि निरन्तर लागिरहनु भयो । त्यसैले अहिले हाम्रो बीचमा नरहे पनि उहाँका कृति, विचार र संघर्षशील जीवनबाट धेरै कुरा नयाँ पुस्ताले सिक्न सक्छ
“साहित्यका निम्ति साहित्य लेख्न भनेर होइन, समाजका तह नमिलेका पक्षले घोच्न पोल्न थालेपछि कलम समात्न थालेको हुँ ” भन्ने प्रगतिवादी साहित्यकार जनकप्रसाद कर्म, भाग्य, दिन दशा, पूर्वजन्म, पुनर्जन्म, भूतप्रेत, धामी बोक्सी जस्ता रुढिवादी पछौटे दर्शन दृष्टिकोणबाट मुक्त हुनुहुन्थ्यो । त्यसैले “बालसाहित्य वैज्ञानिक दर्शन र दृष्टिकोण प्रदान गर्ने, पठनमा रुचि जगाउने एक जातिले अर्को जातिलाई, एक देशले अर्को देशलाई आदर र सम्मान गर्न सिकाउने जस्ता गुणले युक्त हुनुपर्छ” उहाँले भन्नु हुन्थ्यो । बाबु दुर्गाप्रसाद हुमागाईं र आमा पवित्रा देवी हुमागाईंको कोखबाट तेस्रो सन्तानका रूपमा जनकप्रसाद हुमागाईंको जन्म विक्रम संवत १९९४ असोज २८ गते महानवमीको दिन काभ्रेपलान्चोक जिल्लाको बलथलीमा भएको थियो । २००७ सालपछि ज्ञानको भोक मेटाउन काठमाडौँ आई उहाँले भाषा पाठशाला हुँदै निजामती मध्यमा परीक्षा, प्रबेशिका परीक्षा, साहित्य विशारदको परीक्षा उत्तीर्ण गर्नुभएको थियो । काठमाडौंमा बाँच्न लाजिम्पाट, फसिकेब, बागबजार, बानेश्वर, कुरियागाउँ आदि ठाउँमा डेरा सर्दै तर विचार उकास्दै उहाँ खारिनुभएको थियो । २०१४ सालमा खाएको जागिरका कारण २०१५ सालको आमनिर्वाचनमा कर्मचारीले आफनो सिद्धान्तको प्रचार गर्न नपाउने भनेपछि जागिर छाडेका उहाँले पछि प्रगतिशील राजनीतिसँग आबव्द भएपछि भने पक्राउ पर्ने डर र काठमाडौंमा बाँच्न, जागिरको आड लागेको कुरा भेटघाटमा बताउनु हुन्थ्यो । २०१७ सालमा मालपोत विभागको बहिदार पदमा जागिरे भएर २०२१ सालमा अभियानको रूपमा आएको भूमिसुधारमा सरुवा भई २०२४ सालमा नायब सुब्बा भएपछि २०४९ मा सोही पदबाट अवकाश पाउनुभएको थियो । मेरो उहाँसँगको भेटघाट पनि यही जागिरकै क्रममा भएको हो । जागिरले मात्र जीवन धान्न मुस्किल हुँदा जागिरको अतिरिक्त उहाँ साफी लेखन, सम्पादन, साहित्य सिर्जनामा सँधै तल्लीन भएको पाइन्थ्यो । २०२३ सालदेखि २०२८ सालसम्म नेपाल राष्ट्रिय विद्यापीठमा सहायक शिक्षक भै राति राति पढाउने काम पनि गर्नुभएको कुरा उहाँसँगको उठबसबाट थाहा पाएँ । बिदा र कहिलेकाँही घर पुगेका समयमा पनि फुस्राडाँडामा रुख बिरुवा रोपेर हरियाली बनाउने र घरका लागि चाहिने सुकुल, चकटी, ढक्की, डोको बुनेर श्रमशील जिन्दगीको उदाहरण प्रस्तुत गर्नु हुन्थ्यो भन्ने कुरा वहाँका पछि लागेर वहाँकै घरगाउँ पुग्दा अरुले सुनाउँथे आफुले पनि देखिन्थ्यो ।
