आईतबार विश्व क्यान्सर दिवस । बिश्वमा अहिले क्यान्सर सँग लड्नेहरुको सँख्या बढिरहेको छ । नेपालमा मात्र हैन सँसारभरीनै सर्ने रोग भन्दा नसर्ने रोगबाट धेरै मान्छेको मृत्यु हुने गरेको छ । क्यानसरलाई नेपालीमा अबुर्द रोग पनि भनिन्छ ।
जब मलाई पहिलो पटक क्यान्सर भएको थाहा भयो त्यति बेला एकछिन यो सँसार टक्क रोकिए जस्तो लाग्यो । आाँखामा कुनै दृश्य देखिन श्वास रोकिए जस्तो भयो म केही बेर शून्य भएँ अब जिन्दगी नै सकिए जस्तो कता कता सबै कुरा सकिए जस्तो तर जब उपचारको क्रममा आफूलाई बुझाउदै सम्हाल्दै लगेँ क्यान्सरसँग लड्दै गरेका तमाम मानिसहरुको बाच्ने चाहना र निको हुने अभिलाषाहरु देखे अनि म भित्र पनि बाच्ने हिम्मत र बिश्वास बढेर आयो । क्यान्सर हुदैमा मान्छेको जीवन समाप्त हुने होइन रहेछ । माया, हौसला र आत्माबल दरो बनाए जस्तो सुकै रोगलाई पनि जित्न सकिन्छ भन्ने थाहा पाए पछि । मैले पनि क्यान्सर सँगको यो लडाईँ जित्नु पर्छ भन्ने बिश्वास बढ्यो ।
पेशाले कलाकारिता सँगसँगै म नाटक प्रशिक्षण दिने काम गर्थे र सडक नाटक प्रशिक्षणको शिलशिलामा वल्ड भिजन ईन्टरनेशनल, सि आर एस नेपाल, अक्सफार्म लगायतका एन जि ओ र आई एन जि ओ को परियोजनाहरुमा तालिम सन्चालन गरिरहेको बेला मेरो स्वास्थ्यमा केही समस्या सुरु भयो । सुरु सुरुमा डायरिया हुने रगत देखा पर्ने र बिस्तारै बारम्बार दिशा लाग्ने समस्या भएपछि डक्टरको सल्लाह अनुसार के एम सी अस्पताल सिनामँगलमा कोलोनोस्कोपी को जाँच गराएर रिपोर्ट आएपछि मलाई क्यान्सर भएको थाहा भयो । पेटको ठुलो आन्द्रा मा ट्युमरका कारणले क्यान्सर भएको थाहा पाएपछि साउन १२ गते भक्तपुर क्यान्सर अस्पताल भर्ना भए । र किमो चढाउन सुरु गरियो किमो दिँदा धेरै पीडा हुन्छ पीडा सहन नसकेर मान्छेको मृत्यु पनि हुन सक्छ भन्ने सुनेको थिए त्यसले गर्दा सुरुमा म निक्कै डराएको थिएँ म डराउँछु भनेर मेरी श्रीमतीले मलाई नभनी झुक्याएर किमो चढाउन लगाईछिन पछि थाहा भयो किमो त चढाई सकेको रहेछ तर मलाई केही भएन केही गारो अप्ठ्यारो भएन पहिला सुनेको कुरा सबै भ्रम रहेछ । पहिलो पटक किमो चढाउदा सात दिन अस्पताल बस्नु पर्याे । अस्पतालमा मलाई माया गर्ने कलाकार, आाफन्त साथीभाईहरुको घुईचो लाग्यो सबैको माया र शुभेच्छाले मेरो आत्माबिश्वास बढ्दै गयो । कलाकार सँघ, विभिन्न सँघ सँस्था, पत्रकार, साथीभाईलगायत सबैबाट माया र सहयोग पाएँ करिब १ महिनामा तीन साईकल किमो चढाएपछि रेडिएशन थेरापी गरियो जस्लाई सेक्ने पनि भनिन्छ । मेशिनको बिकिरणबाट सेकाई गरिन्छ डेढ महिनाको रेडिएशन सकिएपछि केही समय निकै कमजोर महसुस भयो र पटक्कै खान मन लागेन किमोको समय र रेडिएशन को समयमा खाना हेर्नै मन नलाग्ने रहेछ । त्यति बेला निकै कमजोर महसुस भयो तर मलाई यो लडाई जित्नु थियो मैले हिम्मत हारिन खान मन नलागे पनि जबर्जस्ती खान थालेँ कहिले काहीँ मनमा नराम्रा कुराहरु आउँथे तर मनलाई सम्झाउदै बुझाउदै मन दरो बनाउन थालेँ । सबैको माया र आशिर्वादले अझ हौसला बढ्दै गयो । र अप्रेशन गर्ने बेलामा चाहिँ डराउदिन भन्दा पनि डर लाग्दो रहेछ । अप्रेशन थियटरमा छिर्ने बेलामा थुप्रै साथीभाई, आफन्त र शुभचिन्तकहरुको भिड थियो नआत्तिनुस केही हुदैन हामी छौँ भने पछि म ढुक्क भएँ मुटु बलियो बनाएर अप्रेशन थिएटर भित्र लगियो । केही समयमा आई सि यु भित्र लगियो र म बाँचेछु भन्ने आभाष भयो ।
सोचे जीबनमा एक पटक त मर्नै पर्छ तर कहाँ कसरी मरिन्छ थाहा हुदैन होला । मृत्य अन्तिम सत्य हो भन्ने बुझेपछि मलाई मृत्युसँग त्यति डर छैन तर यत्ति थाहा छ मैले अझै केही गर्नु पर्छ मेरा अधुरा कामहरु बाकी छन अनि मैले देखेको सुनौलो सपनाले मलाई बोलाई रहेको छ । मलाई पर्खिरहेको छ यति सजिलै मृत्युले मेरो सपनालाई खोस्न सक्दैन भन्ने कुरामा म दृढ भए । बास्तबमा श्रीमान श्रीमती एक रथका दुई पाङ्रा भन्ने कुरा मलाई यति बेला थाहा भयो जतिबेला मेरो जीवन सँगिनिले हरेक भन्दा हरेक अप्ठ्यारो समयमा साथ दिइन र मेरो हौसला घट्न दिइनन् त्यो हिम्मत र साहस नै मेरो आत्मबिश्वासको आधार बन्यो ।
र मेरो उपचारका लागि चिन्ता लिने र अहोरात्र खट्ने मलाई असाध्यै माया गर्ने तपाईँहरु सधै मेरो मन मुटुमा रहनु भएको छ । मैले नाम लिइरहनु पर्दैन तपाईँहरुलाई थाहा छ । अहिले म क्यानसरको अप्रेशन पछिको पहिलो किमो दिएर बसेको छु र डक्टरहरुको अनुसार मेरो स्वास्थ्यमा राम्रो सुधार भैरहेको छ भक्तपुर क्यान्सर अस्पतालका डाक्टर रोशन प्रजापति किमो स्पेशलिस्ट हुनुन्छ वहाँले मलाई राम्रो केयर गरिरहनु भएको छ । र सर्जन बिशेषज्ञ डा. दिप लामिछानेले मेरो सफल अप्रेशन गर्नु भएको हो र डा श्वेता बरालले रेडिएशन थेरापी हेर्नू भएको हो । मेरो उपचारमा सँलग्न भक्तपुर क्यान्सर अस्पतालका सम्पुर्ण डक्टर, नर्स तथा कर्मचारीहरुलाई हृदयदेखी धन्यवाद दिन चाहान्छु ।
क्यान्सर हुदैमा जीवन समाप्त हुदैन । बेलैमा उपचार गरे सबैको माया हौसला पाए र नियमित औषधि सेवन गरे क्यान्सर निको हुन्छ । सबै भन्दा ठुलो उपचार मनोबलनै हो । अझ भनौ क्यान्सर रोगको आधा उपचार त उच्च मनोबल र आत्बिश्वास नै हो । क्यान्सर सँग नडराउँ । बेलैमा रोग पहिचान गरौँ क्यान्सर रोगको उपचार नेपालमै सम्भव छ । विश्व क्यान्सर दिवसको अवसरमा आउनुस हामी सबै हातेमालो गरौँ । बिश्वक्यान्सर दिवस बिविध सचेतना जगाई सफल पारौँ । –विश्व क्यान्सर दिवसको अवसर पारेर क्यान्सर पिडित गौतमले लेखेको अनुभव ।–नव क्षितिज साप्ताहिकबाट