हाम्रो घर, परिवार, समाज, संघसंस्था वा राज्य कसै न कसैको अगुवाईमा तथा नेतृत्वमा चल्दै आईरहेको छ । भैरहेको वा हुने हरेक काम, विषय वा व्यवस्थालाई व्यवस्थित ढंगबाट संचालन गर्न चाँजोपाँजो मिलाउने वा बन्दोबस्ती गर्ने खास व्यक्ति वा पात्रलाई अगुवा वा नेता भनिन्छ । हामी न्याय र अन्याय छुट्याउन सक्ने, हतारमा सहि निर्णय लिन सक्ने, अल्पकाल वा दिर्घकालसम्म सोचेर निर्णय लिन सक्ने, सुखमा न मात्तिने र दुःखमा न आत्तिने, कानूनबारे आधारभूत ज्ञान जानेको, आफ्नो र पराई भनेर विभेद नगर्ने जस्ता गुण भएका व्यक्तिलाई नेता भन्छौं र मान्छौं पनि । आफैंले रकम तिरेर भए पनि हाम्रा दैनिक जिवनसंग जोडिएका आधारभूत आवश्यकतालाई सहज र सरलढंगबाट प्राप्त गर्न पनि देशमा असल नेतृत्वको सरकार हुनै पर्दछ । जनतालाई सरकारको भरोसा र सरकारलाई जनताको विश्वास रह्यो भने मात्र विश्वासको वातावरण बन्दछ । नेता असल हुँदा मात्र सरकार तथा राज्य संयन्त्र राम्रोसंग चल्छ र असल शासनको अभ्यास हुन्छ । त्यसैले नेता जो पनि बन्न सक्छ तर नेतृत्व जो कोहीले हत्तपत्त गर्न सक्दैनन् । नेता हुन जती सजिलो छ नेतृत्व गर्न चै त्यतिकै गाह्रो छ । यो किन गाह्रो छ भने आफु बसेको समाजलाई सहि ढंगबाट डो¥याउँन र समाजको विकासलाई गति दिन हरेक प्रकारको जोखिम मोल्दै कदम चाल्नु पर्ने हुन्छ । जनताको हितका लागि चालिने कदम तत्कालका लागि अप्रिय लागे पनि त्यस पछिको त्यसको प्रभाव भने युगौं युगसम्म लोकप्रिय हुन सक्छ । निरन्तर देश र जनतालाई आदर्श मानेर काम गर्ने व्यक्ति सच्चा र लोकप्रिय नेता बन्न सक्दछ । साँच्चैको नेता बन्नका लागि जो कोही व्यक्तिहरुसंग यि आधारभूत क्षमता हुनु नितान्त आवश्यक छ ।
१. जनलोकप्रिय
२. जनताको निगाह हुन सक्ने
३. जनताद्वारा प्रसंसित
४. जनताद्वारा घोषित
५. जनताद्वारा निर्वाचित र
६. जनताद्वारा आदर तथा सम्मान प्राप्त व्यक्ति ।
नेतृत्व वा नेता खास आवश्यकता वा समयमा पनि जन्मिन सक्छ । कोही व्यक्ति नेता नै बन्छ की भनेर अपेक्षा गरेकाहरु नेता बन्न सक्दैनन्, तर कोही चै अपेक्षा वा आशा नै नगरिएको व्यक्ति पनि नेता भैदिन्छ । यस्तो त विरलै मात्र हुने गर्दछ । कोही कुनै एक कामका लागि छिट्टै नेता बन्छ र काम सकिएपछि हराउँछन् पनि । ति र त्यस प्रकारका मौसमी नेताको न त भविष्य हुन्छ नत भर पर्न सकिन्छ । जे होस आफुलाई निरन्तर नेतृत्वमा राख्नका लागि जो कोही व्यक्तिसंग माथि उल्लेखित क्षमताका साथै तल उल्लेखित गुणहरु हुनु पनि नितान्त आवश्यक छ ।
१. सेवाभाव एवं निस्वार्थी भावना ।
२. सदस्यहरुको भावना बुझेर सहानुभूति राख्ने ।
३. चरित्रवान ।