गाउँमै हुर्के बढेका र गाउँका शोषक सामन्तको रजाइँ देखेकाले जनकप्रसाद सानै देखि समाजमा चलेको थिचोमिचो, अन्याय, अत्याचारका विरोधीका रूपमा देखापर्नु भएको थियो । आफू वाँचेको भोगेको समाजमा नयाँ परिवर्तन ल्याउन उहाँ संधै लागि पर्नुहुन्थ्यो । शिक्षा हासिल गर्न काठमाडौं सहर आइपुग्दा होस् वा जागिरमा रहँदा सँधै गाउंको शिक्षा, बाटो, पुलपुलेसा र खानेपानी आदिका लागि तनमन दिएर लागिपर्ने उहाँको बानी थियो । २०१५ सालमा ग्राम उन्नति प्राथमिक विद्यालय अहिलको लड्केस्वर आधा÷भ’त प्रथमिक विद्यालय खोल्ने कार्यमा पनि उहाँको योगदान ठुलै रहेछ । गाउँमै लड्केस्वर पुस्तकालय २०१५ सालमा, वसन्त बाचनालय २०१९ मा सञ्चालन गरेका जनकदाइले पछि २०४३ तिर माइतीघर (अहिले मण्डला वनेको स्थान) भक्तबहादुर नेपालीको अडिट फर्ममा वहाँकैे अध्यक्षतामा ‘वसन्त वाचनालय’ नामबाट सञ्चालित सानो पुस्तकालयमा म पनि जोडिएको थिएँ । अफिसको काम सकेपछि प्राय त्यहाँ भेला हुने, पत्रपत्रिका पढ्ने, छलफल गर्ने र कामको योजना बनाउने कार्य हुन्थ्यो । वाचनालय त खुल्यो किताब, पत्र पत्रिका राख्ने दराज नहुँदा एकदिन हास्यकलाकार गोपालराज मैनालीले आफनै घरको काठको राम्रो दराज भरियालाई बोकाएर वाचनालयमा ल्याउनु भएको घटना म कहिल्यै बिर्सन सक्तिन । २०५२ मा मदन आश्रित स्मृति पुस्तकालय बलथलीमा स्थापना गरेर सबैलाई अध्ययनप्रति रुचि जगाउने उहाँको एकमात्र ध्येय थियो । कामका लागि जागिर उहाँको कहिल्यै बाधक बन्दैनथ्यो । उहाँ जनताका हक र अधिकारका लागि समाज सुधारका भावनाले ओतप्रोत भएका गीत लेख्दै गाउँदै हिँड्नु हुन्थ्यो । शोषण अन्याय अत्याचार र कुरीतिका विरुद्ध गाउँगाउँमा साहित्यिक सांस्कृतिक कार्यक्रम गरेर अरूलाई पनि यस्ता कार्य गर्न ;धैँ प्रेरित गर्ने गर्नुहुन्थ्यो । प्राय आफनो गाउं बलथली र पछि रानीपानी ति÷ पनि बस्न थालेपछि उतै पनि समय समयमा विभिन्न कवि कलाकार लेखक, नाटककार संगीतकार र राजनीतिज्ञहरुलाई गाउँमा लगी विकासदेखि साहित्यिक र सांस्कृतिक कार्यक्रम गरेर जनताको चेतनाकोस्तर उकास्दै संगठित हुन प्रेरित गरिरहनुहुन्थ्यो । यस्ता कार्यक्रममा हामीलाई पनि बलथली र रानीपानीमा समय समयमा पुग्ने मेसो मिल्दथ्यो । सुरुदेखि नै वामपन्थी विचारबाट प्रभावित भएका जनकप्रसाद हुमागाईं संगठित जीवन बिताउन रुचाउनु हुन्थ्यो । राजनीतिक सिद्धान्तबाट प्रेरित साहित्यिक प्राणीका रुपमा उहाँ बाँच्न चाहनुहुन्थ्यो । तत्कालीन समयमा अति भूमिगत रूपमा रहेका वरिष्ठ साहित्यकार एबं राजनीतिज्ञ श्याम प्रसाद शर्माको नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा रही उहाँले आप्mना कार्यहरू अघि बढाएको पाइन्छ । त्यसैले श्यामप्रसाद शर्मालाई आफनो आदरणीय गुरु मान्दै आफूले देश र समाजलाई चाहिने धेरै कुराहरूको शिक्षा उहाँबाटै पाएको भन्नुहुन्थ्यो । जनकप्रसाद आफनो विचारलाई दरो खरो र प्रस्टसँग राख्ने व्यक्तिका रूपमा पनि चिनिनुहुन्थ्यो । वामपन्थी पार्टीहरू एक नभएकामा तत्कालीन