नेपालमा गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगको कारण ५० हजार पशु मरिसकेका, ११ लाख अहिले पनि संक्रमित रहेका, यो रोगका कारण अहिलेसम्म २ अर्बभन्दा बढी नोक्सानी भएको छ भने हाल रोग लागेर निको भएका पशुको संख्या ८ लाख पुगेको छ ।
हालसम्म यो रोगका कारण यति ठूलो क्षति भइसको छ । देशका ७७ जिल्लामा फैलिसकेको यो रोगको नियन्त्रण तथा रोकथामका लागि तत्काल कदम चाल्न नेपाल पशु चिकित्सा परिषद्ले सम्बन्धित निकायहरूलाई सुझाव दिएता पनि कार्यन्वयन भने भएको छैन । समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेको अवस्थामा अझ धेरै पशुमा सङ्क्रमण फैलिने र ठूलो मात्रामा आर्थिक क्षति हुने देखिन्छ । अब अहिले विभिन्न कारणले दुध बढी भएको देखिए पनि यो रोग नियन्त्रण भएपछि पुनः दूध नपुग्ने प्रष्ट छ । ठूलो मात्रामा पशु परेका र रोग लागेर बाँचेका पनि कमजोर हुने हुँदा अर्को बेतमा नब्याउने र ब्याए पनि पहिला जति दूध नआउने कारण अर्को साल ठूलो संकट देखिनेछ । त्यसैले सम्बन्धित निकायले बेलैमा सोचेर सरोकारवालाहरुलाई राखी छलफल गर्न आवश्यक छ ।
लम्पी स्किन रोग मान्छेमा सर्छ कि सर्दैन भन्ने कुरा व्यापक बाहिर आए पनि विज्ञहरुको सर्दैन भन्ने आवाज आम जनताको घर घर पु¥याउन नसक्दा आज दुधको उपभोग घट्दै गएको छ। लम्पी स्किनका कारण दूध उपभोगमा कुनै पनि फरक नपर्ने कुरा विभिन्न निकायको अध्ययन एवं विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूका प्रकाशित लेखहरूबाट पनि पुष्टि भएको छ ।
हाम्रो देश नेपालमा सन् १९४० को दशकमा गाईवस्तुमा फैलिएको ’रिन्डरपेस्ट’ अर्थात् गगौटी रोगको महामारीले ठूलो क्षति निम्त्याएको थियोे । खुर हुने चौपायामा लाग्ने उक्त भाइरल रोग अहिले उन्मूलन भइसकेको छ । यसपटक एकदमै नराम्रो गरि देशैभर लम्की स्किन रोगले सताएको छ । कतिपय विज्ञका अनुसार सुरुमै प्रभावकारी कदम चालिएको भए अहिले यो अवस्था नआउन पनि सक्थ्यो भन्ने तर्क छ । यो रोग रोकथामका लागि सुरुतिरै सङ्क्रमित गाईभैँसीको हिँडडुल रोक्न सकेको भए अहिले महामारी नहुन पनि सक्थ्यो ।
हाम्रो सरकारी संयन्त्र कहिल्यै पनि नसुध्निे नै भयो । प्रत्येक प्रदेश अथवा सङ्घको मन्त्रालयको तर्फबाट तिब्र गतिमा भ्याक्सिन लगाउन सकेको भए अहिलेको अवस्था आउने नै थिएन । अझ पनि रोग थप फैलिन नदिन भौगोलिक रूपमा महत्त्वपूर्ण मानिएका स्थान तथा हालसम्म पशु क्वारन्टीन चेकपोस्ट नभएका प्रदेशमा स्थापना गर्ने र लम्पी स्किन रोगको चेक जाँच कडा गर्न सक्दा थप केही राहत पुग्न सक्छ । पशुचिकित्सा परिषद्का अनुसार लम्पी स्किन महामारीबाट अहिलेसम्म ठूलो धनराशि बराबरको क्षति भइसकेको अनुमान छ। यति ठूलो क्षति हुँदा पनि सरकारको तर्फबाट कुनै प्रकारको सहयोग नपाएको किसानहरूले गुनासो गर्दै आएका छन्। तर कतै कतै स्थानीय सरकारले भने महामारी घोषणा गरेर क्षतिपूर्ति दिने घोषणा गरिसकेको छ । अब यो देशैभर लागु गरिनुपर्छ । अहिले पशु बिमा गराएका किसानहरूले त्यहीँबाट रकम पाउन अत्यन्तै कठिन भएको छ भने रोग नलागेका पशुको पनि बिमा गर्न रोकिएको छ । पशु बिमा गराएका किसानहरूको हकमा बिमा कम्पनीहरूले सहजै रुपमा रकम दिनुपर्ने हुन्छ । तर त्यसो हुन भने सकेको छैन ।
यो लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको तथ्य छ । केही समयसम्म त्यो अफ्रिकाको सब–सहारा क्षेत्रमा सीमित रह्यो भने बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो। राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्ग्लादेश, चीन र भारतमा लम्पी स्किन देखा परेको थियो । पशुसेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा विसं २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । यो लम्पी स्किन रोग गाईभैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो ।
लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ। सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ ।
यो रोग सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ पशुको मृत्यु पनि हुन सक्छ । खासगरी ज्वरो नियन्त्रण गर्न सकिएन भने त्यस्तो अवस्थामा सङ्क्रमित गाईबस्तु मर्ने गर्छन् । यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् ।
त्यस्तै सङ्क्रमित गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ। मान्छेमा भने यो रोग सर्दैन । विज्ञहरूका अनुसार लम्पी स्किन ‘जूनोटिक डिजीज’ अर्थात् पशुबाट मान्छेमा सर्ने रोग होइन भन्ने पुष्टि भइसकेको छ । एफएओले सन् २०१७ मा आफ्नो एउटा प्रतिवेदनमा लम्पी स्किन रोगले मानिसलाई असर गर्दैन भन्ने पुष्टि गरेको थियो। यो रोग मान्छेमा सर्छ भन्ने कुरा कुनै पनि वैज्ञानिक अध्ययनले प्रमाणित गरेको छैन ।
यो रोग लाग्दा खासै यस्तै उपचार हुन्छ भन्ने नै छैन । त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन् । यो रोग लाग्न नदिनको लागि भ्याक्सिनेशन नै प्रमुख हो। तर सङ्क्रमण भएको बेला भने खोप लगाउन हुँदैन । भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग निको हुन्छ । एक पटक यो रोग लागेपछि एन्टिबडी बनेका कारण दोहो¥याएर गाईभैँसीलाई फेरि लाग्दैन भन्ने छ ।