सरकार संचालन गर्ने नेतृत्वले नै देशको अवस्थाका बारेमा सम्बेदनशिल हुन नसक्दा मूलुक अझै आर्थिक संकटमा फस्न सक्ने तथ्यहरु उजागर हुदै गैरहेका छन् । देशमा आर्थिक संकट पनि यति धेरै भैसक्यो कि सरकारका कर्मचारीले समेत तलव खान नपाउँने अवस्थामा पुगिसकेको छ । बिकास निर्माणको बजेट भारी मात्रामा कटौती भएको गरिएको छ । बजेट नभएकै कारण सम्पन्न भएका आयोजनाहरुको भूक्तानी रोकिएको छ । पैसा नभएकै कारण सरकारद्धारा सम्झौता नै गरिसकेका सयौं भन्दा बढि आयोजनाहरु काटिए भने कयौं काटिने क्रममा छन् । नेपालीले उपभोग गर्ने वस्तुको आयात दिनप्रतिदिन उच्च दरमा बढिरहेको छ । नेपालमा हरेक वस्तु आयात मात्र गर्दा मुलुकको मुद्रा ठूलो संख्यामा विदेश गैरहेको छ । सरकारसंग नेपाली वस्तु उत्पादनलाई प्रोत्साहन गरेर विदेश निर्यात गर्न सक्छौं भन्ने कुराको कत्ति पनि हिम्मत छैन । किनकी विदेशीको सामान बेच्न अनुमति दिंदा कमिशन आउँछ तर नेपाली सामान उत्पादन कर्ताले कमिशन दिन नसक्दा उस्को उद्योग नै दर्ता हुदैंन । सरकारमा रहेका भ्रष्ट नेता र कर्मचारीहरु मोटो कमिशनमा विकेका कारण विदेशी सामानलाई प्रोत्साहन गर्ने र नेपाली सामानलाई निरुत्साहित गर्ने गर्दछन् । भ्रष्टीकरणले नछोएको ठाउँ वा कुनै कार्यालय एवं कुनै अड्डा नै छैन । हरेक क्षेत्रमा यति धेरै भ्रष्टाचार हने गरेको छ कि भनेर साध्य नै छैन । सरकारी पैसामा सामान किन्नु प¥यो भने हरेक ठाँउमा हरेक व्यक्तिले भ्रष्टाचार नगरेको ठाँउ नै छैन । टोल, वडा, पालिका, प्रदेश हुंदै केन्द्र सम्म नै किन नहोस । हाम्रो समाज पनि यति धेरै भ्रष्टिकरण भैसक्यो कि उच्च पदमा पुगेका ब्यक्तिले समाजका अगाडी अलि रवाफ देखाएर धनको धाक देखाउन सकेन भने त्यत्रो पदमा पुगेर पनि केही गर्न सकेन भनेर कुरा काट्ने गरिन्छ । हाम्रो समाज पनि ‘सादा जिवन उच्च विचार’ राखेर जीवन निर्वाह गर्नेलाई भन्दा तडक भडक गर्नेलाई प्राथमिकतामा राख्छ र भ्रष्ट आचरण बोकेकाहरुलाई सम्मान गर्दछ । अनि कुरा चै सादा जिवन र उच्च बिचारको सबैले गर्छन् ।
देशको आर्थिक अवस्था अत्यन्त कम्जोर हुंदा देश भित्रका धेरै भन्दा धेरै उद्योग ब्यबसाय बन्द हुन पुगेका छन् । साना प्रकारका ब्यापार व्यवसाय त झन् ठप्प भएको अवस्था छ । निरन्तर चलिरहनु पर्ने व्यवसाय तथा उद्योगहरु नचले पछि त्यसमा गरिएको लगानी त डुब्छ नै त्यसैमा आश्रित भएर रोजगारी गरिरहेका मजदुरको गाँस खोसिएको छ । देशको वित्तिय प्रणालीमा सुधार हुन नसक्दा धेरै भन्दा धेरैको दैनिकीमा समेत गंभिर असर परिरहेको छ । आम्दानी दिनप्रतिदिन घट्दो क्रममा छ भने महंगी झन् झन् बढ्दो क्रममा छ । नियमित खर्च धानेर व्यवहार चलाउँन समेत धौ धौ भएको अवस्थामा ऋण तिर्ने कुरा संभव नै हुन छोडी सक्यो । सामाजिक, राजनैतिक तथा उच्च तहकैको व्यक्तिहरुलाई समेत यो आर्थिक संकटले तनाव दिएको छ । धेरैले आफ्नो ईज्जतको ख्याल राखेर मुखले नबोले पनि उनिहरुको व्यवहारले त्यस्तो देखिई सकिएको छ । प्रतिष्ठित व्यक्तिहरुलाई आफ्नै प्रतिष्ठा जोगाउँन धौ धौ छ । सर्वब्यापी रुपमा आएको यो आर्थिक संकटले शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रका बाहेक अन्यलाई चौपटको अवस्थामा पु¥याएको छ । चौपट भएको अहिलेको ब्यवसाय पुरानै लयमा फर्किन लामो समय लाग्नेमा कुनै शंकै छैन ।