समयमा पनि उहाँ सँधै चिन्तित हुनुहुन्थ्यो । २०४७ को जनआन्दोलनपछिको खुल्ला वातावरणमा नेकपा एमालेमा प्रवेश गरेपछि राष्ट्रिय जन सांस्कृतिक मंचको केन्दी्रय सदस्यसमेत रहनुभएको थियो । उहाँसँगको साथ जागिर र विचारबाट अघि बढ्दैजाँदा तत्कालीन समयमा उपत्यकामा आयोजित सबैजसो साहित्यिक, राजनीतिक, सांस्कृतिक कार्यक्रममा सामेल हुन पाइन्थ्यो । आफू पुग्ने कार्यक्रममा धेरै साथीहरूलाई साथै लैजाने स्वभाव उहाँको थियो । उहाँकै साथ पाएर मैले उपत्यकामा बस्ने धेरै साहित्यकारहरूसँग भेट्न चिन्न पाएको थिएँ । उहाँ साहित्यिक गतिविधि गर्न हामीलाई सँधै हौस्याइरहनुहुन्थ्यो । २०३६ सालपछि झन्डै ४ वर्षसम्म हामी केही साथीहरू मिलेर निकालेको हस्तलिखित पत्रिका ‘चित्कार’ लाई पनि धेरै पाठकका बीच पु¥याउनमा उहाँको ठूलो सहयोग पाएका थियौँ ।
नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाको निधन भएको खबर पाएपछि हामी दुवै अफिसबाटै श्रद्धाञ्जलीका लागि शव राखिएको स्थान वत्तीस पुतली पुगेका थियौँ । त्यतिबेला हाम्रो अफिस बानेश्वरमा थियो । श्रध्दान्जली व्यक्त गर्न लाम लाग्दै भुइँतलामा दक्षिण सिरान गरेर सुताइएका बिपि कोइरालाको शरीरमा अबिर र फूल चढाएर श्रद्धान्जली व्यक्त गर्दै अफिस फर्केका थियौँ । बेलुका रत्नपार्कको कार्यक्रममा पनि सहभागी भएका थियौँ । त्यस परिस्थितिमा पनि जनक दाइ एउटा राजनीतिक विचारले खारिएको व्यक्ति हुनुहुन्थ्यो । जागिरे भएर पनि त्यस बेलाको परिस्थितिबाट डराउनु हुन्नथ्यो । उहाँ जागिरे मनस्थितिबाट माथि उठेर देश र समाजका लागि निरन्तर व्यवहारवादी भएर काम गरिरहेको अनुभव म आफूले गरेको थिएँ । त्यसैले मेरो मनभित्र ठाउँ पाउने केही मानिसमध्ये जनक दाइ पनि एक हुनुहुन्छ् । अहिले सम्झदा उहाँ विनाको टुहुरो जीवन बितिरहेको महसुस हुन्छ ।
त्यस बेला हाम्रो गाउँ तीनथाना यो भेगकै गाउँहरूमध्ये दशैं, तिहार ,नयाँ वर्षको अवसर पारेर नाटक निकाल्ने गाउँका रुपमा चिनिन्थ्यो । यस्तो काममा स्व. कुलमान दाइ (कुलमानसिंह भण्डारी) को सहयोग रहन्थ्यो । जनक दाइसँगको भेटघाट पश्चात गाउँमा हामीले विविध समय पारेर साहित्यिक जमघट हुने थलोका रूपमा पनि मुनाल क्लबलाई प्रयोग गरेका थियौँ । विभिन्न चाडपर्वका अतिरिक्त देबकोटा, भानुभक्त, मोतिराम आदिको जन्मजयन्तीको अवसर पारी कविता गोष्ठी, चित्रकला प्रतियोगिता, अरू अतिरिक्त कार्यक्रम पनि प्रभावकारी रूपमा सञ्चालन गर्ने गरेका थियौँ । यी सबैका उद्देश्य भने युवा र केटाकेटीहरूलाई हाम्रो बिचारप्रति नजिक्याउने, समाजमा रहेका विकृति विसङगतिलाई चिर्ने र जनतालाई सचेत पार्दै पञ्चायती व्यवस्थालाई कमजोर पार्नीनै थियो । साहित्यिक कार्यक्रममा हाम्रा अतिथिहरू केदानमान व्यथित, मन्जुल, शान्तादास, केवलपुरे किसान, गोविन्दभटृ, जनकप्रसाद हुमागाईं, मुकेश चालिसे, भक्तबहादुर नेपाली, मोदनाथ प्रश्रित, गंगाप्रसाद उप्रेती, झलकमान गन्धर्व आदि हुनुहुन्थ्यो । यी सबैको चाँजोपाँजो मिलाई दिने काम भने जनकप्रसाद हुमागाईले नै गरिदिनु हुन्थ्यो ।