४. धैर्यवान ।
५. ज्ञानवान (ज्ञानी) ।
६. लक्ष्य प्रप्तिप्रति स्पष्ट ।
७. सदस्यहरुलाई अभिपे्ररित गर्न सक्ने ।
८. वाक कलामा निपूर्ण ।
९. विचार एवं अभिव्यक्तिमा स्पष्ट ।
१०. आशावादी एवं विकासपरक दृष्टिकोण राख्न सक्ने ।
११. नयां ज्ञान शीघ्र ग्रहण गर्न सक्ने ।
१२. मन, बचन र कर्मले प्रजातान्त्रिक एवं मानवीय मूल्य र मान्यतालाई बढावा दिन सक्ने ।
नेता बन्दैमा सर्वज्ञ हुन सकिदैन । तर सामान्य नागरिक भन्दा जानेको चै हुनै पर्छ । नेतृत्व लिने क्षेत्रहरु धेरै हुन सक्छन । सबै विषयको ज्ञाता संसारमा कोही पनि छैनन् र हुन पनि सक्दैनन् । नेता हुँदैमा सबै विषयको जानकार नहुन पनि सक्छ । सबै विषयमा जानकार हुनु धेरै राम्रो हो, तर नेता हुँदैमा सबै विषयमा जान्नै पर्ने अनिवार्यता पनि छैन । आफुलाई ज्ञान नभएको कुरा भने विज्ञसंग सल्लाह लिई कार्यान्वयन गर्न सक्नु पर्छ । हरेक तहमा पुगेका नेताले आफुले नेतृत्व गरेका संघ संस्था वा अन्य प्रकारको नेतृत्व दिनु पर्ने निकायहरुमा देहाएका कामहरु पनि कुशलता पूर्वक सम्पादन गर्न सक्नु पर्दछ । पाएको जिम्मेवारीलाई संस्थागत उद्देश्य प्राप्त गर्न सक्ने गरी लक्ष्य बनाएर अगाडी बढ्न सक्नु असल नेतृत्वको परिचय संगै कर्तब्य पनि हो । सामाजिक संघ संस्थाहरुमा विभिन्न प्रकारको जिम्मेवारी (सञ्चालक,
व्यवस्थापक, समिति, उपसमिति वा अन्य पदहरु) मा रहँदा सोही अनुसारको
जिम्मेवारी देहाए अनुसार पुरा गर्न सकियो भने आफुलाई अब्बल साबित गर्न सकिन्छ ।
१. नीति तथा नियमहरु निर्माण गरी कार्यान्वयन गर्ने र गराउँने ।
२. योजना बनाउँने लागु गर्ने र गराउँने ।
३. पथ प्रदर्शक भै नेतृत्व गर्ने ।
४. विषयविज्ञसंग समन्वय गर्ने ।
५. कामको आधारमा पुरस्कार तथा दण्ड सजायको व्यवस्था गर्न सक्ने ।
आदर्शवान व्यक्ति नेता हुन सक्यो भने हरेक कामको अगुवाई गर्न सक्षम हुन्छ । जसले कुशलता पूर्वक हरेक विषयमा नेतृत्व गर्न सक्छ उ नै नेता हो । हाम्रो देशमा नेता बन्नको लागि कुनै याग्यता तोकिएको छैन । नेता हुने कुनै मापदण्ड र आधार पनि केही छैन । नेता बन्न जात, भाषा, धर्म, वर्ण, धन केहीको पनि सिमा तोकिएको छैन । सबैले नेता बन्न पाउँछन् । त्यसैले त हाम्रा स्थानीयस्तरमा खुलेका सहकारी संघ संस्थाहरु मार्फत नेता जन्माउने र स्थापित गराउँने काम गर्नु राम्रो हुन्छ । जहाँ नेतृत्व विकासका तालिमहरु निरन्तर रुपमा चलाएर नेतृत्व गर्न सक्नेलाई क्षमता विकास गराउँदै संस्थामा राख्न सकियो भने असल नेतृत्वको निर्माण हुन्छ । त्यस्तो नेतृतव संस्थाले पाउँदा कठिन परिस्थितिमा पनि संस्थाला अगाडि बढाउँन सहयोग पुग्दछ ।