अबका दिनमा नेपालको पैसा देशमै राख्ने र विदेशी पैसा नेपाल ल्याउँन सक्ने वातावरण तत्काल बनाउँन सकिएन भने देशमा आर्थिक संकट झन् गहिरिंदै जाने छ । स्वदेशमा उत्पादन केही पनि छैन । बिहानदेखि बेलुकासम्म हामीले बाहिरदेखि भित्री भान्सामा प्रयोग गर्ने हरेक सामान विदेशीको उत्पादनमा भर पर्नु परेको छ । त्यसकारण हाम्रो पैसा विदेश जानु स्वभाविकै हो । हामी आफै उत्पादन गरेर व्यवहार चलाउँनु सट्टा हरेक वस्तु किन्नमा सौख राख्दछौं । यसो गर्दा नेपाली पैसा हरेक वस्तु लिए बापत विदेश गैरहेको छ । समान्यतया हाम्रो देशमा सामान आयात गरेर पैसा विदेश पठाउँने तथा विदेश अध्ययन र भ्रमणको नाममा, ठूला व्यापारीले नेपालमा कमाएको पैसाले विदेशमै बैंक किन्ने र उतै उद्योग खोल्ने, नेता, कर्मचारी तथा ठूला प्रकारका व्यापारीले भ्रष्टाचार वा कर छली गरेर कमाएको पैसा विदेशी बैंक (स्विस) मा राख्ने गरेका कारण पनि देशमा पूँजी अभाव भएको हो । यि र यस्तै कारणले आर्थिक संकट आएको हो भन्ने कुरामा धेरै भन्दा धेरैलाई थाहा छ तर बोल्न कोही पनि सक्दैनन् । महंगी अचाक्ली बढेको छ, कोही बोल्न चाहदैनन् । बेथिति, ढिला–सुस्ती र भ्रष्टाचार असाध्यै बढेको छ, बोल्न कोही चाहदैनन् । जन पक्षिय र सुसाशनका कुरा गर्ने कोही छैन । यि सबै अराजकता बढ्नुमा मूल कारण भनेको मुलुकमा दिगो र बलियो राजनैतिक शक्ति नहुनु हो । ‘भ्यागुताको धार्नी’ भने जस्तै गरी बनेको सरकारले देश र जनताको पक्षमा भन्दा पनि आफ्नो सरकार र आफुले खाइपाई आएको पद कसरी जोगाउंने भत्रे कुरामा मात्र ध्यान केन्द्रित छ । यसरी आफैंले आफैंलाई मात्र केन्द्रविन्दुमा राखेर काम गर्ने सरकारले जनजिविकाको सवालमा कसरी र के नै पो गर्न सक्छ र ? त्यसैले त राज्य संचालकलाई देश र जनताको पक्षमा लाग्न र सुसशन तथा अमन चयन कायम गर्न अब हामी सबैले तत्काल खबरदारी गर्नु जरुरी छ ।
हाम्रो देश नेपाल र अहिलेका विश्वका शक्ति सम्पत्र मुलुकहरु हिजो बराबरीको अवस्थामा थिए । अमेरिका, जापान, अष्ट्रेलिया, बेलायत लगाएतका अन्य धेरै देश र नेपालको अवस्था आज भन्दा झण्डै पचास वर्ष अगाडी सम्म उस्तै उस्तै थियो । ति देशले असल नेता पाए । चाँडै देश बनाए । हामीले खराब र भ्रष्ट नेता पायौं देश विगारे तर उनिहरु बने । फरक यहि रह्यो । एक असल नेता देशले पाउँदा देश बन्न धेरै वर्ष नै लाग्दैन भत्रे कुरा त विकसित मुलुकका नेता र तिनको जिवनी हेरे र पढे पुग्छ । हाम्रा नेताले आफुले त केही गरेनन् गरेनन्, तर गर्छु भनेर बल्ल बल्ल सत्तामा पुगेकालाई पनि कामै गर्न नदिएर अनेक बहाना बनाएर च्युत गरिदिए । त्यसैको परिणाम पनि हुन सक्छ गएको निर्वाचनबाट विस्तारै नयाँ शक्तिको उदय हुदैंछ । अरु कुरा जे सुकै होस, देशले असल नेता पावस । छिट्टै सम्बृद्ध नेपाल र सुखी नेपालीको नाराले सार्थकता पाओस, ढिलै भए पनि छठ २०८० को शुभकामना ।