सादा जीवन उच्च विचारलाई जनकप्रसाद हुमागाईंले आफनो जीवनभर व्यवहारमा रत्तीपनि डग्न दिनुभएन । प्राप्त भएको अधिकारलाई व्यवहारमा लागु गर्दै जाने र प्राप्त गर्नुपर्ने अधिकारका लागि सँधै लागिरहनुपर्छ भन्ने व्यवहारवादी एवं नम्र स्वभावका, उहाँ वामपन्थी, गैरवामपन्थी हितैषी तथा अन्य सबैसँग सँधै हार्दिक व्यवहार गर्न रुचाउनुहुन्थ्यो । प्रायः कीर्तिपुर र लुभुमा बन्ने घरबुना कपडाको खद्दरको कोट, दौरा सुरुवाल र भादगाउँले टोपी, कपडाको कालो जुत्ता अनि काँधमा संधै कपडाको लामो झोला र छाता जीवनका अन्तिम समयसम्म पनि छोडेको देखिएन । प्रायः जो कोहीसँग भेटघाट हुँदा पनि उनीहरूको भलो चिताउँदै राम्रो बाटो देखाउने, राम्रा कुराहरु गर्न प्रेरित गर्ने उहाँको स्वभाव थियो । कुनै पनि काम गर्दा योजना बनाएर धेरै सहयोगीहरूलाई साथ लिएर काम गर्ने उहाँको वानी नै थियो । जिम्मा पाएका हरेक कामलाई सफल पार्न मसिनोढङगबाट लाग्ने उहाँको अर्को राम्रो बानी थियो । आफना समयका सबै जसो लेखक कलाकारसँग पनि उहाँको सामीप्य एवं आत्मीय व्यवहार र उठबस थियो ।
जनक दाइ, गोपालराज मैनाली, गोपी मैनाली, श्याम खड्का, भक्तबहादुर नेपाली र म समेतकोे भेटघाटपछि श्रृङखला साहित्यिक पत्रिका नियमित निकाल्ने काममा सहयोग गर्न पाउँदा हामीलाई गौरव लागेको थियो । श्रृङखला मासिक पत्रिकाको उहाँले जिम्मा लिई सञ्चालन गर्न थालेपछि छोटो समयममा नै यसका माध्यमबाट समाजमा योगदान गरेका तर चर्चामा आउन नसकेका कवि कलाकारहरूलाई समाजमा चिनाउने, उहाँहरूको कामलाई उजागर गर्ने कार्य बडो मिहिनेतसाथ जनकदाइले गर्नु भएको थियो । २०४२ तिर पञ्चायतकालमा कविवर युद्धप्रसाद मिश्र अभिनन्दन विशेषाङ्क निकालेर कवि मिश्रको त्याग र दृढतालाई पछिल्ला पुस्ताबीच चिनाउने र उहाँका अप्राप्य कृतिहरूलाई जनताबीच ल्याउने काम गर्नु भएको थियो । त्यस्तै प्रगतिवादी कवि कलाकार गोकुल जोशीलाई पछिल्लो पुस्तामा चिनाउने काम पनि श्रृङखलाले नै गरेको थियो । देशका कुनाकाप्चा डुलेर जनताका दुःख सुखसँग घुलमिल हुने, जनतालाई शोषक सामन्तका विरुद्धमा लाग्न सँधै प्रेरित गर्ने गोकुल जोशीका बारे बुझ्न आफै ठाउँ ठाउँमा पुगी धेरै सोधखोज गरी शोधकर्ताकै रूपमा जनकप्रसाद हुमागाईंले ‘गोकुल जोशी स्मृति विशेषाङक’ निकालेर त्यस मार्फत समाजले बिर्सिसकेको कविलाई चिनाउने कार्य गर्नु भएको थियो । उहाँका अप्राप्य भैसकेका कृतिहरूलाई जनसमक्ष चिनाउने काममा पनि जनकदाइको ठूलो योगदान थियो । लोकगायक अलिमिया, शिक्षासेवी केदारनाथ न्यौपाने र तेजवहादुर चित्रकार, चित्तधर हृदयदेखि देवीप्रसाद उप्रेतीलाई नयाँ पुस्ताका बीच चिनाउन र उहाँहरुका योगदान र कामको कदर गर्नमा पनि जनकदाइकै सम्पादनमा निस्केको श्रृङखलाले महत्वपूर्ण भूमिका खेलेको थियो ।