हिजो विश्व क्यान्सर दिवस । हरेक वर्ष फेबु्रअरी ४ मा विश्व क्यान्सर दिवस मनाइन्छ । क्यान्सर नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संघ (युआइसिसी) को पहलमा सन् २००० देखि यो दिवस विश्वव्यापी रूपमै मनाउन थालिएको हो ।

यो वर्षको क्यान्सरको नारा ‘क्लोज द ग्याप’ राखिएको छ । यो नारा सन् २०२२ देखि २०२४ सम्म लागु हुनेछ । पछिल्लो समय नसर्ने तथा कडा खालका रोगको प्रकोप दिनप्रतिदिन बढ्दै गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वमा हरेक वर्ष हृदयाघातबाट १ करोड ७९ लाख, क्यान्सरबाट ९३ लाख, श्वासप्रश्वाससम्बन्धी रोगबाट ४१ लाख र मधुमेहबाट २५ लाख मानिसको मृत्यु हुने गर्छ । अमेरिकन क्यान्सर सोसाइटीको अध्ययनअनुसार सन् २०३० सम्ममा विश्वभरि २३ करोड ६० लाख व्यक्ति क्यान्सरबाट पीडित हुनेछन् । जुन संख्या प्रतितीन व्यक्तिमध्ये एकजना क्यान्सरको बिरामी हुन जान्छ । डब्लुएचओको यसै तथ्यांकलाई मध्यनजर गर्ने हो भने विश्वमा मृत्यु हुने पहिलो कारणमा मुटुसम्बन्धी रोग र दोस्रो कारणमा क्यान्सर रहेको छ ।
क्यान्सरका बिरामीको तथ्यांक राख्ने संस्था ग्लोबोक्यानको रिपोर्टअनुसार सन् २०१५ देखि २०२० सम्म नेपालमा ३६ हजार ९०६ जना बिरामी क्यान्सरका थिए। सन् २०२० मा मात्रै क्यान्सरका २० हजार ५०८ बिरामी थपिए भने १३ हजार ६२९ जनाको मृत्यु भयो । त्यस्तै नेपाल हेल्थ रिसर्च काउन्सिलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा नेपालमा क्यान्सरको अवस्था र त्यससम्बन्धी तथ्यांक संकलन गर्दै आएको छ । नेपालमा ७७ जिल्ला भए पनि काउन्सिलले सन् २०१८ यता नेपालका नौ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, पुर्वी रुकुम र पश्चिम रुकुममा क्यान्सरको अनुसन्धान गरी तथ्यांक संकलन गर्ने गरेको छ । काउन्सिलले सन् २०१९ मा नौ जिल्लामा अनुसन्धान गर्दा ३ हजार २९५ क्यान्सरका बिरामी रहेको तथ्यांक छ । नौ जिल्लामा लिइएको तथ्यांकअनुसार सबैभन्दा बढी क्यान्सरका बिरामी काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा छन् । यी तीन जिल्लामा २ हजार १९ क्यान्सर रोगी भेटिएका थिए भने ८४७ जनाको मृत्यु भएको थियो ।
यसरी विश्वव्यापी रूपमा कडा खालको रोगको प्रकोप बढ्दै गर्दा नेपाल सरकारले आर्थिक अभावका कारण कुनै पनि नागरिकले अकालमै ज्यान गुमाउनुनपरोस् भन्ने आशयले आठ प्रकारका कडा रोग क्यान्सर, मुटु, मिर्गाैला, पार्किन्सन्स, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियामा ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५’ बनाई विपन्न नागरिकलाई उपचारमा सहुलियत दिन थालेको छ ।
क्यान्सरका चार स्टेज छन् । पहिलो स्टेज भनेको अंगको क्यान्सर हो, जुन अंगमा क्यान्सर छ, त्यही अंगमा क्यान्सर सीमित छ भने त्यस्तो क्यान्सर निको हुने सम्भावना ८० प्रतिशत हुन्छ । त्यस्तै स्टेज २ मा भने अंगको क्यान्सर फैलने अवस्थामा पुग्छ । यस्तो अवस्थामा क्यान्सर निको हुने सम्भावना ५० प्रतिशत रहन्छ । त्यस्तै क्यासर स्टेज ३ मा छ भने क्यान्सर फैलिएर केही बढी भागमा पुगेसकेको हुन्छ । त्यस्तो अवस्थामा निको हुने सम्भावना २५ प्रतिशत रहन्छ। अन्तिममा क्यान्सरको ४ स्टेज त्यो अवस्थामा क्यान्सर एक अंगबाट अर्काे अंगमा सरिसक्ने हुँदा निको हुने सम्भावना रहँदैन ।
क्यान्सर निकै जटिल रोग हा े। रोग जटिल भए पनि समयमै जाँच गराएर रोग पत्ता लागेमा निको हुने सम्भावनमा रहने भएकाले समयमै परिक्षण हुन आवश्यक देखिन्छ । ५० प्रतिशत क्यान्सर अस्वस्थकर खानाको कारण लाग्ने गरेको चिकित्सकहरु बताउँछन् । ३५ प्रतिशत क्यान्सर चुरोटका कारणले हुने भएकाले पनि चुरोटबाट टाढै बस्नुपर्ने उनीहरुको सुझाव छ ।
खाना अपच भए, स्तन वा अन्य ठाउँमा नदुख्ने गिर्खा आए, निको नहुने खोकी लागे, निको नहुने घाउ भए, दिसा वा पिसाबको तालिका फेरिए क्यान्सरको लक्षण हो भनेर बुझ्नुपर्छ । जोकोहीको स्वास्थ्यमा यस्ता लक्षण देखिए स्वास्थ्य परिक्षण गरि हाल्नु पर्छ ।