बनेपा, पछिल्लो केही दिनयता देशका बिभिन्न क्षेत्रमा र काभ्रेमा डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । काभ्रेमा पनि पछिल्लो समय ४ जनामा डेंगी संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
पाँचखाल र रोशीमा एक जना, नमोबुद्धमा दुई जना पुरुष गरेर चार जनामा डेंगी संव्रmमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेकी प्रमुख डा.अनिता खनालले जानकारी दिइन् । पछिल्लो दुई दिनअघि मात्रै पनि काभ्रेमा नौ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय काभ्रेको पछिल्लो तथ्यांकअनुसार काभ्रेमा यस वर्षको साउन देखि हालसम्म काभ्रेमा ८५ जना महिला र ८२ जना पुरुष गरी १६७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म बनेपा नगरपालिकामा ६५ जना, नमोबुद्ध नगरपालिकामा २२ जना, धुलिखेल नगरपालिकामा २१ जना, पनौती नगरपालिकामा २० जना, मण्डनदेउपुर नगरपालिकामा १८ जना, पाँचखाल नगरपालिकामा ७ जना, रोशी गाउँपालिकामा ८, तेमाल गाउँपालिकामा २ जना तथा चौरीदेउराली, महाभारत, खानीखोला र भुम्लु गाउँपालिकामा १÷१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
जिल्लाका विभिन्न अस्पताल र ल्याबमा डेंगु परिक्षण गराउने संख्या अझै बढी रहेकाले डेंगु संक्रमितको संख्या अझै बढ्ने र संक्रमण जोखिम रहिरहेकाले बच्ने उपायमा ध्यान दिनु आवश्यक छ । एडिस एजेप्टाइ र ए.ई. अल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाटसर्ने डेंगी रोग सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि विकास हुन्छ । डेंगीको भाइरस फैलाउने लामखुट्टेका लागि भने २२ देखि ३४ डिग्रीसम्मको तापक्रम निकै अनुकूल मानिन्छ । यो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । डेंगी एक भाइरस हो । सामान्यतया अरु संक्रमण जस्तै डेंगी हुदाँ ज्वरो आउने, आँखा अगाडिको भाग दुख्ने, शरीर गल्ने, टाउको दुख्ने हुन्छ । यस्तो समस्या आफै निको भएर जान्छ ।
कसैलाई ब्लिडिङ सिस्टममा समस्या देखियो, प्लेटलेट्स कम भयो भने रातो डावर देखिने, फोका जस्तो देखिने, रगतको डावर देखिने हुन्छ । यस्ता लक्षण देखिनासाथ अस्पताल गएर जाँच गर्नुपर्छ । अनि मात्रै बिरामीको समयमा नै उपचार हुन्छ । डेंगी भाइरस बाट लाग्ने रोग हो । डेंगी भएको व्यक्तिलाई लामखुटटेले टोकेर अर्को निरोगी व्यक्तिलाई टोक्यो भने डेंगी सर्ने गर्छ । यो लामखुटटेबाट नै सर्ने गर्छ ।
सामान्यतः डेङ्गु भाइरसको सङ्क्रमण भएका करिब ८० प्रतिशत मानिसमा रोगको कुनै लक्षण देखिँदैनन वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षण मात्र देखिन्छ । सङ्क्रमित मध्ये ५ प्रतिशत मानिसमा गम्भीर प्रकारको डेङ्गु लाग्ने गर्छ भने तीमध्ये पनि निकै कम मानिस यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्छन । यो रोग छिप्पिन ३ देखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीमा यो रोगले ४ देखि ७ दिनमा नै पूर्णता पाउँछ । त्यसैले डेङ्गुको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षण देखा पर्ने सम्भावना हुँदैन ।
यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु तथा लामखुट्टेको वृद्धि रोक्नुपर्छ । पानी जम्न सक्ने भाडाहरू जस्तै गमला फुलदान खाली बट्टा अलकत्र वा मट्टीतेल खाली ड्रमहरू गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न नदिने । पानीका ट्याङ्की लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने । कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टीतेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने । फुलदानीमा भएको पानी हप्तामा दुई पटक फेर्ने । लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउन पर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरकै झ्याल ढोकामा जाली लगाउन उपयुक्त हुन्छ । घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नुपर्छ । स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरिन्छ । यो ज्वरोविरुद्धको खोप र खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो, यसमा ध्यान दिऔं ।