प्रगतिवादी साहित्यकार एवं राजनीतिज्ञ श्यामप्रसाद शर्माबाट ज्यादै प्रभावित हुनु भएका जनकप्रसाद हुमागाईंले ०३६ सालबाट साहित्यकार शान्तदास मानन्धरसँग मिलेर बाल बालिकालाई स्वस्थ खुराक दिने उत्कृष्ट पत्रिका सचित्र रङगीन ‘बालपोष’ को सम्पादन पनि गर्नुभएको थियो । अहिले पनि संझना छ, ‘बालपोष’ पत्रिकाको सहयोगका लागि एउटा सांस्कृतिक टोली लिएर पूर्वतर्फ जाने निर्णय भयो । त्यस टोलीको नेतृत्व जनक दाइले गर्नु हुने भयो । त्यस टोलीमा कलाकारका रुपमा गोपालराज मैनाली, हरिवंश आचार्य, राम थापा, सन्तोष पन्त आदि थुप्रै सहभागी हुनुभएको थियो । यस कामका लागि पनि जनकदाइले निकै मेहनत गर्नुभएको थियो । धरान, विराटनगर लहान, हेटौंडा आदि ठाउँमा भव्यतापूर्वक हास्य व्यङग्य कार्यक्रम सम्पन्न भएको थियो । मान्छेहरूको अपार भिड लागेको थियो । त्यस बेलामा यो कार्यक्रम गर्न पनि प्रशासनमा निकै दौडधुप गरेर स्वीकृति लिइएको थियो । कतिपय ठाउँमा त के हो कसो हो भनेर सोधनी पनि भएको थियो । यस कार्यक्रमको आर्थिक पाटो र सङकलनको जिम्मा मलाई दिइएको थियो । यतिबेला जनक दाइ बानेश्वरको थापागाउंस्थित गोपालराज मैनालीकोमा बस्नु हुन्थ्यो । म उहाँकैमा रात बसेर टिकटबाट उठेको पैसाको हिसाब किताब बुझाएको थिएँ । त्यस्तै श्रृङंखला पत्रिका प्रकाशन गर्न निकै गारो परेपछि आर्थिक स्रोत जुटाउन देउसी भैलो कार्यक्रमको योजना बन्यो । मन्जुल लगायत केही साथीहरूसहित नामचलेका सुन्दरमणि, कमलमणि लगायत साहित्यिक व्यक्तित्वहरूका घरघरमा पुगी रातभर देउसी खेली केही रकम जोहो गरेर पत्रिका सञ्चालन गरिएको संझना पनि ताजै छ । त्यस्तै अन्य धेरै साहित्यिक पत्र पत्रिका जुगल, हिमाल मासिक, रारा अर्धवार्षिक, अरनिको अर्धवार्षिक, प्रलेस त्रैमासिक, संस्कृति द्धैमासिक, बालक मासिकको समेत विभिन्न कालखण्डमा सम्पादन र संयोजन समेत उहाँले गर्नुभएको थियो । २००८।०९ सालबाट लेखनको अभ्यास गर्न थालेका जनकप्रसाद हुमागाईं प्रगतिशील लेखक संघको कार्य समितिमा २०१६ सालमै रहिसक्नु भएको थियो । उहाँको पहिलो कृतिको रूपमा किसानको गीत खण्डकाव्य २०१६, प्रकाशित भएको थियो । त्यस्तै यौटा नारा लाउनु छ (२०१६), नेपाली आमाको सत्य वचन (२०१७), पसिना कवितासंग्रह (२०१९), दुःखी गरिबको सवाइ खण्डकाव्य (२०२१), खोलो साँघु, गोरे घर्तीको सवाई (२०३२), सात सालको परिवर्तन र हाम्रो भविष्य, नेपाली बाल साहित्य (२०५६), भाषा र भाषा (२०५८), शब्दज्ञान (२०६०), मानवता र मुक्तिका कवि गोकुल जोशी (२०६२), निसाना कविता संग्रह (२०६४), खेतवारीको गीत, कवितासंग्रह (२०६५) आदि उहाँका प्रकाशित कृति हुन् । बाल साहित्यका प्रतिभाशाली सर्जक जनकप्रसाद हुमागाईंले बालकथासंग्रह गोकुलकी आमा कसरी निको भइन् (२०३६), गुनिला पाँच बालकथा (२०४१), बा आमाको माया (२०४३), दिदीभाइको माया (२०४७), चम्पा र मायालु काका (२०५०), मालतीको यात्रावर्णन, भाइवहिनीको कथा (२०५३), लहरे पीपलको कथा (२०५९), गल्ती पत्ता लगाउने नाति (२०५९), असल मित्र, नानी पढ्छ (२०६०), विकृत ढोका (२०६३), नानीको प्रगति (२०६३), मुरली वंशी चित्रकथा (२०६३), रजनीको व्यथा (२०६३), आदि प्रकाशित गर्नु भएको छ ।जनकवि गोकुल जोशी प्रतिमा निर्माण समितिको सदस्य भएर काठमाडौं र झापा गर्दै पु¥याको योगदान, केदारनाथ न्यौपानेको प्रतिमा निर्माणमा पु¥याएको सहयोग, युद्धप्रसाद स्मृति प्रतिष्ठानको उपाध्यक्ष र अध्यक्ष तथा कविवर मिश्रको जन्मस्थल भक्तपुर सिरुटार गाविसमा युद्धप्रसाद मिश्र स्मृति भवन र प्रतिमा निर्माणमा रहेको उहाँको योगदान, नेपाल बाल साहित्य समाज र सुनकोसी साहित्य प्रतिष्ठानको उपाध्यक्ष भई गरेको योगदान, त्यस्तै कुलमान सिंह भण्डारी स्मृतिग्रन्थ प्रकाशन समितिको अध्यक्ष भई गरेका यस्ता धेरै उहाँका योगदानहरू संधै संझिन योग्य छन् । मृत्यु पर्खिरहेका अन्तिम दिनहरूमा भेट्नजाँदा वहाँ अस्पतालमा आएका नेताहरूलाई अस्पतालको शैयाबाट “नेपालमा गणतन्त्र अब कसैले रोकेर रोकिन्न । देशमा गणतन्त्र अवश्य आउँछ आउँछ, बरु देश हाँक्ने मित्रहरूले असल पाठ सिकेर देश बन्दा आफू बन्छु, जनता बन्दा आफू् बन्छु भन्ने भावनालाई आत्मसात् गरेर अबको राज्यव्यवस्था चलाउनुहोस” भनेर उत्साहा दिनुहुन्थ्यो ।
अस्पतालको शैयामा अर्बुद् रोग (क्यान्सर) विरुद्ध संघर्ष गर्दाकै अवस्थामा २०६३ मंसिर १० गते उहाँको भव्यरूपमा काठमाडौंमा सार्वजनिक अभिनन्दन गरियो । जनसांस्कृतिक मंच लगायत दर्जनौ संघ संस्थाले उहाँको अभिनन्दन गरेका थिए । थुप्रै सम्मान, पदक, कदरपत्र र पुरस्कारपाएका जनकप्रसाद हुमागाईंको २०६३ माघ २८ गते ;ाँझ देहवसान भयो । अन्तिम समयमा भने आफु संयोगवस आफु बाहिर रहेकोले श्रदाञ्जलीमा उपस्थित हुन नपाउँदा वडो दुःख लाग्यो । भौतिक शरीर त्यागे पनि सँधै हामीबीच बाँचिरहेका जनकप्रसाद हुमागाईंको संझनामा ‘स्रष्टा एकःद्रष्टा अनेक’ पुस्तक युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले प्रकाशित गरेको छ । जनकको निधनले प्रगतिशील साहित्यिक फाँटमा ठूलो क्षति हुनाका साथै मेरालागी बिचार र साहित्यिक जगतको कखरा सिकाउने एउटा अभिभावकत्व हराएको छ । उहाँको नश्वर शरीर अहिले हामीबीच नभए पनि उहाँका कृति, बिचार र संघर्षशील जीवनका कार्यहरू भने मेरा मानसपटलमा सँधै सँधै सँझिनयोग्य छन् । त्यसैले वहाँको सदा सम्झना आइरहन्छ, सदा सम्झीरहन्छु ,सम्झीरहन्छु ।